वसन्तको बतासले बेस्सरी सम्झिरहेछ
फूलका परिकार
बास्ना बग्ने हृदय
आनन्द बग्ने आँखाको बाटोलाई
वसन्त ऋतुमा गिज्याङबाट ।
हुलाकी मार्गमा हिँड्ने हुलाकी
बिर्सिरहन्छन वसन्तका चिठी
छुटिरहेछ आनन्दको मिति
चराहरूको सम्बोधन
बैंसको विषय
अहिले गिज्याङमा ।
आज चिप्लेटीमा
ठिन्केका पालुवा पलाइसके
लोहारको आरन बलिसक्यो
बारीमा बाली पाक्यो
काफल पाकिसक्दा पनि
काफल पाक्यो, काफल पाक्यो भन्दै
चरी बोलाइरहन्छ
पर्खंदैछ आरुखोलाको पुल
नौ जवानका पाइलाहरूको स्पर्श
समयको मोटरमा बाटो बिर्सिएका
ती नौजवानहरूलाई
वसन्त चिठी पठाइरहन्छ
वसन्त ऋतुको गिज्याङको ठेगानामा ।
आज गिज्याङ बेस्सरी चिच्चाइरहेछ शून्यतामा
खोज्दै छ न्याय जलवायु परिवर्तन
अनि आफ्ना ग्राहकहरूसँग
तर, ती समयको ठेगाना बिर्सिएकाहरूलाई,
जलवायुको जारीबारे के थाहा ?