सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटियो
बैतडी : बैतडीको पाटन नगरपालिका-६ को पाटन बजारमा सडक स्तरोन्नतिका लागि प्रयोग गरिन लागिएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ।
पाटन बजारको कृषि विकास बैंक पछाडिको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। गिट्टीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।