जनप्रतिनिधिहरूले नै गरे गाउँपालिका कार्यालयमा तालाबन्दी
वीरगन्ज : पर्साको धोबिनी गाउँपालिकाको कार्यालयमा गाउँपालिकाका उपाध्यक्षसहितका जनप्रतिनिधिहरूले नै तालाबन्दी गरेका छन्।
गाउँपालिका अध्यक्ष मदन चौहान र प्रमुख प्रशासकीय अधिकृत नवाज हुसेनको कार्यशैलीको विरोध जनाउँदै उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले शुक्रबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्।
पालिका अध्यक्ष चौहान र प्रमुख प्रशासकीय अधिकृत हुसेनले व्यापक भ्रष्टाचार गरेको र एक महिनादेखि गाउँपालिका नआएर वीरगन्जमा कार्यालय सञ्चालन गरेर बसेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्।
गाउँपालिका अध्यक्ष चौहानले राजनीतिक पूर्वाग्रह राखेर एकलौटी ढंगले गाउँपालिकामा करारमा कार्यरत १५ जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कर्मचारीहरूलाई हटाएर एक महिनादेखि कार्यालयमै नआएको तालाबन्दी गर्ने जनप्रतिनिधिहरूको आरोप छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुसेन पनि एक महिनादेखि कार्यालय नआएको र वीरगन्जमा बसेर कार्यालयको काम गरिरहेकाले गाउँपालिकामा आउने सेवाग्राहीहरू मर्कामा परेको उनीहरूले आरोप लगाएका छन्।
गाउँपालिका अध्यक्ष चौहान, प्रमुख प्रशासकीय अधिकृत हुसेन र लेखापाल धन्नजय दासले वीरगन्जमा बसेर छुट्टै कार्यालय सञ्चालन गरी व्यापक भ्रष्टाचार गरिरहेका कारण बाध्य भएर आफूहरूले गाउँपालिकामा तालाबन्दी गर्नुपरेको वडा नम्बर ४ का वडाध्यक्ष अबास मियाँले बताए।
गाउँपालिका उपाध्यक्ष मञ्जुदेवी पटेलको नेतृत्वमा १० जना कार्यपालिका सदस्यले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको उनले बताए।
यदि गाउँपालिका अध्यक्ष चौहान प्रमुख प्रशासकीय अधिकृत हुसेन र लेखापाल दासले गाउँपालिका नआए अझ सशक्त अन्दोलनमा उत्रिने कार्यपालिका सदस्य दिनेश कलवारले बताए।
गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न उपाध्यक्ष मञ्जुदेवी पटेल, वडा नंबर १ का वडाध्यक्ष बन्धु साह, ३ का वडाध्यक्ष किशोर पटेल, ४ का वडाध्यक्ष अबास मियाँ, कार्यपालिका सदस्य दिनेश कलवार, नन्दकिशोर प्रसाद, रिनादेवी, शोभावती देवी प्रमजोती कुमारी, सारदादेवी, मदन सहनी लगायत पुगेका थिए।