छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न छेके र बाजुतिर
गोरखा : चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन्। सिजन सुरु हुनेबित्तिकै छेकम्पारबासी ‘कीरा’ टिप्न छेके र बाजुको लेक जान थालेका स्थानीय छिरिङ लामाले जानकारी दिए। ‘म पनि एकफेर लेक पुगेर फर्केको हुँ’, उनी भन्छन्, ‘आज जाने भनेको, हिउँ परेर जान सकिएन। मौसम बिग्रिएर अल्ली दुःख दिइरहेको छ।’
उत्तरी गोरखाका बासिन्दा यार्सागुम्बालाई ‘कीरा’ भन्ने गर्छन्। यहाँको चुमनुब्री १ सामागाउँ र वडा नं. ७ छेकम्पारका लेकमा उच्च गुणस्तरका यार्सागुम्बा पाइन्छ। चुमनुब्री गाउँपालिकाको वडा नं. ३ र धार्चे गाउँपालिकाको वडा नं. ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ। छेकम्पारका बासिन्दा किरा टिप्न वैशाख १ गतेदेखि नै लेकतिर जान थालेका निवर्तमान वडा अध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्। ‘जान त गएका छन्, तर लेकमा एक, दुई फिट हिउँ जमिरहेको छ’, उनले भने, ‘यो वर्ष हिउँ ढिला पर्यो। लेक गएकाहरूले पनि कीरा टिप्न पाएका छैनन्। कोही फर्केका छन्, कोही हिउँ पग्लिने आशामा उतै बसेका छन्।’ वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन्। दुई अढाइ महिनालाई पुग्ने गरी याक–चौंरीलाई रासनपानी, लत्तकपडा बोकाएर लैजान्छन्।
कीराको सिजन सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिबार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन्। ‘लेकमा अस्थायी क्याम्प बनाउँछन्। बालबच्चा पनि लेकमै लान्छन्। यताको घरपालुवा जनावर भनेको याक, चौंरी हो। याक, चौंरी पनि लेकमै लान्छन्’, लामा पासाङ भन्छन्, ‘कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा(तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफूहरू सबै लेकमै जान्छन्।’ उच्च हिमाली लेकमा बस्नका लागि प्रायजसोले गारो लगाएर माथि त्रिपालको ‘छादन’ राखेर अस्थायी संरचना बनाएका हुन्छन् भने, कतिपयले टेन्ट टाँगेर बासस्थान बनाएका हुन्छन्। शैक्षिक सत्र खुलेका बेला ढोका ढप्काएर गाउँका सबैजना ‘कीरा टिप्न’ लेक गएपछि विद्यालयहरू पनि सुनसान हुन्छन्।
यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो। तर, केही वर्षदेखि चिनियाँ नाका नखुलेका कारण उनीहरू मर्कामा परेका छन्। ‘चार बर्ष भयो चाइनाले नाका बन्द गरेको। नाकबन्दी हुन थालेदेखि यार्सागुम्बाको भाउ पाएको छैन’, छिरिङ लामा भन्छन्, ‘नाका खुलेको भए तिब्बतको बजारमा बेच्न पाइन्थ्यो। अल्लि राम्रो भाउ पाइन्थ्यो।
नाका नखुलेपछि यतैका लोकल ठेकेदारलाई बेच्नु पर्छ, भाउ नै पाइँदैन।’ यार्सागुम्बा बेचेर बिगतमा प्रायले दुई लाख, तीन लाख, चार लाख रुपैयाँसम्म कमाउँथे। तर अचेल त्यस्तो कमाइ नहुने उनी बताउँछन्। अहिले लेकमा यार्सागुम्बा कम हुन थालेको छ। ‘लेकमा कीरा पाउनै छोड्यो। दिनभरि खोज्दा एउटा, दुइटा मात्र पाइन्छ’, उनी भन्छन्, ‘अब केही बर्षपछि त त्यही पनि पाउन छोड्छ होला।’ यार्सागुम्बा संकलनलाई कुनै पनि सरकारी निकायले व्यवस्थित बनाएका छैनन्। प्रत्येक घरले स्थानीय समितिलाई पाँच सय रुपैयाँ र पालिकाका लागि पाँचसय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। त्यो बाहेक नियमन गर्न पालिकाले यसको संरक्षण तथा संकलन, खरिद, बिक्रीकाबारे कुनै नीति, नियम, कार्यविधि बनाएको छैन।