राष्ट्रपति उपचारका लागि विदेश जाँदा राज्यले उपचार खर्च दिन्छ, भ्रमण भत्ताको होइन : सचिवालय
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपतिको उपचारका लागि विदेश भ्रमण र उपचारका लागि विदेश भ्रमण अलग अलग व्यवस्था रहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएपछि अनर्गल प्रचार गरिएको उनको सचिवालयले जनाएको छ। छातीमा इन्फेक्सन देखिएपछि उपचारका लागि भारत गएका राष्ट्रपति पौडेललाई राज्यले उपचार खर्च दिने व्यवस्था भएपनि भ्रमणसमेत भत्ता पाउने भनेर अर्नगल प्रचार गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको हो।
राष्ट्रपति पौडेलको दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ। राष्ट्रपति पौडेलको प्रेस संयोजकमा खिला कार्कीले उपचार खर्च र भ्रमण भत्ताको व्यवस्था फरक भएको बताए। उनले उपचारमा जाँदा भ्रमण भत्ता नहुने तर र सरकारले मनासिव खर्च ३ जना कुरूवालाई दिने बताएका छन्।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराउँदा स्वास्थ्य अवस्था सहज नभएपछि राष्ट्रपति पौडेललाई चिकित्सकको सुझावका आधारमा बैशाख ६ गते उपचारका लागि दिल्ली लगिएको थियो। चिकित्सकलाई उद्दृत गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको जनाएका छन्।
आचार्यले भने, 'एन्टिबायोटिक उपयोगका कारण उहाँमा शारीरिकरूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरूबाट अवगत हुन आएको व्यहोरा समेत जानकारी गराइन्छ ।'
के छ त ऐनको व्यवस्था ?
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपतिको उपचारका लागि विदेश भ्रमण र उपचारका लागि विदेश भ्रमण अलग अलग व्यवस्था रहेको छ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा उपचार खर्च सम्बन्धी व्यवस्था र भ्रमण सम्बन्धी व्यवस्था दफा ११ मा उल्लेख छ।
दफा ९. उपचार खर्च
(१) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ।
(३) उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ।
दफा ११. दैनिक भत्ता तथा भ्रमण खर्च
(१) राष्ट्रपति वा उपराष्ट्रपति आफ्नो ओहोदा सम्बन्धी कामको सिलसिलामा स्वदेश वा विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची–२ मा उल्लेख भए बमोजिमको दैनिक भत्ता पाउनेछन्।