हिमाल अर्थात् संसार चिहाउने आँखा

हिमाल अर्थात् संसार चिहाउने आँखा
सर्वोच्च शिखर सगरमाथामा सूर्यको प्रकाश प्रतिबिम्बित भएको मोहक दृश्य।  शिवप्रसाद ढुंगाना

ओखलढुंगा : हिमाल चढ्न मात्रै होइन, यसलाई पढ्न पाउँदा पनि आनन्द महसुस नगर्ने सायदै कमै होलान्। यसलाई नजिकैबाट हेर्न र चुम्न जुनै भूगोलमा रहे पनि अधिकांशको इच्छा हुन्छ। जुन सहजता नेपालीलाई जती अरू मुलुकका नागरिकलाई छैन। त्यही रोमाञ्चकतासँगै हामी विश्वको सर्वोच्च शिखरबाट संसार नियाली रहेका छौं। त्यो हेराई आधार शिविरदेखि समुद्र सतहसम्म पुग्दा फरक देखिन सक्छ। 

हामीले सेता हिमालको चुचुरोबाट संसारलाई हेर्दै गर्दा हाम्रा हिमालमा संसारको नजर परेको छ। त्यही कारण हामी हिमालका गाथा सुन्ने र लेख्ने गर्दै आएका छौं। विदेशीलाई नेपाल आउन हुटहुटी लाउने हाम्रा मोतीझैं टल्किने सेता हिमालका चुचुरा नै हुन्। 

हिमालका कुरा गर्दा साँच्चै नेपालमा हिमाल कति छन् ? भन्ने प्रश्न खडा हुन्छ। यसबारे प्रमाणिक रूपमा यकिन तथ्यांक भेटिँदैन। विख्यात भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले नेपालमा संसारका ९ उच्च हिमाल र २ सय ४० जति हिम टाकुरा रहेको विषय विविध पुस्तकको ‘नेपालका हिमाल’ शीर्षकमा उल्लेख गरेका छन्। 

स्वतन्त्र विश्वकोष विकिपिडियाले सगरमाथासहहित ५ हजार ३ सय मिटर उचाइ माथिका ८१ हिमालको विवरण उचाइसहित उल्लेख गरेको छ। यद्यपि नेपालमा हिमाल तथा पदमार्ग समेत गरेर ६ हजार मिटरभन्दा बढी उचाइका १ हजार ३ सय १० हिम चुचुरा रहेको बताइन्छ।


विश्वका सबैभन्दा १४ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित ८ हिमाल छन्। पर्यटन विभागका अनुसार यस वर्ष आरोहणका लागि खुला गरिएका ४ सय १४ हिमाल छन्। ८६ हिमाल आरोहण भएका छैनन्। नेपालका हिमालबारे फरक–फरक खालका तथ्यांक पढ्न पाइए पनि यति चाहिँ सत्य हो कि संसारमा सबैभन्दा बढी हिमालहरू नेपालमै छन्। 

चालू वशन्त सिजनमा २४ हिमाल आरोहण हुँदैछन्। विभिन्न आरोहण समूहले अनुमति लिएका आठ हजारमाथि उचाइका ७ वटा हिमाल छन्। सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, लोत्से, धौलागिरि र मनास्लुलगायत २४ हिमाल आरोहणका लागि शुक्रबारसम्म १ सय १७ दलका १ हजार ७९ जनाले अनुमति लिएको पर्यटन विभागको अभिलेख छ। 

जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमालय क्षेत्रमा परेको छ। अहिले हिमालमा हिउँ पर्नै छोडेको मात्रै छैन, सेता हिमालहरू कालापहाडमा रूपान्तरण हुने अवस्थामा छन्। विश्वका शिर, हाम्रा हिमाललाई जोगाउँदै हिमगाथाको कहानीलाई नेपालको आर्थिक उन्नति र समृद्धिसँग जोड्न पर्यटन उद्योग प्रवद्र्धन गर्नेतर्फ सरकारको ध्यान जान जरुरी भएको पर्यटन व्यवसायी बताउँछन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोला स्थानीय र प्रदेश सरकारले पर्यटन उद्योगको विकासका लागि आवश्यक नीति तथा बजेट तर्जुमा गर्नुपर्ने बताउँछन्। 

