पर्वतीय समुदायको हिमालदृष्टि
पर्वत भन्नु, शेर्पाहरूका लागि देवी वा आमाको स्वरूप हो। हिमालको आरोहण गर्नु, उनीहरूका लागि प्रकृतिबाट वा आमाबाट अमृत वा दूध ग्रहण गर्नु जस्तै हो।
मान्छे खतरापूर्ण अथवा वर्जित भनिएको भूगोलमा प्रवेश गर्दा रमाउँछ। साहसिक खेल अथवा पर्यटन यी दुवैको सम्बन्ध मन्छेको यसै चाहनासँग छ। जोखिम मोल्नु र मज्जा लिनु, यो मान्छेको पुरानो खेल हो। खतरासँग खेल्न चाहनु संसारको महँगो पर्यटन उद्योगको एउटा आधार हो। हिमाल चढ्नु, हिउँमा खेल्नु, समुद्रमा जलविहार गर्नु, जंगल सफारी गर्नु, सर्प समाउनु, मगरमाछासँग खेल्नु केही उदाहरणमात्र हुन्। जमिरहने उत्तरी वा दक्षिणी ध्रुवको यात्रादेखि चन्द्रमाको यात्रासम्म गर्यो मान्छेले। मानव सभ्यताको उदयदेखि नै अभेद्यको भेदन गर्ने प्रयास मान्छेले गरिरहेको देखिन्छ। यस्तोमा हिमाल आरोहण मान्छेका पुराना जोखिम र मनोरञ्जनमध्येको एक हो।
मान्छे यस्ता जोखिम किन मोल्न खोज्छ ? त्यसका दुइटा दर्शन छन्। थोरैजसो अवस्थामा मान्छे जीवन धान्न यस्ता जोखिम उठाउँछ। सपेराले सर्पसँग खेल्नु, गरिबले हिमालमा यार्चागुम्बा टिप्नु, भरियाले पहाडमा भारी बोक्नु यी बाध्यता हुन्। यस्तो जोखिमबाट उनीहरू परिवार पाल्छन्। अर्काथरी ती हुन्, जो दिग्विजयको ग्रन्थीबाट सञ्चालित हुन्छन्। भन्नुको तात्पर्य के भने, प्रकृतिको दुर्गमता वा अप्ठ्यारो मान्छेको अहम्का लागि चुनौती हो। मान्छे त्यो चुनौतीलाई परास्त गर्न चाहन्छ र आफ्नो पुरुषार्थ सिद्ध गर्न चाहन्छ। दुष्कर भनिएको हिमालको टुप्पोमा पुगेर मान्छे भन्न चाहन्थे– इः मैले गरेर देखाएँ नि ! म बलवान् छु। म सक्छु। यो पछिल्लो दृष्टि पूर्णतः भोगवादी दृष्टि हो। अझ भनौं, यो बढी पुरुषवादी छ। यसले प्रकृतिलाई घात गर्न पनि सक्छ। फाइदा त पटक्कै गर्दैन।
यी दुवै दृष्टि बोकेका समुदाय हामी भेट्टाउन सक्छौं। पहिलो दृष्टि रह्यो– प्रकृतिलाई जीवनको स्रोत मान्नेहरूको। परम्परागत रूपमै दुर्गम भूगोलमा बस्ने मानिस जीवनको स्रोत खोज्न त्यहाँ प्रवेश गर्छन्। अथवा भनौं, परिवार पाल्न पैसा कमाउन त्यसो गर्छन्। उदाहरणका लागि कुनै माझी पुरुषले नदीमा प्रवेश गर्नु, सपेराले झाडी खँगाल्नु अथवा चिडीमारले जोखिम मोलेर जंगलमा पस्नु अहम्को सन्धनसँग सम्बन्धित कुरा होइनन्। हिमाल आरोहण पनि यस्तै एउटा कार्य हो, जसमा दुवै दृष्टिकोण भेटिन्छन्।
सर्सर्ती हेर्दा के देखिन्छ भने हिमालकै बासिन्दा हिमालमा सामथ्र्य देखाउन चढ्दैनन्। अथवा मजा लिन चढ्दैनन्। आरोहणसँग उनको अहंको कुनै सम्बन्ध छैन। तर जब मान्छे बाहिरबाट आउँछ र हिमाल चढ्छ, ऊ आफ्नो रहर मेटाउन चढ्न। बल वा सामथ्र्य सिद्ध गर्न चढ्छ। पुरुषत्वको प्रदर्शन गर्न चढ्छ। एकचोटि आउँछ, चढ्छ। खेल सकियो। तर हिमालको बासिन्दा बाल्यकालदेखि नै चढ्छ, र सक्दासम्म चढिरहन्छ। यो उसको जीवनवृत्ति हो।
बाहिरबाट आउनेका लागि पहाडको उचाइ र बाटोको जोखिम उसको अहंका लागि चुनौती हो। जसलाई परास्त गर्न ऊ हिमाल चढ्छ। बेलायती आरोही जर्ज मेलोरीले आफू किन सगरमाथा आरोहण गर्न चाहिरहेका छन् भन्ने प्रश्नमा भनेका थिए, ‘किनकि, हिमाल छ नि त त्यहाँ।’ यानि, मलाई चुनौती दिइरहेको छ नि त। पछि, सन् १९२३ मा ‘द न्युयोर्क टाइम्स’लाई दिइएको अन्तर्वातामा उनले भने– ‘सगरमाथा विश्वको सबैभन्दा अग्लो चुचुरो हो र आजसम्म कुनै मान्छे त्यहाँ पुगेको छैन। त्यसको उपस्थिति मेरो लागि एउटा चुनौती हो।’
हिमाली क्षेत्रभन्दा बाहिरका आरोहीले लेखेका साहित्य पढ्दा यस्तै यस्तै भोगवादी र दमनकारी भाव प्रस्ट रूपमा देखिन्छ। पढ्न यस्ता साहित्यको चाङ छ, हाम्रा अगाडि। हिमाल आरोहणका अनुभव धेरैले लेखे होलान्, तर चर्चामा गएका केही छन्– एडमण्ड हिलारी, जोन क्रकौर, मार्क सिन्नेट, एड कैसर, सारोन वुड, निक हिल, एनातोली बौक्रिभ आदिका संस्मरण। यीमध्ये धेरैजसो लेखकको यात्रा, हिमालमाथिको विजय पाउनुको भावनाबाट निर्देशित भएको पुस्तकको अध्ययन गर्दा थाहा हुन्छ।
अर्कातिर, हिमाली क्षेत्रकै बासिन्दाले पनि आरोहणका कथा लेखेका छन्। जाम्लिङ तेन्जिङ नोर्गेको संस्मरणको शीर्षकै ‘टचिङ माई फादर्स सोल’ यानि, ‘मेरा बुवाको आत्माको स्पर्श’। कतै भोगको वा दिग्विजयको भाव भेटिँदैन। लेखक शेर्पा हुन्, र जन्मैदेखि हिमालसँग जीवन साटेर बाँचेका हुन्। उनका लागि हिमाल जीवन हो। जीवनको स्रोत हो। आत्माहरूको उपल्लो घर हो। जापानीहरू पनि पहाड–पर्वतलाई देवी–देउता मान्छन्। उनका लागि आरोहण कुनै जीतको उपक्रम होइन। बरु तीर्थाटन हो। त्यसैले हुनुपर्छ, जापानी लेखक बाकुु युमेमाक्रुले हिमालसम्बन्धी पुस्तकको शीर्षकै ‘द समिट अफ त गड्स’ अर्थात् ‘देउताहरूको पर्वत’ राखे। जापानीहरू माउन्ट फुजीलाई देवस्थल नै मान्छन्। त्यस पर्वतलाई कोनोहाना साकुया हिमे नाम गरेकी देवीको धाम मान्छन्।
पछिल्ला केही दशकमा हिमाल आरोहणका लागि प्रख्यात रहेका शेर्पा आरोही पनि संस्मरणहरू लेख्न थालेका छन्। विगतमा आरोहणमा मात्रै अब्बल मानिएका उनीहरूले साहित्यमा प्रवेश गरेर यहाँ पनि आफ्नो कौशल प्रदर्शन गरिरहेका छन्। उनका संस्मरणहरूले शेर्पा र हिमालबीचको सम्बन्ध र त्यसको धार्मिक–सांस्कृतिक जग बुझ्न पाठकलाई मद्दत गरिरहेको छ। लाक्पा फुटी शेर्पा, सेर्कु शेर्पा र पासाङ शेर्पा यस्ता केही लेखक हुन्, जसको नाम स्मरणीय छ। हिमाली भेगमा बस्ने र आरोहणमै समर्पित धादिङको उपल्लो भेगका गुरुङहरूको अन्तरकथा भने सुनारबहादुर गुरुङको संस्मरण ‘हिमालको गोठालो’मा पढ्न पाइन्छ।
