कानुन व्यवसायीहरू असल आचरणका हुनुपर्छ : कामु प्रधानन्यायाधीश
दोलखा : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायीहरू असल आचरणका हुनुपर्ने बताएका छन्।
उनले निष्पक्ष न्यायका लागि कानुन व्यवसायीहरूको आचरण महत्वपूर्ण हुने बताएका हुन्। उनले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने समेत बताए।
नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन्। भवन उद्घाटन गर्दै मुलुकमा लोकतन्त्र ल्याउन पत्रकार र कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै कानुनी राज्य र पीडितलाई निष्पक्ष न्याय दिलाउने कुरामा समेत पत्रकार र कानुन व्यवसायीहरूले भूमिका खेल्नुपर्ने बताए ।
उनले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिए।
६५ लाख लागतमा निर्माण सम्पन्न भएको दुईतले भवन निर्माणका लागि बागमती प्रदेश सरकारको ३० लाख, दोलखाको तामाकोसी, बैतेश्वर, कालिञ्चोक र मेलुङ गाँउपालिका तथा विभिन्न संघ संस्था र व्यक्तिले सहयोग गरेका दोलखा बारका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए।