वैकल्पिक राजनीतिको तरंग
वैकल्पिक राजनीति परालको आगो र मौसमी खहरे खोलाजस्तो हुनु हुँदैन ।
मुलुकमा उपनिर्वाचनका मत परिणामहरूले विकल्पको सन्देशसहित समसामयिक राजनीति बदलिएको संकेत गरेको छ। राजनीतिक, आर्थिक र सामाजिक आयामहरूमा आएको परिर्वतनले राजनीतिक दलभित्र र समाजबाट नै एउटा स्वप्नकल्प नेतृत्वको जनअपेक्षा चुलिँदो छ। पछिल्लो स्थानीय तहको निर्वाचन र आमनिर्वाचनबाट केही नाटकीय परिणामहरू आए। आमनिर्वाचन परिणामपश्चात् पनि ठूला र पुराना दलहरूले परिवर्तित परिवेशलाई आत्मसात् गर्न सकेनन्। फलस्वरूप उपनिर्वाचन क्षेत्रमध्ये तनहुँ र चितवनमा भारी मतान्तरसहित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। नेपाली मतदाताले बेलाबेलामा चाहना गरेको विकल्पको मत यसपटक पनि देखियो। मत परिर्वतनको नवीन सोचमार्फत मतदाताले आफ्नो जनप्रतिनिधिका रूपमा युवा नेताहरूलाई नीतिनिर्माणको थलो संसद्सम्म पुर्याएका छन्।
समसामयिक बदलिँदो राजनीतिक परिदृश्य र समयानुकूल नागरिकका अपेक्षाहरूको सही रूपमा सम्बोधनका लागि विश्वभरि नै बेलाबेलामा वैकल्पिक राजनीतिका तरंगहरू देखा परेका छन्। समयको उत्तम विकल्प नै राजनीतिक, आर्थिक, सामाजिकलगायतका समग्र पक्षहरूको रूपान्तरणको परिकल्पना हो। विकल्पले सदैव नवीन अवधारणाको उत्खननमा प्रयत्न गर्दछ। वैकल्पिक राजनीतिले त्यस्ता समयका मुख्य मुख्य अवधारणाहरूलाई एजेन्डाहरूका रूपमा नागरिक समक्ष जनमतका लागि प्रस्तुत गर्दछ। राजनीति लय र युगको मागभन्दा भिन्न ट्र्याकमा लागेमा वैकल्पिक धारका स्वरहरू सुनिनु र देखिनु राजनीतिमा स्वाभाविक कुरा हो।
ठूला पार्टीहरु शुद्धीकरण, रूपान्तरण र पुस्तान्तरण हुन सकेनन् भने वैकल्पिक राजनीतिको उदयलाई कसैले रोक्न सक्दैन। वैकल्पिक राजनीति परालको आगो र मौसमी खहरे खोलाजस्तो हुनु हुँदैन।
विश्व राजनीतिकै परिदृश्यहरूलाई अध्ययन गर्दा नवीन विकल्पलाई नागरिकहरूले सधैं आफ्ना मत दिएका पाइन्छन्। लेखक फ्रान्सेस्को एम बोङ्गीभानीले आफ्नो लेख ‘द राइज अफ अल्टरनेटिभ पोलिटिक्स’ मा भन्छन् ‘जुन पार्टीहरू समयअनुसार नागरिकका भलाइका काममा सक्रिय हँुदैनन् त्यस्ता संगठनहरूलाई बेलाबेलामा समयानुकूल सच्चिने मौका पनि दिन्छन्। तर, सच्चिन चाहँदैनन् भने विकल्प खोज्छन्।’ विशेषगरी उनले उल्लेख गरेजस्तै दोस्रो विश्वयुद्धपछिका राजनीतिक आन्दोलन र बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूको स्थापना पछि राजनीतिलाई समयानुकूल लयमा ल्याउन वैकल्पिक राजनीतिका अभ्यासहरूको उदय भएको पाइन्छ।
राजनीतिमा हरेक विकल्पहरूको ढोका खुल्ला हुन्छ। त्यसको अभ्यास गर्ने प्रयत्न वैकल्पिक राजनीतिका नेताहरूको हुने टिप्पणी सुरु भएको छ। भनिन्छ, मूूल पार्टीहरूभित्र पनि सक्रिय गुट र उपगुटका विकल्पहरू हुन्छन्। अलग अभियान, पार्टी, सिद्धान्त र विचारबाट पनि वैकल्पिक राजनीतिक तरंगहरू देखा पर्छन्। विश्व राजनीतिमा ८० र ९० को दशकमा आएको आर्थिक उदारीकरण, राजनीतिक अभियान, विद्यार्थी र युवाहरूका आन्दोलन, विश्वव्यापीकरणले नयाँनयाँ विकल्पहरूलाई विभिन्न माध्यमबाट राजनीतिका मूलप्रवाहीकरणमा ल्याइदिएको छ।
विश्वभरि नै नयाँ राजनीति वेब आइरहेको छ। फ्रान्सको नयाँ राजनीतिक दल ‘एन मास’ बाट राष्ट्रपतिमा निर्वाचित इमानुएल म्याक्रोन, श्रमिकका कानुन, भ्रष्टाचार नियन्त्रण र आर्थिक पुनरुत्थानलाई मुख्य एजेन्डा बनाए। जर्मनीमा बुद्धिजीवी र डाक्टरहरूको एक समूहले वैकल्पिक राजनीति अल्टरनेटिभ फर जर्मनी (एएफडी)को सुरुवात गरे। पाकिस्तानमा इमरान खान, युक्रेनको राष्ट्रपतिमा भोलोडिमिर जेलेन्स्की वैकल्पिक धारबाट राजनीतिमा उदाएका थिए। छोटो समयमा नै राजनीतिक सफलतासहित राज्यसत्ताको नेतृत्वमा पुगेका लोभलाग्दा उदाहरणहरू हामीमाझ देखिएका छन्। बेलायतमा ऋषि सुनक, क्यानडामा जस्टिन टुडो, फिनल्यान्डमा सान्ना मरिन, न्युजिल्यान्डमा जेसिन्डा अर्डेन, भारतमा अरविन्द केजरीवालजस्ता नेताहरूको उदयले शासकीय व्यवस्थाको नवीनतालाई झक्झकाइरहेको छ।
विश्वव्यापी लहरसँगै नेपालको राजनीतिमा पनि वैकल्पिक राजनीतिले सधैं मूलधारको राजनीतिलाई चुनौती दिएका छन्। वि.स. १९९३ सालमा नेपाल प्रजा परिषद् राणाशासनको विकल्पमा देखिएको थियो। २००३ सालपछि फेरि नेपाल प्रजापरिषद्कै विकल्पमा नेपाली कांग्रेसको उदय भयो। विश्वव्यापी रूपमा ९० को दशकमा आएको राजनीतिक र आर्थिक स्वतन्त्रताले नेपालमा पनि बहुदलीय व्यवस्थाको सुरुवात गर्यो। वि.सं २०४७ सालमा एमालेले कांग्रेसको विकल्पका रूपमा आफूलाई उभ्यायो। २०५२ मा कांग्रेस एमालेकै विकल्पमा माओवादी जन्मियो, जनयुद्धको प्रारम्भ भयो। २०६२÷०६३ पछि मधेसवादी दल पनि विकल्प बन्दै क्षेत्रीय वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाए। नेपालमा वैकल्पिक पार्टीहरूको स्पष्ट कार्ययोजना र एकीकृत विचार, संगठन र क्रियाकलाप नदेखिँदा बेला बेलामा उदाएका वैकल्पिक पार्टीहरू कुनै विलय भएर जाने त कुनै खुम्चिने, नीतिमा मतभेद र नेतृत्वविहीन हुने देखिन्छ। पुराना र ठूला पार्टीमा शुद्धीकरण, रूपान्तरण र पुस्तान्तरण, शासकीय नवीनता, सरकारमा प्रभावकारिता, पार्टीभित्रको लोकतान्त्रिक व्यवस्था र क्रियाशीलता, परफरमेन्स वेस्ड पोलिटिक्स र डेलिभरिको आमअपेक्षा सम्बोधन गर्न सकेनन् भने विकल्पको उदय कसैले रोक्न सक्दैन।
अहिले राजनीतिक परिवर्तनमा विकल्प प्रस्तुत भएका छन्। तर ठूला राजनीतिक दलहरू समयानुकूल परिष्कृत हुन नसक्दा भने विभिन्न अभियान र आन्दोलनका माध्यमबाट नयाँ वैकल्पिक शक्तिहरूको उदयले राजनीतिलाई बेलाबेलामा तरंगित पारिरहेको छ। संविधान निर्माणका क्रममा जनदबाबका रूपमा उदाएको उद्धव थापा नेतृत्वको विवेकशील नेपाली, बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति, रवीन्द्र मिश्रको साझा पार्टी, वैकल्पिक राजनीतिको मैदानमा देखिए। संविधान जारीपश्चात्को दोस्रो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उनमुक्ति पार्टी, जनमत पार्टी संसद् र राष्ट्रिय राजनीतिमा सशक्त विकल्पका रूपमा देखिएका छन्।
आम नागरिकमा राजनीतिप्रति वितृष्णा छ। विशेषगरी संविधान जारीपश्चात् नागरिकको अपेक्षा चुलिँदो छ। तर, त्यसअनुरूप शासक र राज्यले नागरिकका अपेक्षाहरूलाई समयानुकूल परिपूर्ति गर्न सकिरहेका छैनन्। संविधानको परिकल्पना अनुरूपको समग्र राज्य व्यवस्थाको सुदृढीकरण, राज्यका अंगहरूको संरचनागत सशक्तीकरण र राजनीतिक संस्कारसहित सर्वसुलभ सार्वजनिक सेवाको माग समयानुकूल हुन नसक्दा नागरिकमा वैकल्पिक राजनीतिमा समर्थन र आशा गरिरहेका छन्। मुख्यतः वैकल्पिक राजनीतिले नागरिकको खाना, नाना र सुरक्षित आवाससँगै राजनीतिमा नवीन आयाम शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सुशासन, पर्यावरण, सर्वसुलभ सार्वजनिक सेवा, सु–संस्कृत राजनीति, मौलिक समृद्धिजस्ता आधारभूत विषयहरू नयाँ मुद्दाका रूपमा उठाएका छन्।
लेखक फ्रान्सिस् फुकुयामाको भनाइमा समाज परिवर्तनशील छ, परम्परागत मान्यताको विकल्पमा नयाँ मान्यताको विकास गर्न जरुरी छ। वैकल्पिक राजनीतिको मान्यता भनेको अग्रगामी मान्यता हो। यथास्थितिले समाज सन्तुष्ट भएको छैन भने त्यसले विकल्प खोज्छ र विकल्प यथास्थिति र पश्चागमन हुनै सक्दैन। पुरानाको विकल्प नया हो भने नयाँ भनेको अग्रगमन हो। अग्रगामी हुने भनेको वैकल्पिक हुनु हो। वैकल्पिक राजनीतिका रूपमा नयाँ एजेन्डासहित नयाँ दलहरू आउनु स्वागतयोग्य नै हो।