न्याय निरुपण सहज बनाउन तालिम
उदयपुर : न्याय निरुपण सहज बनाउनका लागि उदयपुरको त्रियुगा नगरपालिकाका न्यायिक समितिका सदस्य तथा मेलमिलापकर्ताहरूलाई तालिम दिइएको छ।
गाउँघरमा बढ्दै गएको घरायसी झगडालाई वडा तहमा नै मेलमिलापमार्फत समाधान खोज्ने गरी न्यायिक समितिका सदस्य र सूचीकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने गरी तालिम सञ्चालन गरिएको हो।
स्थानीय स्तरमा नै समाधान हुने सामान्य झगडासमेत न्यायिक समिति र प्रहरी कार्यालयमा पुग्न थालेपछि वडा तहमा नै समाधान गर्न तालिमको आयोजना गरिएको न्यायिक समितिका संयोजक तथा उपमेयर महेश्वरी राईले बताइन्।
उनले भनिन्, ‘सानातिना कतिपय घटना दुवै पक्षलाई झिकाएर त्यहीँ समाधान गर्न सकिन्छ, तर त्यसो नगरी एकैपटक न्यायिक समिति र प्रहरीकोमा पुग्ने परम्पराको विकास भयो आशा छ यो तालिमले त्यसको अन्त्य हुने छ। न्यायिक समितिको क्षेत्राधिकारभन्दा बाहिरका ऐलानी जग्गा, लेनदेन जस्ता मुद्दाका घटना पनि मिलाइदिनु पर्यो भन्दै आउनु्हुन्छ। मुद्दाको प्रकृति र चाप हेर्ने हो भने न्यायिक समितिका संयोजकले अन्य केही काम गर्न सक्ने अवस्था छैन। त्यसैले चाप कम गर्न र कुन मुद्दामा कहाँ जाने हो भन्ने जानकारी र समाधानको उपाय अव वडा तहबाटै हुने छ।’
जनहित संरक्षण मञ्च (प्रोपब्लिक)को प्रशिक्षण एवंम प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका न्यायिक समितिले आयोजना गरेको तालिममा सूचीकृत १० जना मेलमिलापकर्ता, प्रत्येक वडाबाट दुई जनाका दरले ३२ जना र न्यायिक समितिका दुई गरी ४४ जनाको सहभागिता रहेको छ।