लोमान्थाङ गाउँपालिकाको चार गाउँ जोड्ने रिङरोडको स्तरोन्नति सुरु
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको चारवटा गाउँ जोड्ने रिङरोड सडकको स्तरोन्नति सुरु भएको छ।
गाउँपालिकाको ३, ४ र ५ वडा जोड्ने रिङरोड सडकको स्तरोन्नति सुरु भएको हो।
गण्डकी प्रदेशको समपुरक बजेट ५० लाख र गाउँपालिकाको ७० लाख बजेट साझेदारी रहने गरी डकारताङ, नाम्गेल, फुवा हुँदै किम्लिङ जोड्ने ४ दशमलव ५ किमी रिङरोड सडक स्तरोन्नति सुरु गरिएको हो।
चालु आर्थिक वर्ष २०७९/०८० का लागि गण्डकी प्रदेश र स्थानीय तहको ५०/५० प्रतिशत साझेदारी रहने भनीएपनि त्यसमा थप २० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको छ।
गाउँपालिकाले लोमान्थाङका चारवटा गाउँ जोड्ने रिङरोड सडक स्तरोन्नतिका लागि फागुन महिनामा १ करोड १६ लाखमा दामोदरकुण्ड कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए।
लोमान्थाङका ३ वडाका ४ गाउँ जोड्ने कच्ची सडकलाई फराकिलो बनाउने, ग्रेड मिलान गर्ने, मेशिनरी वाल र ड्रेन लगायतका कामहरू गरी सडक स्तरोन्नति गरिने प्रशासकीय अधिकृत उपाध्यायले बताए।
यसका लागि शुक्रबारदेखि निर्माण कम्पनी सडक स्तरोन्नतिमा खटिएको उनले बताए। सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।
गण्डकी प्रदेश र पालिकाको संयुक्त साझेदारीमा सीमावर्ती गाउँ जोड्ने रिङरोड सडकको स्तरोन्नति थालिएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।