सर्पले टोकेको महिलालाई झारफुक गर्दा मृत्यु
बैतडी : बैतडीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
पञ्चेश्वर गाउँपालिका-२ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्यकहाँ लगिएको थियो। वैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरी निरिक्षक जोशीले बताए ।
लुहारका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। उनकी एक छोरी रहेको बुझिएको छ। मृतक लुहारको शव पोस्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ।