रोदी समूहका नक्षत्र

सम्झना

रोदी समूहका नक्षत्र

नेपाली साहित्य र नेवारी साहित्यमा मोहनहिमांशुको निकै राम्रो दखल थियो। गैरनेवार भैकन पनि उनको त्यो खुबी उदाहरणीय र अतुलनीय थियो।

नेपाली साहित्यको इतिहासमा रोदी समूहको नाम सगर्व र सम्मानपूर्वक लिने गरिन्छ। यो समूहले तत्कालीन समयका वरिष्ठ कविहरूलाई समेत चुनौती 

दिएको थियो। त्यसरी चुनौती पाउनेहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समलगायत थिए। महाकवि देवकोटाको नेतृत्वमा काब्य प्रतिष्ठान उत्कर्षमा रहेको बेला रोदी जन्मिएको थियो। रोदीमा पाँच कविहरू संलग्न थिए, भूपि शेरचन, कुमार नेपाल, वासु शशी, कृष्णभक्त श्रेष्ठ र मोहनहिमांशु थापा।

रोदी समूहले आफ्नो संस्थाको उद्घाटन अमेरिकी पुस्तकालय नयाँ सडकमा गरेको थियो। उद्घाटनकर्ता थिइन्, त्यतिखेर पद्मकन्या क्याम्पसमा अध्ययनरत नव कवयित्री पारिजात। कुनै वरिष्ठ कविबाट उद्घाटन नगराएर पारिजातको हातबाट कार्यक्रम उद्घाटन गराउनु पनि एक प्रकारको विद्रोह नै थियो। यो अग्रज कविहरूलाई चुनौती थियो।

पारिजातको जीवनी पुस्तक ‘सुश्री पारिजात’को लेखनका लागि सामग्री संकलन गर्ने सिलसिलामा कवि कृष्णभक्त श्रेष्ठ र साहित्यकार मोहनहिमांशु थापासँग अन्तर्वार्ता गरेको थिएँ। भूपि र वासु शशी त दिवंगत भइसकेका थिए। रोदीका बाँकी दुई नक्षत्रमध्ये मोहनहिमांशु पनि अब हामीबीच रहेनन्। उनको निधन ४ फागुन २०७९ का दिन ८६ वर्षको उमेरमा भयो। उनको जन्म १९९३ मंसिर २४ गते काठमाडौंको गोकर्णमा भएको थियो।

मोहनहिमांशु प्रारम्भमा कवि थिए। उनका कविता र मुक्तकहरू नेपाली साहित्यका सुन्दर दृष्टान्त हुन्। हुन त यौटामात्र कविता संग्रह प्रकाशन भयो उनको, ‘खुकुरीमाथि एक चोक्टा बादल’। तर उनको कवि व्यक्तित्व र काव्यिक उत्कर्ष देखाउन यही संग्रह नै काफी छ। ‘म मेरो देशको छहरामा हुन्छु, म मेरो देशको पहरामा हुन्छु’ जस्ता राष्ट्रिय भावनाका कविता कालजयी छन्। सुललीत, कर्णप्रिय र हृदयस्पर्शी पनि छन्। उनले आफ्ना कवितालाई ‘अस्तित्वबोधको घोषणापत्र’ भनेका थिए।

होचा कदका मोटा किशोरका बुवाको त्यो दौरा सुरुवाल लगाउँदा म लुखुरे कस्तो अजीवको जीव देखिएँ ? भनिसाध्य छैन। अझ सुरुवालको ईंजार घरिघरि झरेर अर्को हैरानी भयो। यो सब हैरानीको प्रत्यक्षदर्शी थिए, मोहनहिमांसु थापा।

‘जीवनको काव्य–यात्रामा मैले मृत्युका पदचापहरू सुनेको छु। जीवन जन्मेकै क्षणमा मृत्यको जन्म हुन्छ। यस यात्राको क्रममा मैले एउटा आँखामा जीवन हाँसेको देखेको छु, अर्को आँखामा मृत्यु रोएको देखेको छु। जीवनका संवेदनामा मृत्युको कुनेत्रो लागेको पनि अनुभव गरेको छु। यसै परिवेशमा अस्तित्व बोधको भावना ममा तीव्र हुँदै गएको छ। यही अस्तित्व–बोधको दिशामा मेरो कविताले मृत्यु र निराशाको स्वरलाई सुसेलेको छ। मेरो दृष्टिमा, काव्यमा निराशा जीवनको हतोत्साह होइन, न जीवनको उदासीनता हो, न त आफूले भोगेको परिवेशबाट पलायनको प्रक्रिया हो।

