दोस्रो होमनेट इन्टरनेशनल सम्मेलन सुरु
काठमाडौं : काठमाडौंमा दोस्रो होमनेट इन्टरनेशनल सम्मेलन सुरु भएको छ। २९ देशका गृह श्रमिकहरूले सम्मेलनमा उत्पादित वस्तु प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनमा राखिएका सामग्रीले ती देशको प्रतिविम्ब गरेको थियो। यसले विभिन्न मुलुकको उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा पहिचान, बजार प्रवर्द्धन तथा पहुँच पुर्याउन सम्मेलनले प्रोत्साहन गरेको छ।
सम्मेलनले गृह श्रमिकले उत्पादन गरेको वस्तु बजारसम्मको पहुँचमा अभाव, सामाजिक सुरक्षाको अभाव र जलवायु परिवर्तनको प्रत्यक्ष असरमा पर्ने यस्ता श्रमिकको दैनिक जीवनका समस्या लगायत विषयलाई छलफलमा ल्याएको छ।
काठमाडौंमा आयोजित ४ दिने सम्मेलनमा विश्वका १ सय २७ गृह–श्रमिकको उपस्थिति छ। ‘हामी धेरै छौं, हामी एकतावद्ध छौं, हामी होमनेट इन्टरनेशनल हौं’ नाराका साथ यो सम्मेलन सुरु भएको छ।
गृह श्रमिकका आफ्ना उत्पादनहरू प्रदर्शन गर्न, यसअघि गरेका ऐक्यबद्धता र एकतालाई मजबुत बनाउन र नयाँ सञ्चालक समिति चयन गर्न उक्त सम्मेलन आयोजना गरिएको होमनेट दक्षिण एसियाको क्षेत्रीय संयोजक श्रृष्टि मल्ल जोशीले बताइन्।
ग्रास रुटमा रहेका गृह श्रमिकलाई एउटै थलोमा जमघट गराएर एक आपसमा समन्वय, सुन्ने र बुझ्ने वातावरण सिर्जना गर्न खोजिएको उनको भनाइ छ। ‘उनीहरूलाई नेपालको पहिचान दिने उद्देश्यले यहाँ आयोजना गरिएको हो। पहिलो सम्मेलन कोभिड–१९ मा परेकाले भर्चुअल मात्रै गरेकाले अहिले भौतिक रूपमा यो सम्मेलन जुराएको हो,’ क्षेत्रीय संयोजक श्रृष्टि मल्ल जोशीले भनिन्।
सम्मेलनको अर्को उद्देश्य विश्वव्यापी रूपमा वातावरण अर्थात् जलवायु परिवर्तनमा केन्द्रित हुन खोजिएको छ। जलवायु परिवर्तनको असर विशेष गृह श्रमिक अर्थात् ग्रामीण महिलाहरू नजिक भएकाले यसमा छलफल गर्न जरुर ठानेको उनले बताइन।
यससँगै उत्पादित सामानलाई विश्वव्यापी रूपमा कसरी पुर्याउने भन्नेबारे गृहकार्य पनि गर्न लागेको हो। सरकारले दिने सामाजिक सुरक्षाभन्दा पनि आफ्नै घर वा घर नजिकैबाट स्थानीय, राष्ट्रिय र विश्व बजारको लागि वस्तु वा सेवा उत्पादन गर्ने कामदारलाई गृह–श्रमिक (एचबीडब्ल्यु) का रूपमा राखिएको छ।
गृह श्रमिकले परिवार, समाज, र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने भए पनि उनीहरू पहिचानविहीन बनाइएको एचएनआईको अन्तर्राष्ट्रिय संयोजक जाह्नवी डेभ अनौपचारिक अर्थतन्त्रका अन्य कामदार जस्तै अधिकांश गृह श्रमिकले पर्याप्त अवसर नपाएको गुनासो गर्छिन्।
उनका अनुसार कानुनी अधिकार, सामाजिक सुरक्षा र उनीहरूको बोलीको सुनुवाइ भएको छैन। यसै प्रसंगमा उनी भन्छिन्, ‘गृह–श्रमिकहरूमध्ये विशेष महिला गृह–श्रमिकलाई थप पहिचान र प्रचार प्रसार प्रदान गर्न, विश्व मञ्चहरूमा बलियो, एकतावद्ध तथा प्रतिनिधित्व स्थापीत गर्न, उनीहरूको हक हितका लागि सरकार र रोजगारदाताहरूसँग संवाद गर्न एचएनआईको स्थापना भएको हो।'
सन् २०२१ फेब्रुअरीमा, २० वटा देशका ३६ गृह–श्रमिक संस्थाहरू यस सञ्जालसँग आवद्ध हुने पहिलो सदस्यहरू बनेको थियो। हाल ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, मध्य एसियाका ३३ देशहरूबाट ७५ संस्थाहरू आवद्ध छन्।
हाल सामूहिक रूपमा सो संस्थामा १२ लाख भन्दा बढी गृह श्रमिकको प्रतिनिधित्व छ। यसमध्ये करिब ९५ प्रतिशत महिला छन्। तर अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सन् २०१९ मा गरेको अध्ययनअनुसार संसारभर २६ करोड भन्दा बढी गृह श्रमिक छन्।
यसले विश्व श्रम बजारको ८ प्रतिशत कामदार समेट्ने बताइएको छ। २६ करोडमध्ये १४ करोड ७० लाख अर्थात ५७ प्रतिशतभने महिला श्रमिक रहेको बताएको छ। अझ संसारभरका करिब २ तिहाई अर्थात ६५ प्रतिशत गृह श्रमिक एसिया प्रशान्त क्षेत्रमा रहेका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयको श्रमिक सम्बन्धी तथ्यांकअनुसार नेपालभर १५ लाख हाराहारीमा गृह श्रमिकहरू छन्।