लोमान्थाङमा हिँडेर नथाक्ने पाइला। पुगेर नसकिने गन्तव्य। हेरेर नअघाइने दृश्य। तथापि भेटेर भेट्न नपाइने प्राकृतिक छटा। माटोका अक्करे भीरमा अनौठा आकृति र गुफा, गुम्बजहरू।
चिसो–चिसो तापक्रममा पनि न्यानो अनुभूतिसहित सप्रेम उपस्थित थियो लोमान्थाङको बिहान। सफा धर्ती र आकाशमा कलकलाउँदो घामको कलिलो बिहानीसँगै मैले आफूलाई हर्षित रूपमा पाएँ। लोमान्थाङको बिहान मैले अर्कै संसारमा पुगेको जस्तो महसुस गरेँ। नयाँ ठाउँ, नौलो, नवीन सबै अपरिचित भएर पनि परिचित जस्तै, सबै प्रिय र पवित्र। यात्राको एक अनुष्ठान–अनुराग थियो यो। पाइला–पदचाप पछ्याएको प्राप्ति साक्षात् दिव्य–दर्शन लोमान्थाङको।
लोमान्थाङको बिहान सुन्दरताको बिहान थियो। लोमान्थाङको बिहान सुगन्धले सिँगारिएको बिहान थियो। हिमाली सुगन्धको मन्द–मन्द मिठासले ओछ्यानसम्मै स्पर्श गर्न आउने शक्ति थियो। त्यही स्पर्श–सुखले लोभ्याएर बाहिर निस्किँदाको दृश्य साह्रै मनमोहक लाग्यो। हिउँदको जस्तो जाडो थियो शरदको याममा पनि। हिउँदमा त सर्वत्र हिउँ परेर बस्नै नसकिँदैन रे।
रातभरिको चिसो स्याँठले सताउनुसम्म सताएर कक्र्याएर पनि मिर्मिरेको मुस्कान र मुहार कति सुकोमल। अघिल्लो दिनको हावाहुण्डरीले हायलकायल पार्दै प्रताडित बनाए पनि भोलिपल्टको बिहान आगन्तुकलाई स्वागत गर्न सखारैदेखि तम्तयार। कोमल काया–कलेवरमा प्रस्तुत एक प्रकारले अतिथि सत्कारको स्वागतमा मैले तिमीलाई पाएर मेरो यात्रा सुखद ठानेँ। मैले लोमान्थाङ तिमीलाई शतत् प्रणाम गरें।
बिहानको त्यही पवित्र संघार–साइतमा लोमान्थाङका वृद्ध आमाहरू एक हातमा हिमाली धूपको मुठा र अर्को हातमा माला जप्दै हिँडिरहेका भेटिन्थे। तिनले बालेका धूपको सुगन्ध फैलिरहेको। मानेहरू घुमाएको र ‘ॐ माने पेमेँ हुँ’ को ध्वनि–तरङ गुञ्जिरहेको। आहा ! लोमान्थाङको बिहान साँच्चै मग्मगाउँदो। साँच्चै सांगीतिक, सांस्कृतिक, आध्यात्मिक अनि आनन्दित पनि थियो। परम्परागत संस्कृति र संस्कारको एक अविच्छिन्न अध्याय। दरबार, मन्दिर, गुम्बा परिक्रमाको निरन्तर सिलसिला।
कलिलो बिहान, मृदु मुस्कानका दृश्यहरूले पराइपनको आभास भगाउने। तातो–तातो बाफका सुकिला किरणहरूले चुम्न आउने। निकट मित्रताको अँगालोले ग्वाम्लांगै बेर्ने। बिहानको लोमान्थाङ जाराकजुरुक्क जाँगरका पाइला लिएर उठ्ने। आफूभन्दा पहिले भेंडाच्याङ्गा र चौंरीको खानपानमा खैखबरी गर्न हत्तारिने। बालीनालीको हेरचाह, बारबेर र काठदाउराको जतन जगेडामा उनीहरूको ध्याउन्न उस्तै। अनि बल्ल चौंरीको घिउ घोलेको ‘भोटेचिया’ को मीठो घुट्की खाएर आरामको आनन्द लिने।