शेर्पा हुन् वा उपल्लो हिमाली भेगका बासिन्दा, यी हिमाली समुदाय किन हिमाल चढ्छन् ? उनले हिमाल हेर्ने दृष्टि के हो ? त्यो केबाट निर्देशित छ ? यो अध्ययनको सुन्दर विषय हुन सक्छ। वास्तवमा यी समुदायले जीवनलाई हेर्न दृष्टिकोण नै हिमालको सापेक्षतामा बनेको हुन्छ। यी समुदायको लेख्य वा कथ्य साहित्यमा त्यसका प्रस्ट प्रमाणहरू भेट्न सकिन्छ। यिनका धार्मिक विश्वास र देवीदेउताको निर्मिति, करिब करिब हिमालकै सापेक्षतामा उभिएको पाइन्छ। यो कुरा भने हिमाल बाहिरबाट आएर हिमाल चढ्ने आरोहीको दृष्टिभन्दा बिल्कुलै भिन्न हो। बाहिरियाहरू उपभोक्ता बनेर आउँछन्। तर हिमालीहरू हिमाललाई जीवनको श्रोतका रूपमा हेर्छन्, र यो दृष्टि न भोगवादी हो, न मानवकेन्द्री हो। उनीहरूका लेख्य तथा कथ्य साहित्यको अध्ययनबाट के बुझिन्छ भने शेर्पाहरू हिमाललाई देवी वा देउता मान्छन्।
सगरमाथाका लागि शेर्पाहरूले दिएको नाम नै ‘क्ष्योमोलाङ्मा’ हो। यसको अर्थ देवीको घर हो। शेर्पाहरू मूलतः पाँच देवीमा विश्वास गर्छन्– टाशी छिरिङमा, थिङकी स्यल्सङमा, चोपेन डिसाङमा, तकर डोसाङमा र क्ष्योमो मियो लाङसाङमा, जसलाई पाँच उच्च पर्वतहरूले प्रतिनिधित्व गर्छन्। यिनमा क्ष्योमो मियो लाङसाङमा चैं सगरमाथामा निवास गर्ने देवी मानिन्छिन्। सेर्कु शेर्पाले ‘शेर्पा समुदायको मौलिक पहिचन’सम्बन्धी अध्ययनमा भनेका छन्– शेर्पाहरू देवीको आराधनाका लागि ‘काङ्सो पूजा’ गर्ने गर्छन्। यसो गर्दा देवीहरूले उनीहरूलाई आशीर्वाद दिने उनीहरूको विश्वास छ। यी देवीहरूमा सबैभन्दा कान्छी, यानि क्ष्योमो मियो लाङसाङमाले अनाज दिन्छिन् भन्ने विश्वास छ। यिनै देवीको निवासलाई अनेक नाम हुँदै अन्ततोगत्वा ‘क्ष्योमोलाङमा’ भनिएको हो। परापूर्व कालदेखि नै शेर्पाहरू पर्वतलाई देवीको बासस्थान मानेर पूजा गर्दै आएका छन्।
यसरी हेर्दा पर्वत भन्नु, शेर्पाहरूका लागि देवी वा आमाको स्वरूप हो। हिमालको आरोहण गर्नु, उनीहरूका लागि प्रकृतिबाट वा आमाबाट अमृत वा दूध ग्रहण गर्नु जस्तै हो। प्रश्न उठ्ला, हिमाललाई आमा वा देवी मान्ने शेर्पाहरू फेरि किन हिमालमाथि चढ्छन् ? किन आमा वा देवीको शरीर टेक्छन् ? किन शिर टेक्छन् ? यसो गर्दा पाप लाग्दैन ? शेर्पाहरूका आफ्नै उत्तर छन्। हरेकचोटि हिमाल आरोहण गर्दा उनीहरू हिमाललाई ढोगेर चढ्छन्। यसो गरिरहँदा उनीहरू आरोहणको अपराध माफ गरिदिन अनुरोध गर्छन्। आफ्नो आरोहण कुनै अपराधका लागि नभएर जीवन धान्ने हेतुले गरिएको उनको विश्वास रहन्छ।
आरोहण सकिएपछि उनीहरू पुनः अर्चना गर्छन् र प्रयाश्चित्त गर्छन्। त्यसको छुट्टै विधान छ। यसको अर्थ, हिमालमाथि कुनै घात होस्, घाउचोट लागोस्, फोहोर–मैलो होस् अथवा उसको पराजय होस् भन्ने कुरा शेर्पाको विश्वदृष्टिमै छैन। यसबाट के भन्न सकिन्छ भने कुनै पनि भूगोलका मूल वासिन्दाहरूले त्यस भूगोलको प्रकृतिलाई जानी जानी घात गर्दैनन्। प्रकृतिप्रति उनीहरूको पूरापूर भोगवादी दिृष्टिकोण हुँदैन। यसको अर्थ, कुनै भूगोलको प्रकृतिको रक्षाका लागि बाहिरियाभन्दा रैथानेहरू नै बढी सजग र संवेदनशील हुन्छन्। यस कुरालाई वातावरणको अध्ययनसँग जोडेर हेर्न पनि सकिन्छ।
