कांग्रेस बुढो भयो, माओवादीसँग विचार छैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको बताएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले यो गठबन्धने मन्त्री बाँड्दै हिँडेको आरोप लगाए।
ओलीले भने, ‘तिनीहरूमा सत्ताको उन्माद छ। यत्रो सांसद् छन्, मन्त्री बनाउन सकेको छैन। अहिले मन्त्री बाँड्दै हिँडेका छन्। मन्त्री बाँड्दै हिँड्याछन्, ढाँट्न कति सक्या? प्रलोभनमात्रै पारे। आचार संहितालाई धुलोपिठो पारे। के-को आचारसंहिता? हामीले कतै पनि केही गरेका छैनौं।'
उपचुनावमा सरकारी हेलिकोप्टरको दुरुपयोग गरेको उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘हामीले पार्टीलाई दुई तिहाई पुर्यायौं। तर, टुप्पामा बस्ने नेताहरू बिके। त्यत्तिकै उनीहरूले कम्युनिस्ट पार्टी ध्वस्त पारेनन् होला।’
नेकपा एमालेसँग कुनै स्वार्थ नभएको ओलीको भनाइ छ। देशमा सुशासन, शान्ति र विकास, देशलाई समृद्ध बनाउने कुरामा मात्रै स्वार्थ रहेको ओलीले बताए।
ओलीले कांग्रेसलाई बुढोको संज्ञा दिए। ओलीले भने, ‘कांग्रेस बुढो भयो। बाघ बुढो भएपछि पहिले पहिले सजिलो सिकार गर्छ। साह्रै बुढो भएपछि खाल्डोमा जान्छ। नेपाली कांग्रेस त्यतैतिर पुग्नै थाल्यो। पार्टीले समयानुकूल विचार लियो कि लिएन भन्नेले पुरानो र नयाँ हुने हो।’ माओवादी केन्द्र विचारविहीन पार्टी रहेको बताए।