तल्लो तहका जनताको सेवा प्राथमकितामा : डीआइजी बास्तोला
उदयपुर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बास्तोलाले तल्लो तहका जनताका सेवालाई प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरले गरेको सेवा प्रवाहको निरीक्षण गर्न मंगलबार गाईघाट आइपुगेका बास्तोलाले मातहतका कर्मचारीलाई निर्देशन दिँदै गरिब, असहाय, पीडित, शोषित परिवारका सवाललाई प्राथमिकता राखेर सेवा प्रवाह गर्न निर्देशन दिए।
उनले भने, ‘धेरै नागरिकको प्रहरीमा पहुँच पुगे पनि तल्लो तह जो सहाराबाट मात्र सेवा लिन पुग्छन् त्यस्ता व्यक्तिका काम कारबाही द्रुत गतिमा अगाडि बढाउनुस्।’
निर्देशनकै क्रममा उनले प्रहरी संगठनका साथै आफ्नो वृद्धि विकासका लागि सामूहिक भावना तथा भाइचारा र आपसी सहयोगको आवश्यकता रहेको औल्याए।
डीआइजी बास्तोलाले दैनिक कामकारबाहीलाई चुस्त, दुरुस्त बनाई आ–आफनो जिम्मेवार इलाकाहरूमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, विभिन्न आपराधिक गतिविधि, लागूऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरूलाई कडाइका साथ नियन्त्रण निर्देशन दिए।
उनले प्रहरी परिचालन गर्न र सवारी दुर्घटना न्यूनीकरण, सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चेकजाँचमा कडाई गर्न निर्देशन दिए।
उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्था, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न आग्रह गरे।
डीआइजी बास्तोलाले फरार प्रतिवादी खोजतलास गरी पक्राउ गर्न, चेकिङका क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी सदैव प्रहरी संगठनको गरिमा बढाउन अनुरोध गरे।
जिल्ला प्रहरी कार्यालयको निरीक्षण पछिको पत्रकारसँगको भेटमा उनले राजश्व दोहन, अपराधका घटना, आत्महत्या न्यूनीकरणमा कोसी प्रदेश प्रहरी मातहतका युनिट सबै परिचालन हुने बताए।
उनले लागूऔषध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले जनस्तरबाटै अभिभावकहरू लागि पर्नुपर्ने बताए।
‘आफ्नो सन्तानले लागूऔषध सेवन गर्छ भन्ने थाहा भएर पनि नबुझे जस्तो गर्ने र खुला छोड्दिने चलन छ, ’डीआइजी बास्तोलाले भने, ‘यस्ता गतिविधिलाई जबसम्म संरक्षण गर्छौ तबसम्म हाम्रो प्रयासले मात्र काम गर्दैन।’