उनले हिमाल आरोहणको मुख्य आधार ट्रेकिङ अर्थात् पैदल यात्रा भए पनि यसतर्फ सरकारी चासो नहुँदा पर्यटन व्यवसाय नै जोखिममा परेको बताए। ‘हाम्रो पहलले मात्रै हुँदैन। सरकार पर्यटनका गफ चुट्छ, तर पर्यटनको आधार पदमार्ग नै भत्काउने गरी सडक खन्छ,’ उनले आक्रोश पोखे। 

यसरी जोडिन्छन् समृद्धिमा हिमाल 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका ८० प्रतिशत स्थानीय पर्यटन व्यवसायसँग जोडिएका छन्। आरोहण र भ्रमण नहुने हो भने खुम्बु क्षेत्रको जनजीवन नै नचल्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पा बताउँछन्। 

उनले खुम्बु क्षेत्रको आय–आर्जन नै पर्यटन र खासगरी सगरमाथा रहेको बताए। यहाँको सबै कुरा प्लेन वा हेलिकप्टरमा निर्भर छ। खाद्यान्नदेखि पर्यटकसमेत हवाई माध्यमबाट आउने जाने गर्छन्। 

हिमाल आरोहणसँग अर्को आर्थिक आर्जन मात्रै होइन विदेशी रहन सहन, भाषा र संस्कृति समेत बुझ्न अन्त जानुपर्दैन। गाइडहरूका लागि अर्को विश्वविद्यालय हो, पर्यटन। यसले आर्थिक, सामाजिक रूपमा समेत प्रभाव पार्दै गएको अनुभव शेर्पासँग छ। 

खुम्बु मात्रै होइन, हिमालले धानेका थुप्रै गाउँहरू छन्, नेपालमा अग्ला हिमालका आसपासका सबै बस्तीहरू पर्यटनले धानेका छन्। हवाई यात्राले पनि सगरमाथा यात्रा महँगो छ। चौरीखर्कसम्म सडक र पूर्वाधार निर्माण हुने हो भने हजारौं पर्यटक पैदल यात्राबाट खुम्बु पुग्ने स्थानीयको विश्वास छ। सडक, पुल र विमानस्थल जस्ता पूर्वाधारको विकासले बजार, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनमा कनेक्टिभिटी र पहुँचमा सुधार ल्याउँछ, जसले स्थानीय समुदायका लागि आम्दानी र रोजगारीका अवसरहरू सिर्जना गर्ने र सुधारिएको पूर्वाधारले विपद् पूर्वतयारी र लचिलोपन पनि बढाउन सक्छ।

नेपालको उच्च हिमाल साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो। तर, पर्यटनको दिगो व्यवस्थापन हुन नसके वातावरण र स्थानीय संस्कृतिमा नकारात्मक असर पर्न सक्छ। ‘हामीलाई अहिले त के चिन्ता छ भने स्थानीय संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ। एउटा पुस्ता हिमालतिर तिर, तिनका बालबच्चा बढ्न काठमाडौं छन्’ पर्यटन व्यवसायी लामाकाजी शेर्पाले थपे। खुम्बु क्षेत्रमा त अहिले विदेशी प्रभाव यति बढ्यो कि स्थानीय संस्कृति र परम्परा हराउने अवस्था आइसकेको छ।

दिगो पर्यटनका लागि गरिने स्थानीय संस्कृति मैत्री अभ्यासहरूले वातावरण, स्थानीय संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान गर्न सक्ने भएकाले यस तर्फ राज्यका निकायको ध्यान जान आवश्यक छ। कृषि र पशुपालन नेपालका अधिकांश हिमाली तथा उच्च पहाडी समुदायहरूको जीविकोपार्जनको प्राथमिक स्रोत हो। यद्यपि, उनीहरूले बजार, सिँचाइ र प्रविधिमा सीमित पहुँच जस्ता चुनौतीहरूको सामना गर्छन्। यी पक्षहरूमा सुधार गर्नाले कृषि उत्पादकत्वमा वृद्धि, खाद्य असुरक्षा घटाउन र आय आर्जन गर्न सकिन्छ।