यो कुरा अन्यत्र पनि लागू हुन्छ। मरिससमा डोडो नाम गरेको अचम्मको चरो पाइन्थ्यो रे। त्यहाँ रैथानेहरू मात्रै रहँदासम्म चराको ठूलै जनसंख्या थियो रे। तर जब युरोपेलीहरूले मरिसस प्रवेश गरे, तिनले डोडोको संख्या सखाप पारे। हुँदा हुँदा आज डोडो संसारबाटै लोप हुन पुग्यो। जमाइका किन्केइडले आफ्नो एउटा लेखमा लेखेकी छन्– बेलायतीहरूले एन्टिगुवालाई आफ्नो उपनिवेश बनाएयता त्यहाँ रैथाने वनस्पति र जीवनजन्तु नै मासिए। तिनले विश्वका कुना कुनाबाट ल्याएर रुखविरुवा र जीवनजन्तु पाल्न थालेपछि एन्टिगुवाको वातावरणले आफ्नो वास्तविक स्वरूप गुमायो। यसले एन्टिगुवालाई ठूलो वातावरणीय क्षतितिर ढकेल्यो।
आज विश्वभर वातावरण संरक्षणको चर्चा चुलिँदै जाँदा यसको एउटा मानवशास्त्रीय पक्ष पनि छ, जसमा खासै ध्यान दिइएको छैन। कुनै पनि क्षेत्रको रैथाने समुदायले त्यहीँको भूगोलसँग विशेष प्रकारको आत्मीय सम्बन्ध बनाएर बसेको हुन्छ। त्यहाँका रूखबिरुवा, जीवन–जन्तु, नदी–नाला, ताल–तलैया, पहाड–पर्वत सबैसँग उनीहरूको विशेष र मित्रवत् सम्बन्ध हुन्छ। शेर्पा र हिमालको सम्बन्धमा पनि यही देखिएको छ। शेर्पाहरूले जीवनका यावत् यथार्थ हिमालकै सापेक्षतामा सिके। उनको जीवनदृष्टि हिमालले निर्माण गर्यो। त्यसैले, हिमाल र शेर्पाको आपसी सम्बन्धमा कसैलाई घात छैन। यो कुरा विभिन्न साहित्यले पनि पुष्टि गरेको कुरा हो।
यस प्रकारको दृष्टिकोणलाई स्थापित गर्ने धेरैवटा पुस्तक साहित्यको बजारमा आइसकेका छन्। यिनमा तासी तेन्जिङ तथा जुडी तेन्जिङको ‘तेन्जिङ नोर्गे तथा सगरमाथा वरिपरिका शेर्पा’, आङ थार्केको ‘शेर्पाः आङ थार्केको संस्मरण’, प्रदीप बस्याल र अंकितबाबु अधिकारीको ‘शेर्पाः सगरमाथाका बिर्सिएका अभिभावकका जीवन र मृत्युका कथा’ नामक पुस्तकहरूको अध्ययन गर्न सकिन्छ। हिमाली भूगोल र जातिबारे थप बुझ्न प्रतीक ढकालका अधिकांश नियात्राकृति सहायक हुन सक्छन्। तिनमा पनि उनको ‘आनन्दभूमिको आँगन’ले शेर्पा संस्कृतिका भित्री पाटाहरूलाई बढी मिहिन ढंगले केलाएको छ।
जब जब शेर्पा र हिमालको स्निग्ध सम्बन्धका बीचमा विदेशी आरोहीले प्रवेश गरेका छन्, हिमालको स्वरूप बिग्रन थालेको छ। यो एउटा दृष्टान्त मात्रै हो। यस कुरालाई विश्वका अन्य कुनामा पनि त्यहाँका स्थानीय बासिन्दा र त्यहाँको पर्यावरणसँग जोडेर अध्ययनको एउटा विषय बनाउनु उपयुक्त हुने देखिन्छ। प्रकृतिको संरक्षणका लागि यो नयाँ मानवशास्त्रीय उपाय हुन सक्छ।
प्रकृति साहित्य
शेर्पा हुन् वा उपल्लो हिमाली भेगका बासिन्दा, यी हिमाली समुदाय किन हिमाल चढ्छन् ? उनले हिमाल हेर्ने दृष्टि के हो ? त्यो केबाट निर्देशित छ ? यो अध्ययनको सुन्दर विषय हुन सक्छ।