उपचार नै नभएको शीर्षकमा समेत रकम असुल्दै अस्पताल
वीरगन्ज : वीरगन्जको गण्डकस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलले उपचारका बहनामा बिरामी र सेवाग्राहीलाई ठगेको घटना सार्वजनिक भएको छ।
हस्पिटलले उपचारको बिलमा उपचार नै नभएको शीर्षकमा समेत शुल्क जोडेर ठगी गरेको उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक बिरामीका आफन्तहरूको आरोप छ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ का २७ वर्षीय विजय कुमार बरइलाई गत मंगलबार राति १२ बजे नेपाल मेडिसिटी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो।
तर उपचारका क्रममा उनको बुधबार बिहान ११ बजे मृत्यु भयो। बरइको मृत्युपछि शव बुझने क्रममा आफन्तलाई हस्पिटलले ४ लाख ८० हजार रुपैयाको बिल थमाएको थियो।
तर आफन्तले बिलमा उल्लेख शुल्कको शीर्षकहरू शंकास्पद रहेको भन्दै विवाद गरेपछि अस्पतालले ३ लाख १० हजार रुपैयाँ मात्रै लिएर शव आफन्तको जिम्मा लगायो।
तर उक्त बिलमा एउटै उपचारको पनि अलग अलग शीर्षक राखेर रकम जोडिएको मृतकका आफन्तहरूले बताए। अस्पतालको उक्त ठगी प्रकरण बारे मृतकका आफन्तले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा मृतक बरईका दाजु अजय कुमार चौरसियाले नेपाल मेडिसिटी बयोधा हस्पिटलले बिरामीको उपचारभन्दा पनि व्यापारी बनेर बिरामीलाई ठग्दै आएको आरोप लगाए।
बरईको उपचारका क्रममा टाउको शल्यकृया गरेबापत अस्पतालले अनेक शीर्षकको शुल्क जोडेर रकम असुलेको चौरसियाको आरोप छ।
चौरसियाका अनुसार , अस्पतालले दिएको बिलमा सर्जन चार्ज (अप्रेशन गर्ने डाक्टरको शुल्क) १ लाख ९२ हजार ५ सय र अप्रेशन चार्ज १ लाख ५ हजार रुपैयाँ उल्लेख छ। यस्तै एनेस्थेसिया चार्ज ( शल्यक्रिया पुर्व बिरामीलाई अचेत बनाउने शुल्क ) ५२ हजार र प्रोसेजर चार्ज ( शल्यक्रियाको तयारी शुल्क ) २० हजार रुपैयाँ पनि बिलमा उल्लेख छ।
मृतक बरइका दाजु चौरसियाले प्रश्न गर्दै भने,‘ सर्जन चार्ज र अप्रेशन चार्ज अलग अलग किन ? अप्रेशन डाक्टरले नै गरेका हुन् , त्यसोभए सर्जन चार्ज छुट्टै लिनु कहाँसम्मको जायज हो ? यो त सरासर लुटतन्त्र हो।
अप्रेशन गर्नुपूर्व बिरामीलाई अचेत पार्न एनेस्थेसिया चार्ज बापत पनि छुट्टै ५२ हजार र अप्रेशन गर्ने डाक्टरले गर्नुपर्ने तयारी ( प्रोसेजेर चार्ज) बापत पनि छुट्टै २० हजार लिएकोले यो पनि ठगी नै भएको चौरसियाले बताए।
यसका अतिरिक्त भेन्टिलेटर चार्ज प्रतिदिनको ४ हजार ८ सय लेखिए पनि अस्पतालले २४ घण्टा भेन्टिलेटरमा राखेबापत दोब्बर शुल्क लिएको चौरसियाले बताए।
पत्रकार सम्मेलनमा मृतकका दाजु चौरसियाले नेपाल मेडिसिटी बयोधा हस्पिटल अकुत सम्पति कमाएकाहरूले मात्रै उपचार गर्ने अस्पताल भएको आरोप लगाए।
उनले यो अस्पताल उपचार सेवाका लागि नभइ व्यपारका लागि मात्र खोलिएको अस्पताल भएको आरोपपनि लगाए। चौरसियाले भने,‘ बिलमा अनावश्यक चार्ज जोडेको गुनासो लिएर अस्पतालका प्रशासन प्रमुखकोमा पुग्दा उल्टै उनले हामी सेवाका लागि होइन व्यापारका लागि अस्पताल खोलेर बसेको जवाफ पो दिए।
अस्पतालले अप्रेशन चार्ज जोडेर लिएको भएपनि अप्रेशन नै नगरेको आशंका पनि रहेको चौरसियाले बताए। उनले भने,‘ सुरुमा अप्रेशनका लागि भनेर ४८ हजार रुपैयाँको औषधि मगाए, तर अप्रेशनपछि ४० हजारको औषधि त फिर्ता गराइदिए, अब भन्नुस् ८ हजारको मात्रै औषधिले कसरी अप्रेशन भयो होला?'
चौरसियाले आफनो भाईको मृत्यु भइसकेको भए पनि अस्पतालले गर्दै आएको ठगीमा अरू बिरामी नफसुन् भनेर सन्देश दिन पत्रकार सम्मेलन गरेको स्पष्ट पारे।
यता अस्पतालकी मेडिकल सुपरिडेन्टेण्ट (मेसु) डाक्टर स्वेता झाले भने मृतक बरईका आफन्तले लगाएको आरोप निराधार भएको बताइन्। नेपाल मेडिसिटी बयोधा हस्पिटल एकदमै पारदर्शी भएको उनले दाबी गरिन्।
उनले भनिन्,‘ अरू हस्पिटल जस्तो हामी बिरामी र आफन्तलाई भ्रममा राख्दैंनौ, जे जे उपचार भएको हुन्छ बिलमा त्यसको चार्ज स्पष्ट रूपमा लेखेर दिन्छौं, हाम्रो जस्तो पारदर्शी अस्पताल सायदै अरू कुनै होला।
हस्पिटलको उपचार र सेवा सुविधा सम्पन्न भएकाले अरू अस्पतालको भन्दा आफूहरूको उपचार शुल्क केही बढी नै भएको उनले स्विकारिन्।