वडासचिवको कार्यकक्षमा तालाबन्दी भएपछि कामकाज ठप्प
महोत्तरी : वडासचिवको कार्यकक्षमा तालाबन्दी गरेपछि महोत्तरी सोनमा गाउँपालिका-६ मगरथानामा महिनौदिनदेखि सेवाग्राहीको कामकाज अवरुद्ध भएको छ।
वडासचिव नागेन्द्रप्रसाद चौधरीले एक जना सेवाग्राहीसँग कमिसनको भरमा कार्यसम्पादन गरेको भन्दै स्थानीयले तालाबन्दी गर्दा चैत महिनादेखि कार्यालयको कामकाज प्रभावित भएको हो।
मृत्यु भइसकेको एक वृद्धाको सामाजिक सुरक्षा भत्तावापत पाउने रकम बैंकबाट झिकिएको वडा सचिव चौधरीमाथि आरोप रहेको छ। स्थानीयहरूले सोही निहुँमा चैतको पहिलो हप्ता सचिवको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
स्थानीय रामस्नेही साहले दिएको जानकारी अनुसार स्थानीय पृतमलाल महराले वडा सचिवसँगको मिलिमतोमा आफ्नी मृत आमाको नामबाट समाजिक सुरक्षा भता निकालिएको रहेछ।
साहले अगाडि भने, ‘वडा सचिवले कागजी प्रक्रिया पुर्याएर बैंकबाट सो रकम निकालिएछ। पछि पैसा बाँडफाँडका क्रममा विवाद हुँदा सो रहस्य बाहिर आएको हो।
उनीहरूवीच एक त्रैमासिक वापत पाउने कुल १२ हजार रकममध्ये ६ हजार अर्थात आधा रकम आफूले लिने र आधा रकम वडासचिवलाई दिने मौखिक रूपमा सम्झौता भएको छ। सो रहस्य बाहिरिएपछि स्थानीयले वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।’
कार्यकक्षमा तालाबन्दीपछि वडा कार्यालयबाट हुने पञ्जिकरण अन्तर्गतका सम्पूर्ण कामकाज, विभिन्न किसिमको सिफारिस, वडाको योजनाको कामकाज पूर्ण रूपमा प्रभावित भएको स्थानीय हरिनन्द वैठाले बताए।
वैठाले भने, ‘वडासचिवकै कारण नातीको जन्मदर्ता बनाउन सकिएन्। आफुसँग हरेक प्रमाण छ, तर वडा सचिवले सिफारिस नगरेकै कारण नातीलाई जन्मदर्ता बनाउन सकिएन। जन्मेको ३५ दिनभित्र बच्चाहरूलाई अनिवार्य रूपमा वडा कार्यालयमा गई जन्मदर्ता गराउनुपर्ने सूचना पाएर आफू यहाँ बारम्बार आएको छु। तर अझ पनि काम हुन सकेन।’
तीन जनाको समूहले कार्यकक्षमा तालाबन्दीकै कारण सो वडाबाट प्रवाह हुने हरेक कामकाज अवरुद्ध भएको वडा सदस्य सत्यनारायण रायले बताए।
सो विवादबारे अझ गाउँपालिकाको कार्यालयमा कुनै किसिमको लिखित जानकारी नआएको गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादवले बताए। अध्यक्ष यादवले भने, ‘गाउँवासी भएकाले अनौपचारिक जानकारी पाएको छु। वास्तविकता बुझेर विवाद मिलाउने प्रयास पनि गर्यौं तर प्रयास असफल भएको छ। कुनैतर्फबाट विवादको सम्बन्धमा गाउँपालिकाको कार्यालयमा लिखित रूपमा जानकारी आएको छैन। जसले गर्दा कानुनी तवरले समस्या समाधानका लागि पहल हुन नसकेको हो।'