स्थायी दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या
जोमसोम : मुस्ताङ अस्पतालमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। १५ शय्याको अस्पतालमा आधा मात्र जनशक्ति पदपूर्ति हुँदा सेवा सञ्चालनमा समस्या परेको हो।
अस्पतालमा १ जना नवौं तहको मेडिकल सुपरिटेन्डेन्टसहित १८ जनाको स्थायी दरबन्दी छ। तर, अहिले अस्पतालमा स्थायी दरबन्दीमध्येका पाँच जना कार्यालय सहयोगीसहित ८ जना रिक्त रहेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए।
उनका अनुसार मुस्ताङ अस्पतालमा एक जना नवौं तहको चिकित्सकसहित अहेब चौथो ३ जना मध्ये १ जना, अनमी २ मध्ये १ जना र पाँच जना कार्यालय सहयोगी पदको रिक्त छ।
२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पतालले ४८ वर्ष बितिसक्दा समेत स्थायी दरबन्दीका नवौं तहका चिकित्सक पाउन सकेको छैन।
स्थायी दरबन्दीतर्फ आठौ तहका एक जनालाई मेसुको निमित्त जिम्मेवारी दिइएको छ। मेसु पदका लागि अन्तिम पटक लोक सेवा खुलेको भए पनि कसैको आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले बताए।
हालको अवस्था आंशिक स्थायी दरबन्दी पदपूर्ति भइसकेको मेसु तिवारीको भनाइ छ। डा. तिवारीले कार्यालय सहयोगीको स्थायी दरबन्दी रहे पनि करारबाट पदपूर्ति भएकाले समस्या नरहेको उल्लेख गरे। अस्पतालको हालको दरबन्दीमा संशोधन गरिनुपर्ने मेसु तिवारीको भनाइ छ।
अस्पतालमा पद नै नभएको ठाउँमा स्वास्थ्य मन्त्रालयले समायोजन गरी सातौं तहका १ जना जनस्वास्थ्य अधिकृत पदपूर्ति गरिएको छ भने छैटौं तहका ४ जना, पाँचौ तहका १ जना र चौथो तहका ३ जना स्थायी कर्मचारी छन्।
मुस्ताङ अस्पतालमा स्थायी दरबन्दी बाहेक करार तथा अस्थायी कर्मचारीको संख्या १८ छ। जसमध्ये छात्रवृद्धि करारका एक जना नवौं तहका चिकित्सक छन्। अन्य दुई जना आठौं तहका छात्रवृद्धि करारका चिकित्सक रहेको अस्पतालले जनाएको छ।
योसँगै प्रदेश, स्थानीय तह र अन्य सञ्चालन भएको कार्यक्रमबाट करारमा भर्ना भएका १५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहेको बताइएको छ।