कोशी प्रदेशका चार पालिकामा अझै सडक पहुँच बाहिर
सोलुखुम्बु : कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लाका चारवटा गाउँपालिका केन्द्र सडक सञ्जालको पहुँच बाहिर रहेका छन्।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा संखुवासभाको भोटखोला र सिलिचोड गाउँपालिका केन्द्रमा हालसम्म सडक पुग्न नसकेको हो।
जसका कारण तीन पालिकाका बासिन्दा अझै खच्चड र भरियाले बोकेका सामग्रीमा निर्भर छन्। १० स्थानीय तह रहेको संखुवासभाका बाँकी आठ पालिकामा सडक पुगेको छ।
आठ स्थानीय तह रहेको सोलुखुम्बुको खुम्बु बाहेक सात पालिका केन्द्रमा सडक पुगेको छ। कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी भोटखोला गाउँपालिका हुँदै तिब्बत जोड्ने १ सय ६२ किलोमिटर सडकमध्ये १० किलोमिटर अझै खन्न बाँकी नै छ।
खाँदबारी र सिलिचोड जोड्ने छब्बिसेमा पुल नबन्दा सिलिचोड गाउँपालिकामा सडक पुग्न नसकेको हो। जसका कारण खाद्यान्न ढुवानीमा भरिया तथा खच्चडकै भर परिरहेको भोटखोलाका पासाङ खम्बा भोटे बताउँछन्।
झापाको केचनाकवलदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडक मेची राजमार्ग हो। तर पाथीभरा याङवरक, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका छुने यो सडक अहिलेसम्म ओलाङचुङगोलासम्म पुगेको छैन।
सोलुखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा सडकको पहुँच नपुग्दा दैनिक उपभोग्य वस्तु निकै महंगो हुने गरेको होटल व्यवसायी ल्हाक्पा दिकी शेर्पाको भनाइ छ।
यी पालिकाहरूमा कि हवाईमार्गबाट ढुवानी गर्नु पर्छ नभए भरिया र खच्चडको भर पर्नुपरेको छ। कोशी प्रदेश सरकारले सडक सञ्जाल नपुगेका यी स्थानीय तहमा नयाँ योजना ल्याएर सडक जोड्ने तयारी गरेको कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाईंले बताए।
सरकारको हरेक स्थानीय तहमा सडक सञ्जाल पुर्याउने योजना पूरा नहुँदा स्थानीयले नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्री महंगोमा किन्नु परिरहेको छ।