सडक दुर्घटना न्यूनीकरण गर्न इन्जुरी अनुसन्धान केन्द्र
काठमाडौं : नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्थापना भएको छ।
नेपालमा सडक दुर्घटनाको रोकथाम गर्नका लागि सहायक हुने गरी यो परियोजना सुरु भएको हो। यस योजना अन्तर्गत अनुसन्धान तथा नीतिगत छलफल सञ्चालन हुनेछ।
बेलायतको नेशनल इन्ष्टिच्यूट फर हेल्थ एण्ड केयर रिसर्च सेन्टर, युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टल र नेपालको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, मातृशिशु अनुसन्धान कृयाकलाप (मीरा ) संस्था र सुरक्षित र दिगो यात्रा नेपालसँगको साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ। यो परियोजना नोभेम्बर २०२२ देखि अक्टोबर २०२६ सम्म चल्नेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले परियोजनाको उद्घाटन गरे। नेपालले सामना गरिरहेको सडक सुरक्षा चुनौतीको वर्णन गर्दै मन्त्री ज्वालाले यस नयाँ कार्यक्रमको विकास गर्न गरिएका अनुसन्धानको चर्चा गरे।
उनले सडक सुरक्षा अनुसन्धानको महत्वलाई पुष्टि गर्दै यस किसिमका अनुसन्धानका नतिजा सरकारलाई नेपाल सरकारलाई पनि जानकारी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
योगेश भट्टराईले सडक सुरक्षा र सुरक्षित आवागमन साझा एजेन्डा भएकाले यसको प्रवर्द्धनका लागि पक्षपोषण र सहकार्यका साथै अनुसन्धानात्मक कृयाकलापहरू अत्यावस्यक भएको बताए।
यसका साथै उनले संयुक्त राष्ट्र संघले अघि सारेको सडक सुरक्षाका लागि दशकको विश्वव्यापी कार्ययोजना सफल कार्यान्वयनका लागि उपस्थित सबैको प्रतिवद्धताका जरुरी भएकोमा जोड दिए।
परियोजनाले नीतिहरू र अभ्यासहरू बीचको ’अन्तर’ पहिचान, र स्थानीय तह र प्रादेशिक सरकारको लागि तयार पारिएको सडक सुरक्षा ’टुलकिट’, सुरक्षित बस यात्राको लागि अनुकूल नीतिगत सिफारिसहरू, सडक दुर्घटनाका कारणबाट घाइतेको परिवारहरूमा पर्ने आर्थिक भारको अनुमान र एम्बुलेन्सका कर्मचारीबाट सडक दुर्घटनाका घाइतेलाई अस्पतालको सेवाका लागि हस्तान्तरण गर्ने हेरचाहको मानक मार्गचित्र लगायतका विषयमा अनुसन्धान गर्नेछ।