पलायनको अन्तिम सीमा मृत्यु हो, पलायनको गन्तव्यस्थल एकमात्र आत्महत्या हो। निराशाको अर्थ पलायनद्वारा मृत्यु वा आत्महत्या हो भन्ने पक्षमा म छैन। निराशाको गहिराइमा आत्मसात् गरेर आत्महत्या गर्दिनँ र यसो गर्नमा म विश्वास पनि गर्दिनँ। मृत्यु–बोध भनेको जीवनमा हुन्छ र व्यक्तिको अस्तित्वमा हुन्छ। त्यसैले म जीवनको अस्तित्व–बोधका लागि हस्ताक्षर गर्छु र आफ्ना कविताहरूलाई अस्तित्व–बोधको घोषणा–पत्रको रूपमा लिन्छु।’ उनको काव्य धारणा थियो यो।

मोहनहिमांशुका कविता सरल, हृदयलाई स्पर्श गर्ने तथा मुक्तकहरू चोटिला हुनाले उनका रचनाको संख्या कमै भए। तर पनि तिनले नेपाली काव्य रचनाको क्षेत्रमा लामो समयसम्म प्रभाव पारिरहेको छ। भविष्यका कैयौं कालखण्डमा पनि तिनको काव्यिक क्षमताले जाज्वल्यमान भइरहने देखिन्छन्। उनको ‘साहित्य परिचय’ पुस्तक नेपाली साहित्यका विद्यार्थीका लागि अत्यन्त उपयोगी छ। यसका अनेक संस्करण प्रकाशन हुनुले नै यो स्वतः पुष्टि गर्छ।

त्रिभुवन विश्वविद्यालयका अविवादित थोरै प्राध्यापकमा उनी एक थिए। त्रिविबाट अवकाश नलिँदै उनले मुद्रण प्रेसको व्यवसायमा पनि हात हालेका थिए। घर परिवारको साथ र सहयोगले चलेको थियो प्रेस। सुरुमा टेकुमा भएको प्रेसपछि बल्खुको निवासमा पनि निरन्तर रहेको थियो। पछि बल्खुको बसाइ अन्त्य गर्दै नखिपोट ललितपुर सरेपछि प्रेसको व्यवसायबाट पनि अलगिएका थिए। उनीसँगको भेट निकै पातलिएको 
थियो मेरो। मैले पारिजात विषयमा अन्तर्वार्ता बल्खुको घरमा गरेको थिएँ।

थापासँग गहिरो सम्पर्क भएको सिर्जनशील साहित्यिक समाज अर्थात् सिसासको गतिविधि उर्बर भएको बेलामा हो। उनी सिसासका धेरै कार्यक्रममा सहभागी हुन्थे। कतिपल्ट त उनले मलाई आफ्नो स्कूटरमा विभिन्न ठाउँमा लगे र ल्याएका थिए। सिसासले एकताक काठमाडौं बाहिरका साहित्यकारलाई बोलाएर कविगोष्ठीहरू गथ्र्यो। विराटनगरका कविहरूलाई बोलाएर गरिएको कवि गोष्ठीपछि ती कविको सम्मानमा ठमेलको सञ्चयकोष भवनमाथिको कौसीमा रात्रिभोजको आयोजना गरियो। उहाँसँगको त्यो पल अविस्मरणीय छ।

पछि सिसासले राजाको धनकुटा सवारी शिविरमा कवि गोष्ठी गर्ने तयारी गरेर हामीलाई नेपाल तथा एसियाली अनुसन्धान केन्द्रको गाडी लिएर लगेको थियो, सिसासका अध्यक्ष तुलसी दिवसको नेतृत्वमा। त्यो बेला म कालिमाटीको प्रहरी कार्यालयसँगैको गल्लीको श्याम ड्राइभरको घरको छिँडीमा डेरा गरेर बस्थें। लगाउने लुगा सामान्य थिए। मेरो कोट पनि थिएन। कोट कहिल्यै लगाएको थिइनँ। दौरासुरुवाल पनि थिएन। कहिल्यै दौरासुरुवाल लगाउने काम परेको थिएन। तर राजालाई कविता सुनाउन सवारी शिविरमा जान त दौरासुरुवाल अनिवार्य थियो।