सिंगो लोमान्थाङ कति पनि विचलित थिएन। लोमान्थाङ कति पनि निराशा र निन्याउरो भेटिएन। बरु उत्तिकै चमक, उस्तै शान्त र सौम्य स्वरूपमा भेटियो। बरू आफ्नो सौन्दर्य हेर्न कोही नआउँलान् कि भन्ने चिन्ता छ। हुन पनि त्यो अनकन्टारमा प्राकृतिक सुन्दरताको फैलावट आँखाले भ्याउनै नसक्ने। जता हेरे पनि नौलो, जति हेरे पनि धित् नमर्ने बिछट्टकै छटा। लमतन्न फैलिएको जता हेरे पनि, जहाँ हेरे पनि साना हिमाल र माटाका पहाड, ढिस्का र विशाल पठार।
आफ्नो सुन्दरताका बिस्कुन फिँजाएर आगन्तुकका आँखाभरि। रहस्यमय स्वरूप–संरचनालाई झ्यालढोका र पर्दासमेत खोलेर देखाउँदै। आगन्तुकले हेर्नु अनगिन्ती गुफा, गुम्बा र प्रकृतिका नौला अवस्थितिहरू। शताब्दी प्राचीन बस्ती र जीवनशैलीको आफ्नै इतिहास लोमान्थाङको। तिनलाई अध्ययन, अनुसन्धान गर्नु र अर्को रहस्योद्घाटनको क्षितिज उघारिदिनु अध्येताको काम हो। किनभने भर्खरै हो लोमान्थाङ भ्रमणको ढोका खुलेको। वर्षौंसम्म लोमान्थाङ प्रवेश निषेध जस्तै थियो।
लोमान्थाङ तिम्रो सौन्दर्य हेर्न पाउनुको सौभाग्यले कति अहोभाग्यमानी म। त्यसैले तिमीसँगको साक्षात्कारमा हर्षले विभोर छु। थकाइ र बिरानोपनलाई बिर्सेर खुसीले बुर्कुसी मारिरहेछु। लोमान्थाङ तिम्रो रहस्यमय प्रकृति र बेग्लै जीवनशैली। एकै किसिमका घरहरू एकसाथ जोडिएर बनेका। ढुंगामाटोले बने पनि अति नै बलियो। हिँड्दाहिँड्दै हराइने अनेकौं गल्लीगल्छेँडाहरू। प्रत्येकका घरका छानामा दाउरा हार मिलाएर राखिएका। हेर्नुको अर्कै आनन्द, पुग्नुको बेग्लै हर्ष र रमाउन सक्नुको प्राप्ति कति हो कति ! लोभलाग्दो लोमान्थाङ साँच्चैको पृथक् भूगोल। साँच्चैको सुखद अनुभव सँगाल्न पाइने थलो।
लोमान्थाङमा कति प्रिय जीवन र जमिन। जीवनमा अघि कहिल्यै भेट्दै नभेटेका मानिस तर मित्रवत् हार्दिकता, विनम्र बोली र व्यवहारको अनुभव हुने। चिनेर मात्रै केही नहुँदो रहेछ। नचिनेर पनि चिनाजानकै जस्तो कति प्रेममय व्यवहार। आफन्त जत्तिकै आत्मीयताका संलाप, शुभेक्षा र सद्भावहरू। नहिँडेको बाटो हिँडेपछि। नदेखेको दृश्य देखेपछि। मन हावासरी उड्ने रहेछ। छ्यापछ्याप्ती सुन्दरता चारैतिर छरिएका। तिनलाई आँखाले हेर्न भ्याइनभ्याइ हुने रहेछ। आँखामा नअटेको सौन्दर्य। हेरेर हेर्न नभ्याएको प्रकृति। कति मादक, कति रोमाञ्चित प्रकृति तिमी। तिम्रो विराट वैभवशाली स्वरूपको साक्षात दर्शनले म हर्षित–हर्षित। म अत्यन्तै आनन्दित–आनन्दित।
लोमान्थाङमा हिँडेर नथाक्ने पाइला। पुगेर नसकिने गन्तव्य। हेरेर नअघाइने दृश्य। तथापि भेटेर भेट्न नपाइने प्राकृतिक छटा। माटोका अक्करे भीरमा अनौठा आकृति र गुफा, गुम्बजहरू। तिनलाई भने केवल हेरेर अघाउँजी हुनुपर्ने। केवल देखेर सौन्दर्यमा आनन्दित हुनुपर्ने। तैपनि तृप्तिको बेग्लै मिठास। सन्तुष्टिको अर्कै प्राप्ति। यात्राको अलग्गै सुवास। कति मनोरम, कति सुन्दर, कति प्रिय लोमान्थाङ !
