यो युग कसको !

यो युग कसको !
सुन्नुहोस्

यो युग सुख प्राप्तिको, तिम्रो, मेरो अनि हामी सबैको।

‘यो तपाईंहरूको युग होइन। संसार कहाँ पुगिसक्यो। उही पुरानो गीत गाएर अब संसार चल्दैन।’ सन्तानले बुवाआमा वा ज्येष्ठ नागरिकलाई भनिरहने अर्थात् सुनिरहने सामान्य संवाद हो यो।

कसैले कसैलाई भन्दा÷सुन्दा सामान्य तर गहिराइमा पुगेर प्रहार गरिरहेका चोटिला आवाज हुन् यी। प्रश्नहरू पोको परेर बसेका छन्। समयसँगै व्यवहारमा आएका विचलनले के प्रतिनिधित्व गर्दैछ ? आफूले आफैंलाई सोधी रहेछन्। जवाफ कहाँ छ अनि कसले दिने हो ? यो युग कसको हो ? साँच्चै संसार कहाँ पुगिसक्यो त ? अनि यो संसार चलाउने गीतका सुर र तालहरू कुन हुन् ?आवश्यकताले मानिसलाई खोजी गर्न सिकाउँछ। भौतिक विज्ञानले गरेका आविष्कार हुन् या आवश्यकताले सिर्जना गरेका मौलिक पहिचान हुन् ! एकअर्कालाई बुझ्न र भावना व्यक्त गर्न कहाँ रोकिएको छ र ? बुझाउनेले कति बुझाए र बुझ्नेले कति बुझे ! त्यो बेग्लै कुरा होला। कतिले बुझ्दै बुझेनन्। कतिले बुझेर पनि बुझ पचाए ! विद्याका ठूलाठूला डिग्रीहरू छन्, हातमा प्रमाणपत्र छन्। सीप र कलाले पनि निपुण छन्।

श्रम बेचेर जीवन गुजारिरहेको मानिस केही समयपछि अरूलाई रोजगार दिने हैसियतमा पुग्छ। पैदलका के कुरा ? साइकलमा रमाउँदै मोटरसाइकल हुँदै महँगो गाडीमा सवार हुन पुग्छ। कागजका प्रमाणपत्र कोठाका भित्ताहरूमा सजिएका हुन्छन्। उसलाई देख्नेका लागि ऊ धेरै बदलिइसकेको छ। परिवर्तनको नमुना बनेको छ। सुख, शान्ति, समृद्धिले उसलाई काखमा लिएझैं देखिन्छ। तर आफूलाई आफूले हेर्छ कुनै परिवर्तन नै देख्दैन। वास्तवमा उ अझै खुसी छैन। धन, सम्पत्ति विद्या सबै आर्जन गर्‍यो तर अझै सुखी छैन। उठबस रहनसहन र जीवनशैली तथा दैनिकी सबै बदल्न सक्यो। तर स्वभाव र चरित्र भने बदल्न सकेन।

हिन्दू समाजमा सत्य, त्रेता, द्वापर र कलि गरी चार युगको मान्यता छ। सत्य युग भनेर सुख, शान्ति, समृद्धि र सुव्यवस्थाको प्रत्याभूति दिने एउटा अवधि विशेषलाई चित्रण गरिएको छ। राम र रामायणको प्रसंग त्रेता युगसँग अनि कृष्ण र महाभारतको प्रसंग द्वापर युगसँग जोडिएको पाइन्छ। यस अर्थमा कलियुगमा छौं। इतिहास र विज्ञानका विद्यार्थीका लागि यी चार युगको कुनै अर्थ नहोला। पुष्टि भएको कालखण्डहरूमा पृथ्वीको करोडौं वर्षको इतिहास तथा प्राणीको लाखौं वर्षको इतिहास फरक शैलीमा होलान्। एक रूसी राजनीतिक विश्लेषक स्तानिस्लाभ बेल्कोभ्स्कीअनुसार ‘हरेक युगको एउटा विशिष्ट पात्रमात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जसका माध्यमबाट त्यो युगका बारेमा फैसला गर्न सकिन्छ।’

