४० किशोरीलाई आत्मरक्षा तालिम प्रदान

४० किशोरीलाई आत्मरक्षा तालिम प्रदान
सुन्नुहोस्

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-१ की जेशिका श्रेष्ठलाई कसैले दुर्व्यवहार गर्दा प्रतिकार गर्ने तरिका थाहा थिएन। तर अहिले त्यसको प्रतिकार गर्न सक्ने भएको बताउँछिन्।

सेतीदेवी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी उनी भन्छिन्, ‘कतैबाट दुर्व्यवहार हुँदा कसरी प्रतिकार गर्ने भन्ने थाहा थिएन। तालिम लिएपछि आत्मविश्वास बढेको छ।’ 

जिल्ला युवा समिति सिन्धुपाल्चोकले प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोगमा आत्मरक्षा तालिम दिएपछि श्रेष्ठ दुर्व्यवहार भइहाले पनि प्रतिरक्षा गर्न सक्ने भएकी हुन्।

श्रेष्ठसहित चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा आइतबारदेखि ४० जना किशोरीहरू आत्मरक्षा तालिम लिइरहेका छन्। 

‘यो तलिम मेरो लागि निकै फलदायी छ, ग्रामीण क्षेत्रमा रहनुपर्ने भएकाले हामीजस्ता किशोरीहरू केही होला कि भन्ने डरमा बाँच्ने गथ्यौं। विद्यालयमा, बाटोमा, सार्वजनिक स्थलमा सबैतिर हामीलाई असुरक्षित महसुस हुन्थ्यो’, तालिममा सहभागी ज्ञानमन्दिर नमुना माद्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सविना दंगालले भनिन्, ‘तालिमले त्यस्ता विषयलाई प्रतिकार गरी आत्मरक्षा गर्न सहयोग पुगेको छ। अब त डर पनि हटेको छ।’

२०/२० जनाको दुई समूहमा विभाजन गरी तालिम प्रदान गरिएको युवा स्वयंसेवक रुपक दुलालले जानकारी दिए। दुईवटा क्याम्पस, १ बहुप्रविधिक शिक्षालय र ९ विद्यालयका किशोरीलाई तालिम प्रदान गरिएको दुलालले बताए। 

समाजमा हुने शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाको विरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरूलाई आत्मरक्षाको तालिम प्रदान गरिएको हो। 

जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरूको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरूलाई तालिम दिइएको प्रशिक्षक पार्वती पौडेलले बताइन्। 

पछिल्लो समय किशोरीहरूमाथि भइरहेका यौनजन्य हिंसाको विरुद्धमा सशक्त रुपमा प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउनु तालिमको उद्देश्य रहेको उनको भनाइ छ।

तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालिकाको हक, अधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयहरूमा ज्ञान प्रदान गर्दै आत्मरक्षाको सीप प्रदान गरिने प्रशिक्षक सीतामाया ब्लोनले जानकारी दिइन्।

दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपले व्यवहारमा उतार्न सुझाव दिँदै नगरले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी हिंसाका गतिविधिहरूलाई न्यूनीकरण गरिरहेको बताइन्। 

थापाले तालिमले किशोरीहरूमा आत्मरक्षा गर्ने क्षमताको विकास गर्नुका साथै सम्भावित घटनाको प्रतिकार तथा सुरक्षासहित सक्षम बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.