प्रथम उपमेयर गोल्डकप महिला फुटबलको उद्घाटन खेलमा सुनसरी विजयी
उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा शनिबारबाट सुरु भएको उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माउण्ट एभरेष्ट स्पोटिङ क्लब सुनसरी विजयी भएको छ।
त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा टाइब्रेकरमा सुनसरीले जित निकालेको हो।
निर्धारित ६० मिटेको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा वाग्मती युथ क्लब सर्लाहीलाई ३–१ ले पछि पार्दै सुनसरीले जित निकालेको हो।
टाइब्रेकरको सदुपयोग गर्दै सुनसरीको तर्फबाट सरिता राई, आशिका मगर र अन्जना राईले गोल गरे।
प्रतिउत्तरमा सर्लाहीका मन्दिरा राईले एक गोल गर्दै समूहलाई सान्त्वना दिलाइन्। प्रतियोगितामा खेल अनुशासन कायम नगरेको भन्दै सुनसरीका गोलकिपर अनु बस्नेतलाई मुख्य रेफ्री अम्बर राईले एलो कार्ड दिए।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट गोलपोष्टमा प्रहार भए पनि गोलमा परिणत हुन सकेन। अन्ततः टाइब्रेकरको सुनसरीले भरपुर सदुपयोग गर्यो। दुवै समूहले गोल गर्ने थुप्रै अवसर गुमाए।
प्रतियोगिताको म्यान अफ दी म्याच सुनसरीका अन्जना राई घोषित भए। उनलाई नगद दुई हजारले सम्मान गरिएको आयोजक समितिका अध्यक्ष रञ्जन कार्कीले बताए। उनका अनुसार आइतबारको खेल एनबिवाईसी सप्तरी र हेटौडा फुटबल क्लब मकवानपुरबीच हुने छ।
सुनसरी, सर्लाही, झापा, सप्तरी, मकवानपुर, मोरङ्ग र उदयपुर गरी ८ वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ। त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समितिको समन्वयमा सञ्चालित उपमेयर प्रतियोगिता उदयपुरकै लागि यो पहिलो हो।
प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले महिला फुटबल प्रतियोगिताले महिलाको नेतृत्व विकास मात्र नभई सामाजिक र राष्ट्रिय प्रतिष्ठासँग जोडिने बताए। उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता राखेर सबै वडामा खेलमैदान निर्माण कार्य अघि बढाएको बताए।
उपमेयर महेश्वरी राईले खेलकुद एउटा इज्जत र गौरवको विषय भएकाले यसलाई राशी भन्दा पनि महिलाको नेतृत्व विकास र समानताका नारालाई आत्मसाथ गरेको बताइन्। उनले खेल क्षेत्रमा महिलाहरूको सहभागिता सुनिश्चतता गर्दै अब्बल प्रदर्शनले राष्ट्रको पहिचान झल्कने बताइन्।