भोलि तनहुँ १ मा सार्वजनिक सवारी नचल्ने
तनहुँ : आइतबार तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनलाई लक्षित गरी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ क्षेत्र नं १ मा पर्ने मुग्लिङदेखि दमौली पुलपारी चापाघाटसम्म यातायात पूर्ण रूपमा बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँले शानिबार सूचना जारी गर्दै डुम्रे–बेसिसहर सडक खण्ड, आबुँखैरेनी–गोरखा सडक खण्ड, दमौली दुई पिल्ले सडक खण्ड लगायतका स्थानीय सडकहरूमा पनि सार्वजनिक सवारी साधन आवागमन बन्द हुने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा गाडी चल्न नदिने बताउँदै बिहान ४ बजे अगावै जिल्लापार गरिसक्न आग्रह गरे।
उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार यातायात बन्द गर्न लागिएको उनले बताए।
उनका अनुसार दमकल, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारी साधन, शववाहन, फोहोरमैला बोक्ने, अस्पतालको परिचयपत्र भएका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रेस पास भएका पत्रकार चढेको सवारी साधनलाई चल्न पाउने छन्।
कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत अरू पार्टीहरूबाट समेत गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन्।