मेरा मनभरि, आँखाका दृष्टिभरि र अनुभूतिका छालभरि पृथक् आलेखनका अनेकौं खाका अभिलिखित हुँदै। सिर्जनशील अभिव्यक्तिका ऊर्जाहरू उम्रिँदै हृदयको बारीमा। उचाइ–यात्राका मीठा–मीठा यादहरू मनको क्यानभासमा ! हरदम मीठा–मीठा पलहरू ...! लेखनका बग्रेल्ती विषयहरू। भ्रमणका अनेकौं सास्ती, सुस्केराहरूमा पनि रमाउनुको मज्जै अर्को हुने। त्यो उचाइमा पनि खुल्ला र समथल पाटनहरू घुम्नुको अनुभव पनि रमाइलो।
समयको कठिन कुइँनेटो काटेपछि लोमान्थाङलाई मृदु मुस्कानमय आभामा प्रफुल्लित भेटियो। यात्रामा बास, गाँस र बाटोका कयौं हैरानीपछि आल्हादित पल। त्यो साँच्चै एक सुखद स्वप्न–सौन्दर्यको उत्साहमय मिर्मिरे हो। विम्बमय अनुभूति–अभिलेखका आयामहरूमा इन्द्रेणी रङ। अनि तिनैका सुन्दर छिटा–छविहरू छरिरहेको लोमान्थाङले भने जति खुसी दियो।
अन्ततः अनुपम प्रकृतिको पखेरामा अज्ञात खुसी र असीम अनुभूति हुने नै भयो। लोमान्थाङको बिहान वास्तवमै प्रकृतिको मनोरम छवि छचल्किँदो रहेछ। पहाडी तरेलीहरूको उचाइ अग्लिँदै गए पनि मनोहारी परिदृश्यको उपस्थिति अझ उन्नत देखिँदोरहेछ। अनौठो भूगोलको भव्य उपस्थिति भएको। बादलुको मायालु घुम्टोले ओडाएको। तर त्यसले कतै केही नछोपेको परिवेश।
बिहानको लोमान्थाङमा बेग्लै स्पर्श, बेग्लै अनुराग, बेग्लै आनन्द, बेग्लै सुन्दरताको स्वाद ! प्राकृतिक सुन्दरताको अर्को अनुपम रूप यही परिवेश। यहीँ रहेछ मनको शान्ति। प्रकृतिको बेग्लै मनमोहक बान्की। यहीँ पाइन्छ आँखाहरू रमाउने दृश्यहरूको मीठो खान्की। जहाँ भेटिन्छन् अज्ञात खुसी, अनुपम प्रकृति। कल्पनातीत दृश्यका शृंखलाहरू देखिने। अनुभूतिजन्य भावनाका भेलहरू उर्लिने। तिनमा तैरिनु, डुबुल्किनु र भावना गंगामा यात्रा गर्नुको अर्कै आनन्द।
वास्तवमा बिहानको लोमान्थाङ सुनजस्तै सुनौलो रङमा शोभायमान थियो। घामको पहिलो झुल्कोले हिमाललाई असीम प्रेमले चुमेर सुन रङमा रूपान्तरित प्रकृति। त्यही सुन रङ र त्यही घामको पहिलो किरणको प्रभावलाई हेर्नुको व्यग्र प्रतीक्षालाई पूरा गर्न यात्रीहरूको ओइरो। क्रमशः बिहान निख्रिँदै गर्दा र घाम छिप्पिँदै जाँदा हिमाली आवरण चाँदी रङमा लेपन हुने। तर बिहानको जस्तो सुन्दरताको नयनाभिराम दृश्य दिउँसो कहाँ देख्न पाउनु !? हुन पनि बिहान र बेलुकाको घाम साह्रै प्रिय र पवित्र हुन्छ। उदाउँदो र अस्ताउँदो त्यही घामलाई जल, फूल, धूपदीपले पूजाप्रार्थना गर्ने हाम्रो संस्कार ।