परम्परागत रूपमा चली आएको आरोहण शैलीलाई मात्रै मुख्य गरी पर्यटन उद्योगका रूपमा मान्दै आएका छौं। यस्तो सोच परिवर्तन गरेर पर्यटन उद्योगभित्र मनमोहक दृश्य वा ठाउँका अतिरिक्त सुविधा, सहजता र सरलता पनि हुनुपर्ने ओखलढुंगा क्याम्पसका समाजशास्त्र उपप्राध्यापक भेषनाथ खनाल बताउँछन्। 

यसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास तथा पदमार्ग विस्तारका काम हुनुपर्ने उनको सुझाव छ। नेपालका हिमाललाई समृद्धिसँग जोड्न आर्थिक, सामाजिक र सांस्कृतिक आयामहरूलाई एकीकृत गर्ने बहुआयामिक दृष्टिकोण आवश्यक भएको खनाल सुझाउँछन्। 

त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच मानव विकासका लागि आवश्यक छ। शिक्षा र स्वास्थ्य सेवाहरूमा लगानीले स्थानीय समुदायको कल्याण र उत्पादकतामा सुधार गर्न सक्छ। हिमाल शताब्दीयौंदेखि विकसित भएका विविध संस्कृति र परम्पराहरूको भण्डार पनि हुन्। यी संस्कृतिहरूलाई सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूको प्रवद्र्धन, परम्परागत अभ्यासहरूलाई पुनर्जीवित गर्दै स्थानीय कलालाई प्रवद्र्धन गरेर संरक्षण गर्न सकिने संभावना छ। 

हिमाली क्षेत्रको पर्यटनलाई व्यवस्थित गर्न अध्ययन तथा ट्रेकिङ र क्लाइम्बिङको प्राविधिक सीप दिने सरकारी तहमा विश्वविद्यालय नै खोलेर संसारका सबै पर्यटकलाई नेपालमा पढ्न र हिमाल आरोहण गराउन सकिने भएको ट्रेकिङ र क्लाइम्बिङ हब बनाउन सकिने सकिन्छ। यसका लागि सरकारी तहबाटै नीति ल्याउन आवश्यक रहेको पब्लिक क्याम्पस प्राध्यापक संघ ओखलढुंगाका सभापति युवराज दाहाल बताउँछन्। नेपालमा हिमाल आरोहण र पदयात्रासम्बन्धी पढाइ हुने कलेज तथा विश्वविद्यालय छैनन्।  

रोयल्टीले राजस्वमा योगदान 

हिमाल आरोहण अनुमति दिएर सरकारले आम्दानी पनि गर्दै आएको छ। ठूला उद्योग, कलकारखना नभएको हाम्रो देशमा प्रदेश र स्थानीय सरकारले पाउने रोयल्टीले सरकारी बजेटमा योगदान गरेको छ। केही स्थानीय तह र प्रदेश सरकारको आम्दानीको मुख्य स्रोत हिमालबाट प्राप्त रोयल्टी नै हो। 

हिमालबाट प्राप्त हुने राजस्वको २५ प्रतिशत स्थानीय तह, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले पाउने व्यवस्था छ। चालू बसन्त सिजनमा २४ हिमाल आरोहणमा १ हजार ७९ सहभागी हुँदा ७३ करोड ९७ लाख १३ हजार रोयल्टी जम्मा भएको छ। शरद सिजनमा पनि हिमाल आरोहण हुँदा बर्सेनि २ अर्ब हाराहारी रोयल्टी जम्मा हुन्छ।  

यो सरकारले लिने प्रत्यक्ष रकम हो। आरोहणका लागि गाइड, भरिया तथा बाटो बनाउने शेर्पा (आइसफल डक्टर) ले पाउने रोजगारी र पदमार्गमा हुने आर्थिक कारोबारले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान गरेको छ। 

