दुर्गम ६ गाउँ जोड्न सडक निर्माण धमाधम

दुर्गम ६ गाउँ जोड्न सडक निर्माण धमाधम
मुस्ताङको थासाङ गाउँपालिकाको ६ वटा गाउँ जोड्ने निर्माण भइरहेको रणनीतिक महत्त्वको सडक । सौजन्य : प्रभात तिवारी।
सुन्नुहोस्

संघीय निर्वाचन क्षेत्रअन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको सडकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले थासाङको ६ वटा गाउँ जोड्ने सडकको स्तरोन्नति सुरु गरेको हो।

जोमसोम : कालीगण्डकी पूर्वमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत ६ वटा गाउँहरू जोड्ने सडक स्तरोन्नतिको काम धमाधम सुरु भइरहेको छ। संघीय निर्वाचन क्षेत्रअन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको सडकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले थासाङको ६ वटा गाउँ जोड्ने सडकको स्तरोन्नति सुरु गरेको हो।

यो रणनीतिक महत्त्वको सडकका लागि यसअघि भौतिक योजना तथा यातायात मन्त्रालयले २०७७-०७८ मा कार्यक्रम स्वीकृत गरी ६० लाख बजेट विनियोजन गरिएको थियो। मुस्ताङको थासाङ-३ लेतेको बेनी-जोमसोम मुख्य राजमार्ग सडकबाट छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाटी र सौरु जोड्ने १० किमि सडक स्तरोन्नति तथा डीबीएसडी कालोपत्रेको काम अघि बढाइएको हो। सडक स्तरोन्नतिसँगै थासाङको वडा ३, ४, ५ र २ सडक सञ्जालले जोडिने छन्।

थासाङमा शदियौंदेखि सडक नहुँदा ओझेलमा परेको ६ वटा गाउँहरू जोड्ने सडकका लागि तत्कालीन संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको सडकका लागि पहल गरेका थिए।

सडकको २०७८ सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो। तर, डीपीआर बने पनि ठेक्का सम्झौता ढिलो भएको हो। सो सडकको १२ किमि सडक स्तरोन्नति भनिए पनि हाल लेतेदेखि कोखेठाँटीसम्म १० किमि सडकको मात्र ठेक्का सम्झौता भएको बताइएको छ।

थासाङको ६ गाउँ जोड्ने रणनीतिक महत्त्वको संघीय योजनाका लागि ६० करोड लागत रहे पनि ३८ करोड ८८ लाख ६१ हजारमा सम्झौता भएको हो। महालक्ष्मी हिमाली जेभी काठमाडौं र डिभिजन सडक कार्यालय बागलुङबीच २०७९ पुस ७ गते सडकको ठेक्का सम्झौता भएको र २०८२ पुस ६ गते अर्थात् तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय बाग्लुङका इन्जिनियर प्रभात तिवारीले जानकारी दिए। उनका अनुसार थासाङको ६ गाउँ जोड्ने रणनीतिक महत्त्वको सडकको ७ मिटर चौडा कालोपत्रे, ५० सेमी सोल्जर र एक मिटर ड्रेन निर्माण गरिनेछ।

गत पुसदेखि सडक स्तरोन्नति सुरु गरिएको थासाङको ६ गाउँ जोड्ने रणनीतिक महत्त्वको सडकको ४ महिनामा २० प्रतिशत भौतिक प्रगति भएको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर तिवारीले बताए। उनले सडकमा ७ मिटर चौडा डीबीएसडी कालोपत्रे गरिने जनाए। अहिले थासाङको टिटी र कुञ्जो क्षेत्रमा धमाधम काम भइरहेको उनले उल्लेख गरे। थासाङ गाउँपालिकाको ३, ४ ५ र २ वडा जोड्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीयलाई निकै सास्ती हुने गरेको गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले जानकारी दिए। उनले रणनीतिक महत्त्वको सडक सम्पन्न भए र कालीगण्डकी नदीमा निर्माणाधीन लेते-छयो र लेते-धम्पु सडक पुल सम्पन्न भएमा त्यस क्षेत्रका स्थानीयलाई ठूलो राहत पुग्ने उपाध्यक्ष हिराचनको भनाइ छ।

वर्षौंदेखि कालीगण्डकी नदीको पीडा भोग्दै आइरहेका त्यस क्षेत्रका बासिन्दा चाँडै सडक र पुल निर्माण सम्पन्न हुनेमा आशावादी छन्। उनीहरूले विभिन्न बहानामा विकासको काम अवरुद्ध हुन नहुने बताएका छन्। तत्कालीन संघीय सांसद प्रेमप्रसाद तुलाचनले थासाङको कालीगण्डकी पूर्वको कालोपत्रे सडक निर्माणपछि छयो, कुञ्जो, ताक्लुङ, टिटी, सिर्खुङलगायतका स्थानीय लाभान्वित हुने सांसद बताए। सो क्षेत्रका गाउँमा पक्की पुल र सडकको पहुँच नहुँदा निकै समस्यामा परेका स्थानीयको कृषि उपज सामग्री केही वर्षपछि सहज ढुवानी र बजारीकरणमा समेत सहयोग पुग्ने सांसद तुलाचनको भनाइ छ।

थासाङको ६ गाउँ जोड्ने सडक नहुँदा त्यस क्षेत्रका कृषकहरूले उत्पादन गर्ने कृषि उपज सामग्रीको बजारीकरण गर्न सम्भव नहुँदा व्यावसायिक लाभ लिन सकेका छैनन्। सडक र पुल एकैसाथ सम्पन्न भएमा त्यस क्षेत्रको कृषि उत्पादनको सहज बजारीकरण गर्न सकिनेछ। 

यसैगरी सडक निर्माण पूरा भएमा एक गाउँबाट अर्को गाउँमा आउँजाउँ गर्न र कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा जानसमेत सजिलो हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.