इलामकी निर्मला तीन हप्तादेखि छोरासहित बेपत्ता
इलाम : इलामकी निर्मला ढकाल सुवेदी चैत्र २३ देखि पाँच वर्षीय छोरासहित बेपत्ता भएकी छिन्। उनी बेपत्ता भएपछि अहिले उनका बाबु ६७ वर्षीय नारायण ढकाल छोरीको खोजीका लागि कहिले प्रहरी त कहिले आफन्तकोमा धाइरहेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान चेतमणि सुवेदीसँग बस्दै आएकी ४० वर्षीया निर्मला(निरु) ढकाल सुवेदी पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी थिइन्। दुवै जना कोरिया बसेर फर्केका थिए। कोरियामा चिनजान भएका दुवैले नेपाल फर्केर विवाह गरेका थिए।
चैत्र २२ गते नजिकै साथीकोमा बास बसेकी उनी २३ गतेदेखि सम्पर्क छैनन्। छोरी हराएपछि तनावमा परेका नारायण काठमाडौं पुगेका हुन्।
ढकालको इलामस्थित देउमाइ नगरपालिका–६ चेतनसँग विवाह भएको थियो। माइती पक्षका अनुसार उनी केही साथीभाइ र सीमित आफन्तसँग मात्रै सम्पर्कमा थिइन्।
बाबु नारायणका अनुसार उनले दुई वर्षदेखि फोन चलाएकी थिइनन्। ढकालले भने ‘काठमाडौं, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकें, केही पत्तो लागेको छैन,’ढकालले भने,‘मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकें।’
निरुका भाइ संजिव ढकालकका अनुसार मोवाइल समेत नबोकेकी निरुले एक सरो लुगा मात्र बोकेकी छन्। उनले निरुको श्रीमान् बेपत्ताका विषयमा गम्भीर नभएको आरोप लगाएका छन्।
निरुका पतिले प्रहरी वित्त सातदेबाटो ललितपुरमा दिएको निवेदनमा चैत्र २६ देखि आफुखुशी घरबाट निस्केर बेपत्ता भएको निवेदन दिएको प्रहरी बृत्तले जनाएको छ। तर, माइती पक्षले भने उनले २२ गते ने घरबाट निस्किएर एक रात पूर्णमा भन्ने साथीकोमा बसेको दावी गरेको छ। पूर्णमाले समेत २३ गते बिहान आफु नउठी निरु घरबाट निस्केको बताएको भाइ सञ्जीवले बताए।
निरुको पति सुवेदीले बेपत्ता भएपछि केही दिन बाटो हेरेर प्रहरीलाई जानकारी नगराएको बताए। उनले भने ‘मेरी श्रीमती र छोरा बेपत्ता छन्, गम्भीर नहुने कुरै भएन।’
शनिबार पनि सातदोबाटो प्रहरी वित्त पुगेर आएका उनले निरुले घरको सबै काम गरिरहेकाले मानसिक समस्या हो, होइन भन्न नसक्ने बताए। उनले भने ‘मानसिक उपचारका लागि डाक्टरकोमा नपुर्याएकाले मानसिक रोगी भन्ने पनि सक्ने अवस्था छैन।’
निरु पूर्णिमा नामकी साथीको घरबाट भक्तपुरमा रहेकी दिदीकोमा जान्छु भनेर हिँडेको सुवेदीले बताए। उनले घरबाट निस्कँदा निरुले परिवारसँग सल्लाह गरेरै निस्किएको बताए।
निरुकी दिदी विमला ढकालले आफूहरूले खोज्ने जति सबै ठाउँमा खोजेको बताइन्। उनले भनिन् ‘बहिनी बेपत्ता भएपछि हाम्रो चैन उडेको छ।’
बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पनि निवेदन दिएका छन्। सिआइबीका डीएसपी दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिका बारेमा बताउन चाहेनन्।
उनले भने ‘अनुसन्धानका बारेमा के बताउँ तपाइलाई, हाम्रो प्रवत्ता हुनुहुन्छ उहाँलाई नै सोध्नुस्।’ यस अघि उनले विभिन्न सञ्चार माध्यमलाई सम्भावित स्थानमा खोजी भइरहेको बताएका थिए।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीले बेपत्ता पत्ता लगाउन सबै प्रयास जारी राखेको बताए। उनले भने,‘हामीलाई ढिलो सूचना आयो तर सबै तिर खोजी गरिरहेका छौं पत्ता लागेको छैन।’
उनले श्रीमान् श्रीमतीको बीचमा सामान्य विवाद भएको बाहेक अरू नखुलेको बताए। निरुले कहिलकाही चार/पाँच वर्ष लुकेर बस्छु, इलाम जान्छु भन्ने गरेको उनका निकटहरूबाट खुलेको डीएसपी जोशीले बताए। बेपत्ता महिला डिप्रेसनको बिरामी भएको प्रहरीको अनुमान छ।
परिवारका सदस्यहरूले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन्। आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।