यसका अतिरिक्त शेर्पा समुदायमा ट्रेकिङ संस्कारको विकास भएको छ। गाइड तथा पर्यटकहरूको सहयोगी बनेर शेर्पा समुदायका अधिकांश व्यक्तिहरू आरोहण र पदयात्राको सिजनमा हिमाल तथा आधार शिविरमा पुगेका हुन्छन्। पदयात्रा र आरोहण रोजगारीसँग पनि जोडिएको छ।  सेता हिमालको आलोकमा हामीले नाम र दाम दुवै पाएका छौं। उत्तरतिर लहरै देखिने सेता हिमाल हेर्न र शिखर चुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूले बुझाउने कर र नेपालभित्र गर्ने खर्चले नेपालको अर्थतन्त्रलाई योगदान मात्रै गरेको छैन। यही आरोहरणलाई अनुमति दिएर पर्यटन उद्योग भनेर सरकारले नाक उँचो पनि पारेको छ।

किन उजाडिए हिमाल ?

दशकपहिले सेता देखिने हिमाल अहिले काला पहाडजस्ता देखिन थालेका छन्। हिमरेखामाथि सर्दै जानु, हिमालमा हिउँ नपर्नु र परेको हिउँ चाँडै बिलाएर जाने र हिमालका फेदमा हिमतालको क्षेत्रफल बढ्दै जाने गरेको तथ्यले जलवायु परिर्वतनको सीधा असर हिमालमा परेको असर सहजै अनुमान गर्न सकिन्छ। 

नेपालमा सरकारी तहमा यसबारे पर्याप्त अनुसन्धान र जलवायु अनुकूलनका काम भएका छैनन्।  १३ वर्ष पहिले निर्माण गरिएको जलवायु परिवर्तन नीति २०६७ मा सगरमाथा क्षेत्रमा रहेको हिम रेखा विगत करिब ९ दशकमा ३३० फिट उचाइ गलन (भर्टिकल लस) भएको उल्लेख छ। हिमगलनको कारण नयाँ हिमतालहरू बन्दै गएका तथा नेपालका नदीमा सन् २०३० सम्म केही मात्रामा पानीको बहाव बढे तापनि यस शताब्दीको अन्त्यमा ठूलो परिमाणमा घट्ने अनुमान गरिएको छ। खुम्बु बाहेक अन्य हिमालमा पनि तापक्रम वृद्धिको असर फरक छैन। कञ्चनजंघा र मकालु क्षेत्रमा पनि हिमरेखा उकालो लाग्ने र ट्रिलाइन माथि सरेका तथ्यहरू भेटिएका छन्। 

बेलायतको लिड्स र अमेरिकाको एरिजोना विश्वविद्यालयका अध्येताहरूले सन् १९८४ देखि २०१५ सम्म गरेको अध्ययनले खुम्बु क्षेत्रमा सो अवधिमा ३८५ प्रतिशतले हिउँ पोखरी बढेको उल्लेख गरिएको पाइन्छ। हिउँ पग्लेर खुम्बुमा ३० वर्ष पहिले पोखरीको क्षेत्रफल २८ हजार ७५५ वर्गमिटर रहेकोमा सन् २०१५ मा बढेर १ लाख ३९ हजार १५ वर्गमिटरमा फैलिएको सोधकर्ताहरूको दाबी छ। यसरी फैलिएका हिमताल फुट्ने खतरा छ। 

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सरकारी समूह (आईपीसी) को तथ्यांकअनुसार पृथ्वीको तापक्रम सन् २०११ देखि सन् २०२० सम्ममा १.०९ डिग्री बढेको देखिन्छ। वैज्ञानिकहरूले अहिलेको तापक्रम वृद्धिदरलाई १.५ डिग्रीमा रोक्नुपर्ने सुझाव दिइरहेका छन्। सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्मेलनपछि सबै मुलुकले सन् २१०० भित्र पृथ्वीको तापक्रम २ डिग्रीभन्दा कम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, आईपीसीले भने १.५ डिग्रीको तापक्रम वृद्धिदर आउँदो सन् २०४० मै पुग्ने जनाएको छ।