विभिन्न अनुसन्धानले युग परिवर्तनसँगै सामाजिक व्यवहार पनि परिवर्तन हुँदै आएको देखाएको छ। सामाजिक, सांस्कृतिक र तनाव व्यवस्थापनमा आएका विचलित व्यवहारले समाजलाई स्वार्थको लेपले रंग्याउँदै लगेको छ। आपराधिक व्यवहारहरू सामान्यत विचलित हुन्छ नै। शान्ति र आनन्दबिना जीवनको कुनै मूल्य हुँदैन। मानिस आफ्नो क्षमताले भ्याएसम्म शान्ति र आनन्दको नै खोजी गरिरहेको हुन्छ। कोही क्षणिक र वासनायुक्त विषयानन्दमय आनन्दमा डुब्छन्। कोही देशभक्ति र समाजसेवाका प्रेमानन्दमय वातावरणमा डुब्छन्। आवश्यकताले विकाससँग र विकासले विकृति र विनाशसँग पनि सम्बन्ध राखेको हुन्छ। सुखको खोजीमा भौतारिरहन्छन्। तर सुख चाहिँ के हो त ? ग्रन्थहरूमा लोभ, मोह, क्रोध, काम, मद र मात्सर्य (ईष्र्या)लाई दिमागको दुश्मन मानिएको छ। यी दुश्मनलाई परास्त नगरी सुख प्राप्ति हुँदैन। यी दुश्मनलाई परास्त गर्ने उत्तम अस्त्र हो, सोच अर्थात् विचार।

खप्तड बाबाले ‘विचार विज्ञान’ नामक पुस्तकमा लेखेका छन्, ‘विचारमा एकाग्रता हुन जरुरी छ। यसैले एकाग्रतापूर्वक जुन कुराको विचार गर्छौं, त्यसमा तिमीलाई सफलता अवश्य होला। विचारहरूको परिणामबाट तिमी कहिल्यै पनि बच्न सक्दैनौं।’ विचारलाई सुन्दर भविष्यको चुरोको रूपमा लिन सकिन्छ। विचारलाई अनुभूतिका सुनौला अक्षरहरूले हृदयभित्र लेख्न सक्नुपर्छ। समय अनौठो हुन्छ नै, समयले मानिसलाई जिउन पनि सिकाउँछ। एक्लोपनले खोजेको एकान्तलाई समयले दिएका खुसीभित्रका खुसीलाई नियाल्दै आत्महत्या विरुद्धको ओखती खोज्नेहरू पनि छन्। अनुहारभित्रका अनुहारहरूलाई पढ्न नसक्दा अर्थपूर्ण जीवनलाई आँसुको मूल्यसँग साट्नेहरू पनि छन्। दम्भलाई कुशल नेतृत्व सम्झनेहरूले नैतिकताभित्रको सचेतता गुमाइरहेका हुन्छन्। 

तराजुमा प्रतिष्ठाको तौल जोखिइरहँदा क्रूरताहरूले पराकाष्ठाको रूप दर्शाइरहेका पनि हुन्छन्। माया अदृश्य  तर शक्तिवान् हुन्छ। यहाँ विश्वासबिनाका सम्बन्धहरूले सत्यको अनुहारमा झुटको रंग पोतिरहेका छन्। त्यसैले सम्बन्धहरू खण्डित हुँदै गइरहेका छन्। मानवता भरिएको मान्छे हराउँदै गए। सुखको तराजुमा दुःखको मानो भरिँदै गयो। कहाँ छ जीवनको गन्तव्य ? बाँच्नेहरू त कल्पनाका सन्तुष्टिहरूमा पनि रमाएकै छन्। एकाग्रता तथा ध्यानले जीवनको गोरेटोमा देखा परेका स्मृतिका पानाहरू मस्तिष्कमा सँगाल्दै जान्छ। जीवनमा नमिठो बोल्नेहरू सबै शत्रु हुँदैनन्।

शत्रुभित्रका मित्रहरूको साथले थुप्रै असफलताभित्र सफल कथाहरू लेखिएका छन्। सोचले नतिजालाई प्रभाव पार्छ। सही सोचले सफलता प्राप्त गर्छ। यहाँ धेरै शीर्षकबिनाका कथा लेखिएका छन्। सागरभित्र मोती देख्नेहरूले घृणाभित्र पनि सफल कथाहरूका इतिहास रचेकै छन्। सुखी, दुःखी, धनी गरिब, अँध्यारो, उज्यालो पाउने गुमाउने सबैको साझा संसार हो यो। विचारअनुरूप सबै किसिमका सुखदुःख अटाएका छन्। देख्नेले देख्न सक्नु पर्‍यो। हेर्नेले हेर्न चाहनु पर्‍यो। दिन चाहने पनि छन्, लिनेहरू पनि छन्। स्वार्थको चस्मा लगाएर संसारलाई हेर्दा आफूबाहेक कोही नदेखिनु स्वाभाविक हो। भ्रममा बाँचेका खुसीका सुर र तालहरूको संयोजनमा रमाएको संसारले वास्तविक सुख प्रदान गर्दैन। यो युग सुख प्राप्तिको, तिम्रो, मेरो अनि हामी सबैको।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.