वास्तवमा लोमान्थाङ पुग्नु, घुम्नु र हेर्नुको प्रथम प्राप्ति भन्नु स्वर्णिम अनुभूति सँगाल्नु हो। यसकै लागि, यही प्राप्तिकै मृगतृष्णाले व्याकुल मन लोमान्थाङतिर लम्किन्छन्। र, सम्भवतः यसकै लागि लोमान्थाङलाई उत्कृष्ट गन्तव्य मान्दा हुन्। त्यसैले संसारको उत्कृष्ट पदयात्रा स्थल लोमान्थाङ। र, जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य स्थल लोमान्थाङ।
त्यसैले विश्वका दस उत्कृष्ट गन्तव्यमध्ये लोमान्थाङ पनि हो। विश्व सम्पदा सूचीमा सूचीकृत लोमान्थाङ पदयात्रा सौखिनका लागि उपयुक्त र उत्कृष्ट गन्तव्यस्थल। साथै ऐतिहासिक थलो पनि हो लोमान्थाङ। अद्वितीय हिमाली सभ्यता, संस्कृति र सम्पदाका लागि अध्ययनको स्थल। मूलतः तिब्बतीयन मूलका लोवा जाति एवं रैथाने थकाली समुदायलगायतको वैविध्य जीवनशैली र बसोबास छ लोमान्थाङमा।
लोमान्थाङको बिहान बढारिएको बादल र निख्रिएको धुलोमैलो भएकाले उघारिएको आकाश थियो। नेपालीहरू त्यहाँसम्म धाएर विराट प्रकृतिसँग साक्षात्कार भई नतमस्तक भइरहेका थिए। प्राकृतिक सुन्दरतामा चुर्लुम्मै डुब्ने मृगतृष्णामा मन साकार पारिरहेका थिए। उपल्लो मुस्ताङ आफैंमा अनौठो भौगोलिक बनोटको उचाइ थलो। जहाँको उचाइमा सौन्दर्यको सागर आँखाभरि देख्न पाइने। जहाँको भूगोल टेक्दा भाग्यमानी हुन पाइने। अनि मनभरि भेट्न र हृदयमा तिनलाई आत्मसात् गर्न सकिने।
हिमाल पारिको हिस्सी ! वरिपरि हिमाली लस्करको लोभलाग्दो दृश्य। यी सबैले आगन्तुकलाई बारम्बार आल्हादित पार्ने रहेछ। मरुभूमितुल्य माटोका पहाडमा कपिएका आकृतिहरूले अध्येता, अन्वेषकलाई थप रहस्य बढाइदिने र चुनौती पनि थपिदिने रहेछ। हजारौं वर्षदेखि उत्तिकै र उस्तै स्वरूप–संरचना।
प्रकृति प्रेमीका लागि प्रिय त हुने नै भयो। अन्य आगन्तुक पनि रमाएर प्रकृतिमै हराउन पुग्ने रहेछन्। बाटोका विकटतालाई छिचोलेर कागबेनीदेखि देखा पर्ने पृथक् भूगोलले आँखामा स्वतः नै स्पर्श गर्न आउने। त्यही स्पर्शमा रोमाञ्चित हुँदै यात्राले अनकन्टार लेकाली पाटोमा डोर्याउँदै मनभरि यात्राको प्रेमिल अनुभव सँगालिदिने। रुख र चट्टानबिनाका पहाड माटो र बालुवाको थुप्रोका ढिस्का। तिनैमा स्वतः कँुदिएका अनेकौं आकृति। अनेकौं गुफा र मैदानहरू।
लोमान्थाङको अनुपम अनुभवका आलेखनहरू कति–कति ! लोमान्थाङको लोकप्रियता कति–कति ! पाटनका पाटाभरि छरिएका प्रकृति रमणका गाथाहरू कति–कति ! चरिरहेका चौंरीहरू। भेँडाच्याङ्ग्राका बथानहरूले भरिभराउ पाटन। तथापि पुग्नलाई मरिहत्ते गर्नुपर्ने। ज्यान जोखिममा राखेर गन्तव्य छिचोल्नुपर्ने। कति टाढा, कति एकलास अनि कति सुनसान परिवेश। तर त्यही परिवेशमा जोडिएर बनेका घरहरू, अनौठा भूतल, माटोका भव्य आकृति र माटोकै प्राचीन मानव गुफाहरू।