यता इसिमोडको अध्ययनले भने पृथ्वीको भन्दा नेपालको हिमाल क्षेत्रको तापक्रम वृद्धिदर धेरै हुने प्रक्षेपण गरेको छ। विश्वको तापक्रम वृद्धिदर १.५ डिग्रीमा रोक्न सके पनि हिन्दु–कुश क्षेत्रको हिमालमा त्यसको तुलनामा ०.३ डिग्री उच्च तापक्रम रहनेछ। नेपालको जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्मको तथ्यांक विश्लेषण गरेर सन् २०१७ मा नेपालको प्रतिवर्ष अधिकतम् तापक्रमको वृद्धिदर ०.०५६ डिग्री रहेको जनाएको थियो।

हिमाली कुनै बेला उच्च तापक्रम वृद्धि हुने त कुनै बेला उच्च चिसो हुने गरेको छ। कहिले पुस नलाग्दै हुने हिमपात कहिले चैत महिनासम्मै हुन थालेको छ। यसको मुख्य कारण जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा बढेको तापक्रम नै भएको विज्ञहरू बताउँछन्। 

हिमालय क्षेत्रको असर तराईसम्मै 

विश्वमा बढ्दै गएको तापक्रमले सबैभन्दा पहिलो असर हिमाललाई पर्ने गरेको छ। हिमाललाई पर्ने असरले नेपाल जस्तो भूगोल भएको देशलाई ठूलो असर पर्ने विज्ञहरूको भनाइ छ। विकसित देशको तुलनामा कार्बन उत्सर्जन कम गरे पनि जलवायु परिवर्तनको सबैभन्दा बढी मार नेपालले बेहोर्दै आएको छ। 

पहाडका सुक्खा र भिरालो जमिन भएका भुगोलहरूमा अत्याधिक वर्षा हुँदा बाढीपहिरो जाने, कतै पानि नपर्दा खानेपानीका मुहानहरू सुक्दै जाँदा खानेपानीको समस्या भोग्नुपर्ने बाध्यता छ। दुई दशक पहिलेसम्म सदाबहार सेताम्य देखिएका पहाडहरू अहिले काला पहाडका रूपमा देखिन थालेका छन्। 

सन् २०२० मा नेपालसहित चीन, भारत, म्यानमार, अफगानिस्तान, पाकिस्तान, भुटानका ग्लेसियरहरूको बृहत् अध्ययन गरेको इसिमोडको अध्ययन प्रतिवेदनले ४७ वटा खतरनाक हिमतालमध्ये नेपालमा २१ वटा हिमताल फुट्नेसक्ने जोखिम औंल्याएको छ।

सो अध्ययनले हिउँ पग्लिएर बनेको इम्जा र च्छो रोल्पालाई सबभन्दा जोखिमपूर्ण भनेको छ। सबैभन्दा जोखिम रहेको इम्जा क्षेत्रमा सन् १९८८ देखि सन् २००८ सम्ममा १ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको देखाएको थियो। लगत्तै सन् २०१६ मा इम्जा तालबाट ३.४ मिटर ताल पानीको सतह घटाइएको थियो।

पर्यटन मन्त्रालयका अनुसार नेपालमा ६ हजार मिटरभन्दा माथी उचाइका १ हजार ३ सय १० भन्दा बढी हिमालहरू छन्। जुन नेपालको उत्तरतर्फ पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। नेपालको चौडाइ करिब २ सय किलोमिटरले मात्र फैलिएको छ। कुनै पनि हिमताल फुट्यो भने हिमतालबाट बगेर जाने नदी आसपासको बस्ती हिमालदेखि तराईसम्मै बगाउने जोखिम उत्तिकै छ। 