सँगै डेरामा बस्ने हेटौंडाका साथी टक्कर थापासँग कोट मागें। उनले लगाउने गरेको कटराइजको हल्का कलेजी रंगको कोट लगाउन दिने भए। टोपी र कालो छालाको पुरानो जुत्ता त मसँगै थियो। दौरासुरुवाल कहाँबाट ल्याउने ? टाउको रिंगायो। अचानक दिमागमा किशोर पहाडीको नाम आयो। उनका पिताले दौरासुरुवाल लगाएर अफिस गएको धेरैपल्ट देखेको थिएँ। किशोरले बुवासँग मागेर पक्कै देलान् भन्ने लाग्यो। बल्खुतिर लागें। उनले वुवासँग मागेर एक जोर दौरासुरुवाल थमाइदिए।

तर होचा कदका मोटा किशोरका बुवाको त्यो दौरा सुरुवाल लगाउँदा म लुखुरे कस्तो अजीवको जीव देखिएँ ? अझ सुरुवालको ईंजार घरिघरि झरेर अर्को हैरानी भयो। यो सब हैरानीको प्रत्यक्षदर्शी थिए, मोहनहिमांशु थापा। उनले वर्षौंवर्ष जहिले भेट्दा पनि धनकुटामा किशोरको बुवाको सुरुवालको तुनाले मलाई दिएको हैरानी कोट्याएर हाँस्दथे। यो उनी र मेरोबीचको आत्मीयताको यौटा चिनो थियो। मोहन जातीय हिसाबले थापा भए पनि नेवारीभाषामा पोख्त थिए र नेवारी प्राध्यापन पनि गर्थे पाटन बहुमुखी क्याम्पसमा। नेपाली साहित्य र नेवारी साहित्यमा उनको निकै राम्रो दखल थियो। गैरनेवार भैकन पनि उनको त्यो खूबी उदाहरणीय र अतुलनीय थियो।

थापाले अशेष मल्ल र देवीप्रसाद सुवेदीको साथमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘सम शतवार्षिकी स्मारिका’ (२०६० साल) तथा कृष्ण शाह यात्रीको साथमा हरिप्रसाद कल्याणी रिमाल संगीत नाट्य प्रतिष्ठानबाट प्रकाशित ‘शिखर कलाकार हरिप्रसाद रिमाल’ (२०६६) समेत सम्पादन गरेका थिए। सिर्जनशीलताको आरम्भमै २०१२ सालको शहीद दिवसमा उनी पुरस्कृत भएका थिए। त्यसैगरी, २०२३ सालमा शिक्षा मन्त्रालयबाट नगद पुरस्कारसमेत पाएका थिए। त्यसैगरी नेपाल सरकारले २०७५ सालको गोपालप्रसाद रिमाल नाटक पुरस्कार प्रदान गरेको थियो।

पछिल्लो समय बल्खुबाट नखिपोट पाटन सरेपछि उनको साहित्यिक सकृयता कम भएको थियो, उमेर र स्वास्थ्यका कारण पनि। लामो प्रयासपछि उनीसँग कोरोना महामारीपूर्व टेलिफोनमा मेरो सम्पर्क भएको थियो। उनको आत्मीयतापूर्ण बोली यथावत् थियो। भेट्न चाहेको बताएपछि नखिपोट आउनुस् र फोन गर्नुस्, भेटौं भनेका थिए। भेट्न जान फेरि फोन गर्दा कसैगरी सम्पर्क हुन सकेन। त्यसपछि कहिल्यै उनको फोन उठेन। उनीसँगको सम्वाद र सम्पर्क त्यही नै अन्तिम हुन पुग्यो। उनी प्रायः साहित्यिक जगत्बाट सम्पर्कविहीन जस्तै भए। त्यसैले होला, मृत्युको तेस्रो दिनमात्र उनको मृत्युको खबर सार्वजनिक भयो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.