सर्खेतदेखि रारा बुलेट बाइक यात्रा सुरु
वीरेन्द्रनगर : कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको सुर्खेतको वीरेन्द्रनगरदेखि मुगु रारा तालसम्म बुलेट बाइक यात्रा सुरु भएको छ।
त्रिवेणी एड्भेन्चर प्रालीको आयोजना तथा नभ इन्टरप्राईजेज सुर्खेतको सहजीकरणमा कर्णाली प्रदेशको सुर्खेतेदेखि कालिकोट, जुम्ला हुँदै मुगुको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको बुलेट बाइक यात्रा आइतबार सुरु गरिएको हो।
सुर्खेत कांक्रेबिहार, देउति बजै मन्दीर, गोठीकाँडा, दैलेख गुराँशे, शिरस्थान ज्वाला, कालिकोट कोटदरबार, युद्ध पर्यटकीय स्थल पिली, तिलागुफा, जुम्ला चन्दनाथ मन्दीर, सिजाँ उपत्यका, मुगु रारा तालसम्मको पर्यटकीय स्थलको प्रचारप्रसार र समग्र कर्णालीको पर्यटन प्रवर्द्धनका लागि राईड टु रारा प्याकेज सुरु गरिएको त्रिवेणी एड्भेन्चरका सञ्चालक एवं पर्यटन व्यवसायी मनराज सिम्खाडाले बताए।
उनका अनुसार राईड टु राराका लागि निःशुल्क रुपमा राईडरहरूलाई सहभागी गराइएको छ। आइतबारदेखि सुरु भएको यो यात्रामा ९ वटा बुलेटबाइकमा १८ जना राईडरहरू सहभागी भएका छन्।
राईड टु रारा बैशाख १० गतेदेखि १४ गतेसम्म हुनेछ। उक्त यात्राका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, नेपाल आटो मोबाईल एसोसियसन, माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपालको सहयोग गरेका छन्।
सुर्खेतबाट रारासम्म पुगिसकेपछि सोमबार रारामा स्लो मोटरसाइकल ड्राईभिङ प्रतियोगिता, मोटो खाना राईड, उत्कृष्ट फोटो प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरू गरिने छ।