हिमालमा हिउँ सकिँदै जाँदा नदीका बहाव घट्ने हुँदा सिँचाइ जलविद्युत् उत्पादनदेखि कालान्तरमा खानेपानीकै समस्या आउन सक्ने चिन्ता सुरु भएको छ। यो वर्ष कात्तिकसम्म भएको भारी वर्षाले पहाडदेखि तराईसम्मै बाढी पहिरो नित्याउनु, पहाडमा नयाँ–नयाँ प्रजातिका बोट बिरुवा भेटिनु पनि जलवायु परिवर्तनको असर भएको डब्लूडब्लूएफ नेपालका जलवायु र ऊर्जा कार्यक्रमका प्रमुख दिपेश जोसी बताउँछन्।  

उनले भने, ‘हिउँ मात्र पर्ने ठाउँमा पानी पर्नु बाढी आउनु जलवायुकै असर रहेकाले अनुकूलनका काममा सबैले ध्यान दिन आवश्यक छ।’ तुलनात्मक हिसाबले हिमाली क्षेत्रमा हिउ“ पर्ने क्रम घटेपछि आलु खेतीमा समेत असर परेको स्थानीय बताउँछन्। पर्यटनको दृष्टिकोणबाट हिमालहरूमा हिउ“ रित्ति“दै जाने हो हिमाल हेर्न र चढ्न आउने पर्यटक नेपालमै नआउन सक्ने अनुमान गर्न सकिन्छ। 

सधैं हिउँले ढाकिने पहाडमा अहिले हिउँ निकै कम समय मात्रै देख्न सकिन्छ। हिमालय क्षेत्रमा भएको तापक्रम वृद्धिले हिमालमा हिउँ रित्तिन थालेको विभिन्न अध्ययनले देखिएको छ।  जलवायु परिवर्तनको असरले हिमालको तापक्रम बढ्न थालेको र हिउँ पग्लिने दर उच्च हुँदा हिमालहरू काला पहाडमा रूपान्तर हुने अवस्था आएको ती अध्ययनका तथ्यबाट बुझ्न सकिन्छ। 

अग्ला ८ हिमाल 
१. सगरमाथा
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर छ। सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा एन्डमण्ड हिलारी र तेन्जिङग नोर्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए। 

२. कञ्चनजंघा
विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो। यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ। यो ताप्लेजुङ जिल्लामा पर्छ। पहिलो पटक सन् १९५५, मे २५ मा ब्रिटिस नागरिक जी ब्यान्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए।

३. लोत्से
विश्वको चौथो अग्लो हिमाल हो लोत्से। यो ८ हजार ५ सय १६ मिटर अग्लो छ। सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल महालंगुर हिमशृंखलामा पर्छ।

४. मकालु
विश्वको पाँचौं अग्लो हिमाल हो मकालु। यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ। संखुवासभामा रहेको यो हिमाल पदयात्राका हिसाबले जति प्रख्यात हुनुपर्ने हो त्यति हुन सकेको छैन। 

५. चोयु
विश्वको छैटौं अग्लो हिमाल हो चोयु। सोलुखुम्बु जिल्लामा पर्ने यो हिमालको उचाइ ८ हजार २ सय १ मिटर छ। सन् १९५४ अक्टोबर १९ मा अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले यो हिमाल आरोहण गरेका हुन्। 

६. धौलागिरि
विश्वको सातौं अग्लो हिमाल हो धौलागिरि। यो विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्ग क्षेत्रभित्र पर्छ। ८ हजार १ सय ६७ मिटर उचाइ रहेको धौलागिरि हिमाल सर्वप्रथम स्वीस नागरिक के डिमब्रेगर र ए सेलब्रटले आरोहण गरेका हुन्। 

७. मनास्लु
मनास्लु विश्वको आठौं अग्लो हिमाल हो। यो गोरखामा पर्छ। समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए।

८. अन्नपूर्ण
 अन्नपूर्ण हिमाल विश्वको दसौं अग्लो हिमाल हो। यो पदयात्राका लागि विश्वभर प्रख्यात छ। समुद्री सतहबाट ८ हजार ०९१ मिटर अग्लो यो हिमाल पहिलोपटक सन् १९६० जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका हुन्।

nullसगरमाथा क्षेत्रमा देखिने हिमशृंखला । शिवप्रसाद ढुंगाना

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.