हिउँदको एक बिहान
उनैको सम्झनाको कुहिरोले छोयो मलाई
दृष्टिविहीनले लौरो त्यागेझैं त्यागेकी थिइन्
मेरो मुटुको दुःख वरिपरि
घातको कोलेस्ट्रोलले घेरिएझैं
बाफिएको जमिनको छाती वरिपरि
कुहिरोको समुद्र थियो
सायद म
आफ्नै छातीको चुल्हो बालिरहेको थिएँ
मुटु उम्लिएर
मुखको बिर्को उघार्दै निस्किरहेको थियो बाफ
उज्यालो छेक्न
घरको झ्यालमा झुन्डिरहने पर्दा हटाउँदै
देखा परिन् उनी मेरो घरसामुन्ने बार्दलीमा
उनलाई घामले अँगालिरहेको देखें
भर्खरै थाहा पाएँ
उनी मेरो सुकुम्बासी एक्लोपनलाई छोडेर
मेरै शरणार्थी बस्तीको
महलमा सजिन आएकी थिइन्
पीडाको शीत लहरले घेरिएर
घामले नदेखेको मलाई उनले देखिन्
एकैछिनमा उनको मेसिज आयो–
‘कहिलेदेखि चुरोटको लत बसालेको ?’
जवाफमा लेखें– ‘मुटु जलाएर जाने तिमी
अनि, धुवाँ पनि ननिस्कियोस् भन्ने अपेक्षा ?’
तर, जवाफ पठाइनँ !
मेरो मौनताले
पोलोस् उनको पनि मुटु
र, आफैं थाहा पाऊन्–
‘जलेको मुटुबाट के निस्कन्छ !?’