अन्ततः लोमान्थाङ दरबारलाई ऐतिहासिक दरबारका रूपमा लिइन्छ। १४ औं शताब्दीमै तत्कालीन राजा आङ्देन साङ्वो विष्टको कार्यकालमा सो दरबार बनेको बताइन्छ। मुस्ताङ्गी राजाले राज्य गरेको लोमान्थाङ अद्यापि स्थानीयले तिनै विष्टका सन्तति पूर्वराजपरिवारलाई आफ्नो अभिभावकका रूपमा लिने गर्छन्। १५ औं शताब्दीतिरै निर्माण भएको मानिने मोन्खर दरबार, थुप्तेन, छयोदेन, र झ्याम्पाल नामका गुम्बाहरू पर्यटकका लागि अध्ययनीय थलो हुन्।
लोमान्थाङ दरबार अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा अवस्थित छ। मुस्ताङ राज्य स्थापनाका सम्बन्धमा धेरै किंवदन्ती छन्। तिब्बती संस्कृतिमा यस क्षेत्रको प्रभावले बौद्ध बोन–पो तथा ताओ धर्मका लागि पनि लोमान्थाङले विशेष महत्त्व राखेको पाइन्छ। लोमान्थाङ उहिल्यै तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग पनि थियो। उपल्लो मुस्ताङ, अप्पर मुस्ताङ र लोमान्थाङ उही थलो हो।
वरिपरि पहाडी थुम्काहरूका तरेली र स–साना हिमाली लस्करमार्गका ताँती। उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो। प्राचीन गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यका लागि विदेशी पर्यटकहरू लोमान्थाङ पुग्न आतुर हुन्छन्। यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमालहरू निकै आकर्षक र होचा देखिन्छन्। अन्नपूर्ण हिमशृंखलाको उत्तरपट्टि रहेको हुनाले यहाँ कम पानी पर्छ।
यहाँको लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेरको केन्द्र अर्थात् राजधानी लोमान्थाङ हो। लोमान्थाङको विशेषता भन्नु परम्परागत शैलीमा एकै ठाउँमा मिलेर बसेका घरबस्ती हो। अनि त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन् भन्दा फरक पर्दैन। नेपालका अन्य ठाउँभन्दा यहाँको भौगोलिक बनावट फरक छ। उच्च पहाडमा पनि मरुभूमिको अनुभूति स्वतः हुन्छ।
लोमान्थाङमा प्रथम पाइला टेकेपछि पृथक् हिमाली सेरोफेरो देखेपछि थाहा हुन्छ– हिँड्नुको प्रतिफल दुखाइको पीडा होइन; आनन्द अनुभूतिको मिठास हो। देख्नुको सौन्दर्य आँखाको तृष्णा होइन; दिव्य दृश्यको आस्वादन हो।
यो अनुभवसँगै तृषित आँखाहरूलाई तृप्त पार्ने आहा लोमान्थाङको प्रकृति ! वाहा प्रकृति परी लोमान्थाङ ! लोमान्थाङलाई हरपल हार्दिकताका हरफहरूमा यसरी नै लेखिरहन पाऊ ...! यस्तै रूप–सौन्दर्यमा सधैंभरि देखिरहन पाऊ। तिमीसँगै यसरी नै रमाइला पलहरू बिताइरहन पाऊ ! उकाली–ओराली, घुम्ती र देउराली गर्दै तिम्रै काखमा लुटुपुटिएर सारा तनावहरू बिर्सन सकूँ। तिम्रै प्राकृतिक पखेरामा आत्मसात् भएर अनुभूतिका अनेकौं अक्षरहरू लेखिरहन सकूँ। प्रेरणादायी लोमान्थाङ तिमीलाई शतत् प्रणाम !