गाई जोगाऊँ
गाई जोगाउनै पर्छ। सरकारको ध्यान यता जाओस्।
तीन वर्षअघि मोरङको सुन्दरहरैंचाका गाईमा देखापरेको लम्पी स्किन रोग बेलैमा उपचार गरेको भए आज देशका ३० जिल्लामा फैलन पाउँदैनथ्यो। संक्रामक रूपमा रोग फैलन पाउँदैनथ्यो। किसानले करोडौं गुमाउनु पर्दैनथ्यो। तर, मानिसकै उपचारमा लापरबाही हाम्रो राज्यको ध्यान सुरुमै कहाँ पुग्थ्यो !
जब विपद् आउँछ, तबमात्रै होस खुलेजस्तो गर्ने सरकारी निकायको चरित्र नै बनिसकेको छ। देशभरका ३० जिल्लाका ११ हजारभन्दा धेरै गाई यतिबेला यो संक्रामक रोग भोगिरहेका छन्। केही सय संख्यामा मरिसकेका पनि छन्। राज्यले बेलामा उपचारको प्रबन्ध नगर्नु यसको मुख्य कारण हो। जसै देशभरका किसान मर्कामा पर्न थाले, बल्ल सरकार खोपको खोजी गर्दैछ। त्यो पनि कहिले आउँछ र गाईको उपचार हुन्छ ? किसान ढुक्क छैनन्। यो रोग लागेपछि गाईले दूध घटाउँछन्। फोका आउने, गाँठागुठी आउने, शरीरभरि धेरै घाउ हुने भएकाले दुख्ने हुन्छ। अनि गाईले कसरी दिन सक्छ र दूध ? कति त मर्छन् पनि।
अफ्रिकामा उत्पत्ति भएको मानिएको लम्पी स्किन रोग नेपालमा खुला सीमा हुँदै प्रवेश गरेको हुनुपर्छ। गाईकै ओहोरदोहोर नभए पनि झिंगा, लामखुट्टे वा अरू कुनै कीराको टोकाइले रोग सारिहाल्छ। नेपालमा गाई–भैंसीको गोठ र भकारो सफा सुग्घर हुँदैन। गाई–भैंसी पनि प्राणी हुन र तिनलाई पनि सुबिस्ता भए धेरै दूध दिन्छन् भन्ने चेतनासम्म पनि कतिपय किसानमा पुग्न सकेको छैन। यसमा राज्यले सचेतनामूलक कार्यसमेत गर्न सक्नुपर्छ।
लम्पी स्किन रोगविरुद्ध खोप रोग लागेका पशुलाई लगाएर हुँदैन। अब रोग नलागोस् भनेर अरू पशुहरूलाई लगाउने हो। अब सरकारले कहिले त्यो खोप ल्याउला र पशुहरूमा लगाउला कौतुहल मात्रै होइन किसानमा व्यग्र प्रतीक्षा छ। पहिल्यै खोप ल्याउन सकेका भए यति साह्रो संक्रमण फैलन सक्ने थिएन। हुने भइसकेपछि अब चाहिँ जतिसक्दो छिटो खोप भिœयाउन सरकार लाग्नुपर्छ। अब पनि खोप ल्याउन ढिला भयो भने देशभर यो रोग फैलन सक्छ। किसानलाई अरू नोक्सान हुन सक्छ।
एकातिर पशुचौपायाको विनास र अर्काेतिर दूध अभाव हुन जान्छ। पौस्टिक आहार दूधको उत्पादन कमी हुन नदिनेतिर संवेदनशील हुन जरुरी छ। त्यसका लागि खोप आयात गर्नैपर्छ। गाई जोगाउनै पर्छ। सरकारको ध्यान यता जाओस्।