घुम्नै पर्ने त्रियुगा शान्तिधाम
उदयपुर : सकारात्मक सोच, चिन्तन र इच्छाशक्ति भए गर्दा के हुँदैन ! तर त्यसका लागि व्यक्तिको तनमन सफा हुन जरुर छ। यही सोच र इच्छाशक्तिकै कारण फोहोरको डम्पिङ साइटले भरिएको उदयपुरको सदरमुकामस्थित त्रियुगा नदीकिनार अहिले हराभरा छ। अझ धार्मिक आस्था र पर्यटकीय गन्तव्यको केन्द्र बन्न पुगेको छ।
आर्यघाट क्षेत्र भएकाले दिनहँु मलामी जानेको भिडभाड नै हुन्छ। तर, मलामी गएकाहरू फोहोरको गन्धले नाक नथुन्ने कमै हुन्थे। त्यस्तो क्षेत्रलाई नगरपालिकाले सबै धर्मको आस्थाको केन्द्र (वहुधार्मिक स्थल) र पर्यटकीय क्षेत्रका रूपमा विकास गरी करिब चार बिगाहा जग्गा त्रियुगा शान्तिधामको नाममा उपलब्ध गराएसँगै चमत्कारीपूर्ण परिवर्तन आएको हो। नदी उकासको उक्त ठाउँ ६ वर्षअघिसम्म सेताम्य बगर र चिहानघारीे थियो। शान्तिधाम व्यवस्थापन समितिका अध्यक्ष पण्डित गिरिराज खतिवडा र डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहको अगुवाईमा बहुधार्मिक शान्तिधाम निर्माण भएपछि सुन्दर र हराभरा भएको हो।
शान्तिधाम परिसरमा विभिन्न जातका रुखविरुवा रोप्न, पोखरी निर्माण, बुद्ध मूर्ति र शिवलिंग प्रतिस्थापन गरिएपछि आकर्षक र धार्मिक गन्तव्य बन्दै गएको परिकल्पनाकार तथा अभियन्ता जागेश्वर साहले बताए। ‘सुरुमा खाली हात शान्तिधाम निर्माण गर्न सुरु गरेका थियौं, उजाड जमिनबाहेक केही थिएन’, सुरुवाती कठिनाई सम्झदै खतिवडा भन्छन्। साहले आत्मशान्तिका लागि शान्तिधाममा खट्दै आएको बताए। शान्तिधामभित्र बालबालिकालाई भुल्याउन बाल उद्यानअन्तर्गत पिङहरू जडान, युवायुवतीलाई लक्षित गरी पानको पातमा फोटो खिच्ने ठाउँ निर्माण र वृद्धवृद्धाका लागि भक्तिकुसुम, धार्मिक यात्रा, शान्तिकुण्ड पोखरी, बुद्धको प्रतिमा, त्रियुगेश्वर शिवलिंगी मन्दिरका संरचना निर्माण गरिएको छ। पछिल्लो समय यहाँ बाह्य पर्यटकसमेत आउने गरेका छन्।
पर्यटकलाई मात्र लक्षित नगरी सबै धर्म, संस्कृतिको जगेर्णा गर्ने गरी सबैखाले मठमन्दिर निर्माण गर्न सुरु गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको जग्गामा शान्तिधामले गुरुयोजना निर्माण गरी संरचना तयार गर्न सुरु गरेको अध्यक्ष खतिवडाले बताए। उनले भने, ‘विद्युतीय माध्यमबाट शवदाह, गुरुकुल शिक्षा, धर्मशाला, पुराणजस्ता कार्य गर्ने गरी संरचना तयार गर्ने लक्ष्य छ।’
२०७४ सालबाट सुरु भएको शान्तिधाममा हालसम्म विभिन्न क्षेत्रबाट गरी तीन करोडबढी लगानी भएको साहको भनाइ छ। झन्डै ६० करोडको डीपीआर बनेको शान्तिधामभित्र सबै देवताको ११ वटा मन्दिर रहने गरी (मोक्षधाम), बृहत् क्रियापुत्री घर, गौशाला, पर्यटन आधारका लागि पोखरीको विकास, सप्तऋषि मन्दिर र संग्रहालय, निमपार्क आश्रम, कार्यालय भवनजस्ता कार्य निर्माण गर्न बाँकी छ।
शान्तिधाम व्यवस्थापन समितिले सनातन धर्मलाई जीवन्त राख्न संस्कृत शिक्षामा ४० विद्यार्थीलाई आवाससहित पठनपाठन गराउँदै आएको छ।