चौदन्डीगढीको अडियो प्रकरणमा ‘दुवै पक्ष दोषी’
उदयपुर : केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको चौदन्डिगढी नगरपालिकाको कर्मचारी नियुक्ति प्रक्रियासम्बन्धी अडियो प्रकरणमा छानविन समितिले दुवैतर्फ दोषी ठहर्याएको छ।
करार कर्मचारी नियुक्तिमा लेनदेनको चलखेलको विषयलाई लिएर गत चैत २९ गते रेकर्ड गरिएको अडियो सार्वजनिक भएपछि गठित छानबिन समितिले १० दिन लगाएर प्रतिवेदन तयार गरेको थियो। अडियो सार्वजानिक भएलगत्तै मेयर कालुमान लामाले कर्मचारी देवप्रकाश राईलाई निलम्वन गरी वैशाख ३ गते वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउतको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका थिए।
समितिले अडियोमा संवाद गरेका आरोपित राई पीडित पक्ष भनिएका कुन्दन मेहता र गुडीकुमारी मण्डलसँग प्रत्यक्ष भेटमा र टेलिफोन सम्र्पकबाट प्रतिवेदन तयार गरेको जनाएको छ। तयार पारिएको प्रतिवेदन समितिले बुधबार मेयर लामालाई बुझाएको छ।
समितिले बुझाएको प्रतिवेदन बिहीबार मेयर लामाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेका छन्। आठ पृष्ठ लामो प्रतिवेदनमा कर्मचारी नियुक्तिमा पैसा माग्नु राईको कमजोरी भएकाले आगामी दिनमासमेत अयोग्य रहने गरी सेवाबाट हटाउन सुझाव दिएको छ।
त्यसैगरी नगर कर्मचारी नियुक्तिमा आवेदन दिएका व्यक्ति गुडीकुमारीका आफन्त कुन्दनले सुरुदेखि नै कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेर नियुक्ति लिने प्रयास गरेको प्रतिवेदनले देखाएको छ। गुडीको जागिरका लागि कुन्दन आफैं आवेदन दिन नगरपालिकाको प्रशासन कक्षमा पुगेर कर्मचारीलाई कुनै लेनदेन वा भनसुनमा जागिर हुन्छ कि भन्ने प्रस्ताव राखेको प्रतिवेदनले औंल्याएको छ।
जवाफमा नगरपालिकामा कुनै लेनदेन, भनसुनले जागिर नहुने, खुला प्रतिस्पर्धा र योग्यता क्षमताका आधारमा मात्र जागिर हुने भनेपछि कुन्दनले फसाउने योजना बनाएको प्रतिवेदनले देखाएको छ। कर्मचारीले दिएको जुन जवाफ कुन्दन आफैंले स्वीकार गरेको समितिका संयोजक राउतले बताए।
आवेदन दिएलगत्तै कर्मचारी देवप्रकाशलाई प्रलोभनमा पारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको बताइएको छ। कुन्दनले अख्तियारको निर्देशन अनुसार आफूले अडियो रेकर्ड गरेको र पछि नगरपालिकाले आफ्नो बहिनी गुडीलाई फेल गरेको प्रतिसोधमा अडियो सार्वजनिक गरिदिएको प्रतिवेदनमा उल्लेख छ।
कुन्दनले अख्तियारको टोलीसहित आफू राईलाई पक्राउन जान खोजेको तर राईले बहिनीले दर्खास्त दिएको कोटा फुल भएकाले अब जागिर नहुने बताएपछि अख्तियारको टोली कोसी पुलबाट फर्किएको समितिलाई बयान दिएका छन्।
प्रतिवेदनमा अडियो बारे गुडीकुमारीले केही जानकारी नभएको बताइएको छ। प्रतिवेदनमा आरोपीत राईले भनेका छन्, ‘पहिला कुनै गलत नियत नराखेको, पैसाको लेनदेनसमेत नगरेको तर धेरैपटक पैसा लिन आग्रह गर्दै फोन आएपछि आफूले स्वीकार गरेको हो।’
संयोजक राउतले भने, ‘दुवै तर्फबाट आर्थिक प्रभावमा पार्ने कोसिस भएको देखिएको छ, जुन कुराले नगरपालिकाको सार्वजनिक सेवाप्रवाहलाई सुशासनयुक्त कायम राख्न सक्दैन।’ ‘कुन्दनले नगरमै पुगेर प्रशासनमासमेत आर्थिक लेनदेन हुने नहुने जिज्ञासा राखेकोले उनको नियतसमेत गलत भएको र राईले पनि प्रलोभनमा परेर गलतमनशायले आर्थिक लेनदेनको प्रयास गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।
त्यसैगरी, कर्मचारी र जनप्रतिनिधिहरूको आचारसंहिता सम्बन्धी कानुन बनाएर लागू गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ। साथै, अडियो सार्वजनिक भए लगत्तै राईलाई सेवाबाट बर्खास्त गर्ने नगरपालिकाको निर्णयलाई स्वागत योग्य निर्णय भएको प्रतिवेदनले औंल्याएको छ।