भिडियो कल गर्दै ठगी

भिडियो कल गर्दै ठगी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गत चैतको दोस्रोसाता पूर्वकृषिमन्त्री अब्दुल खान उजुरी लिएर साइबर ब्युरो पुगे। अपरिचित नम्बरबाट ह्वाट्सअपमा आएको भिडियो कल उठाउँदा उनी भारतीय गिरोहको सेक्स ट्र्यापमा परेका थिए। पूर्वमन्त्री खानले एक अपरिचित महिलासँग गरेको भिडियो कुराकानी सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा सार्वजनिक भएको थियो। 

अनुसन्धान गरिरहेको प्रहरीका अनुसार पूजा अग्रवाल नामक आईडीबाट पूर्वमन्त्री खानलाई म्यासेज आएको थियो। कुराकानीकै क्रममा उक्त महिलाले पूर्वमन्त्री खानसँग अश्लील हर्कत गरेकी थिइन्। यही भिडियोलाई देखाउँदै उक्त महिलाले ३ लाख माग गरी पूर्वमन्त्री खानलाई ब्ल्याकमेल गरेकी थिइन्। रकम प्राप्त नभएपछि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। 

न्युरोडका एक चर्चित व्यापारी जो केही समयदेखि घरमा असामान्य व्यवहार देखाउन थाले। डराउने, तर्सिने र एक्लै बस्न थालेपछि उनलाई परिवारका सदस्यले सोधीखोजी गर्न थाले। ६३ वर्षीया ती व्यापारी ह्वाट्सअप गुप्रको आक्रमणमा परेका रहेछन्। उनका नाती उजुरी लिएर नेपाल प्रहरीको साइबर ब्युरो पुगे। ब्युरोका अनुसार केही महिना अघि ती व्यापारीको अकाउन्ट भएको सामाजिक सञ्जालमा युवतीले म्यासेज पठाइन्।

कुराकानीकै क्रममा व्यापारीको फोटो जोडेर युवतीले अश्लील भिडियो पठाइन्। व्यापारीसँग ३ लाख भारतीय रकम माग गरिन्। पैसा नपठाए भिडियो सार्वजनीक गर्ने भन्दै धम्की दिइन्। व्यापारीले २ लाख भारतीय रकम पठाए। पैसा माग्ने क्रम रोकिएन्। पुनः १० लाख पठाउने भन्दै बार्गेनिङ गर्न थाले। यसपछि भने ती व्यापारी नातिको सहयोगमा साइबर ब्युरो पुगेका थिए। 

साइबर ब्युरोका प्रहरी अधिकारीका अनुसार यसरी ठगिनेमा व्यापारी, डाक्टर, पत्रकारदेखि इन्जिनियर, सहसचिव सँगै संस्थानका कर्मचारीलगायत छन्। नजानेका भन्दा जानेका र पढेका व्यक्तिहरू पनि फिसिङ आक्रमणमा परिरहेका हुन्छन्। प्रहरी अधिकारी भन्छन्, ‘सुन्दर युवतीको फोटो देख्नासाथ कुराकानी गरिरहने र चिट्ठा पर्‍यो भन्नासाथ विश्वास गरेर प्रलोभनमा पर्दा यस्ता गिरोहले सजिलै ठगी गर्छन्।’

  •     ठगिनेमा व्यापारी, डाक्टरदेखि इन्जिनियर र सहसचिवसम्म
  •     गिरोहहरूको टार्गेटमा व्यक्तिहरूको आर्थिक कारोबार हुने साइट तथा एप
  •     चालु आवको ९ महिनामा ५,४९४ उजुरी 
  •     आर्थिक कारोबार गरिने एपहरू मोबाइलमा नचलाउन सुझाव

प्रहरीका अनुसार केही महिनाअघि चर्चित पत्रकार पनि यस्तै समस्यामा परेका थिए। मिस इन्डियामा सहभागी भएकी हुँ भन्दै एक युवतीले ती पत्रकारसँग कुराकानी गरेकी थिइन्। ती युवतीसँग भर्चुअल प्रेममा परेका पत्रकार युवतीले नेपाल आउँदैछु, खर्चको लागी पैसा पठाउ भन्दै उनको फोटोसहितको भिडियो पठाएपछि तर्सिएका थिए। 

कीर्तिपुरका एक व्यापारीले सामाजिक सञ्जालमा आएको लिंक खोलेर हेर्दा एकै रातमा आफ्नो बैंक अकाउन्टमा भएको ४ लाख गुमाए। प्रहरीका अनुसार उक्त लिंकले मोबाइलमा भएको सबै व्यक्तिगत विवरण, बंैकको पासवर्डमा समेत पहुँच पुर्‍याएर रकम ट्रान्सफर भएको थियो। 

यी त केही उदाहरण हुन्। पछिल्लो समय व्यक्तिको व्यक्तिगत विवरणसम्म अपराधीले पहुँच पुर्‍याएर आर्थिक ठगी गर्ने घटना बढिरहेका छन्। जसमा व्यक्तिको फोन नम्बर, सोसल मिडियाका आईडी, जिमेललगायतका माध्यमबाट उसको आर्थिक कारोबार रहेको बैंकसम्म पहँुच पुर्‍याउने गर्छ। यसका साथै ह्वाटसअपमा आएको भिडियो कल उठाउँदा वा अन्जान व्यक्तिसँग कुराकानी गर्दा ठगीनेको संख्या निकै बढेको छ। 

साइबर ब्युरोले दिएको तथ्याकंअनुसार आव ७७/७८ मा ३९०६ साइबर क्राइमसम्बन्धी घटनाका निवेदन दर्ता भएको थियो। ७८/७९ मा ४६८६ साइबर क्राइमकासम्बन्धी निवेदन दर्ता भए। ७९ /८० को ९ महिनामा ५४९४ वटा निवेदन दर्ता भए। 

सामाजिक सञ्जालमा आएको लिंक खोल्दा तथा भिडियो कल उठाउँदा ठगिने नेपालीहरूको संख्या बढ्न थाले पनि नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक सूचना जारी गरेको छ। ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार साइबर आक्रमणको यो तरिकालाई फिसिङ भनिन्छ। फिसिङ आक्रमणमा सहभागी गिरोहले व्यक्ति तथा संस्था लगायतका निकायहरूको लगइन विवरण, क्रेडिटकार्ड नम्बरहरू तथा व्यक्तिगत पहिचानमूलक जानकारीहरूमा पहुँच पुर्‍याउने गर्छन्। यस्ता गिरोहहरूको टार्गेटमा व्यक्तिहरूको आर्थिक कारोबार हुने साइट तथा एपहरू पर्छन्। 

ब्युरो प्रवक्ता राय भन्छन्, ‘अनावश्यक प्रलोभनमा नपर्नुहोस्। अन्जान व्यक्तिलाई व्यक्तिगत विवरण नदिनुहोस्। आर्थिक कारोवार गरिने एपहरू सकभर मोबाइलमा नचलाउनुहोस्। कम्प्युटर वा ल्यापटप प्रयोग गर्दा ठगीने जोखिम कम हुन्छ। नचिनेको व्यक्तिसँग भिडियोमा कुराकानी नगर्नुहोस्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.