भारत लैजान लागिएको चौपाया प्रहरी नियन्त्रणमा
महोत्तरी : महोत्तरीको सोनमाबाट प्रहरीले ३५ थान पशु चौपाया नियन्त्रणमा लिएको छ।
शुक्रबार नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सोनमा गाउँपालिका-३ दशगजाक्षेत्रबाट सो पशु चौपायाहरू नियन्त्रणमा लिएको हो।
प्रहरीले ३१ वटा गाई, तीनवटा बाच्छी र एउटा गोरु गरी जम्मा ३५ वटा चौपाया नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीलाई देख्नासाथ तस्करहरू फरार रहेको र चौपायालाई जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए।