उपचुनावमा विद्रोहको मत

इजलास

उपचुनावमा विद्रोहको मत
सुन्नुहोस्

नयाँ परिवेशमा लामिछाने, वाग्ले र यादवको जिम्मेवारी झन् बढेको छ। जनताका मनमा आधारभूत प्रश्नहरू छन्। तिनको जवाफ कांग्रेस र एमालेबाट पाउन सकेनन्। रास्वपाबाट खोज्नेछन्।

उपनिर्वाचन पछिल्लो जनमत बुझ्ने ठूलो आधार हो। अहिलेको मतपरिणामले नयाँ सन्देश दिएको छ। तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले सफलता हासिल गर्न सकेनन्। ठूला पार्टीका उम्मेदवार पराजित भएका छन्। कांग्रेस, माओवादी सम्मिलित सत्तारुढ गठबन्धनलाई जनताले रुचाएको पाइएन। प्रतिपक्षी एमालेलाई पनि अपेक्षाकृत जनमत प्राप्त भएन।

तनहुँ, चितवन र बारामा भएको उपनिर्वाचनमा ठूला पार्टीका उम्मेदवार निर्वाचित भएनन्। तनहुँ–१ कांग्रेसको ऐतिहासिक वर्चस्व भएको ठाउँ हो। राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्र हो। पौडेललाई मंसिर ४ गते निर्वाचनमा २५ हजार ३ सय १८ मत प्राप्त भएको थियो। त्यो मत उपनिर्वाचनमा गोविन्द भट्टराईलाई किन आएन ? कहाँ गयो ? यो गम्भीर प्रश्न हो। दाहाल–देउवा गठबन्धनको यो नराम्रो हार हो। यसलाई गठबन्धनले लोकसम्मति नपाएका रूपमा अथ्र्याउन सकिन्छ।

अहिले मुख्य दुई पार्टी कांग्रेस र एमाले नै हुन्। यी दुवै पार्टीले तीन निर्वाचन क्षेत्रमा एक सिट पनि ल्याउन सकेनन्। तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजारभन्दा बढी मतका साथ निर्वाचित हुनुभएको छ। डा. वाग्लेले कांग्रेस छोडेर  एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु अस्वाभाविक थियो। त्यसको आलोचनासमेत भएको थियो। तर, अहिलेको सफलताले सबै छोपिदिएको छ।

चितवन–२ मा पनि उक्त पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको छ। लामिछानेले सबैभन्दा धेरै मतान्तरले विजयी हासिल गर्नुभएको छ। चितवनमा पनि कांग्रेस र एमालेका उम्मेदवार दोस्रो र तेस्रो भएका छन्। कांग्रेस र एमालेले दुवै क्षेत्रमा पहिलेकै मतसमेत जोगाउन सकेनन्।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ। जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव अग्रस्थानमा हुनुहुन्छ। अहिलेको मतान्तर हेर्दा उहाँ विजयोन्मुख देखिएको छ। यसअघिको निर्वाचनमा पराजय भोगेकाले संसद्मा एक खालको अपूर्णता थियो। मधेसको भावनालाई राष्ट्रिय एकतामा जोड्ने काम यादवबाट हुनुपर्छ।

१० महिनाअघि गठित रास्वपाले ठूलो पार्टीलाई हराइ दुई क्षेत्रमा निर्वाचित भएको छ। उपनिर्वाचनमा ठूला पार्टी कांग्रेस र एमालेप्रति वितृष्णा देखिएको छ। यी दुवै पार्टी थाकेका छन्। तर, रास्वपा पनि जाँच पास भइसकेको छैन। तापनि ठूला पार्टीका उम्मेदवारसँग फराकिलो मतान्तरसहित विजयी भएका छन्। ठूला पार्टीको वितृष्णामा पाएको भोट हो। रास्वपालाई जनताले विश्वास गरिहालेको होइन। ठूला पार्टीविरुद्धको विद्रोहको मत हो। 

रास्वपाबाट निर्वाचित सांसदहरूलाई ठूलो जिम्मेवारी छ। कांग्रेस छाडेर उक्त पार्टीमा किन प्रवेश गरेको हो ? अब निर्वाचित भइसकेपछि के गर्न सक्छन् ? यो प्रश्न जनताको छ। काम गरेर देखाएर नयाँ नेतृत्वको क्षमताको बलमा अन्तर देखाउन सक्नुपर्छ। किनभने,  कांगे्रसबाट विद्रोह गरेर आएको भनेर जनताले वाग्लेलाई भोट दिएका हुन्। 

नयाँ परिवेशमा रास्वपा सभापति लामिछाने, वाग्ले र जसपा अध्यक्ष यादवको जिम्मेवारी झन् बढेको छ। जनताको मनमा आधारभूत प्रश्नहरू छन्। ती प्रश्नको जवाफ कांग्रेस र एमालेबाट पाउन सकेनन्। जनताले रास्वपाबाट खोज्नेछन्। उसले पनि जनताको प्रश्नको जवाफ दिन नसकेर निराश बनाउनु भएन। संसद्भित्र र  बाहिर  पनि जनताको समस्याको सम्बोधन गर्नु र नयाँ नेतृत्वको अपेक्षा पूरा गर्नुपर्छ। सबकासब जनप्रतिनिधिलाई उत्तरदायी संस्कृतितर्फ अग्रसर गराउनुपर्छ। 

(नागरिक समाजका अगुवा ढुंगाना पूर्वसभामुख हुन्।) 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.