सोलुका मजदुरलाई श्रमको मूल्य पाउनै कठिन
सोलुखुम्बु : सोमबार अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। तर, सोलुखुम्बुको सदरमुकाममा ज्यालादारी गरिरहेका मजदुरहरूलाई नत दिवसले छोयो नत अधिकारले नै।
सदरमुकाम सल्लेरीमा गिट्टी कुट्दै गर्दा भेटिए सोलुदूधकुण्ड नगरपालिका-३ बोल्दोका बृद्ध पासाङ तामाङ। उमेरले ६७ वर्ष नाघिसकेका तामाङलाई न त मजदुर दिवसकै वास्ता छ नत अधिकार कै। ज्यानले साथ नदिँदा समेत पेट पाल्नकै लागि मजदुरी गर्नै पर्ने वाध्यता रहेको तामाङको भनाइ छ।
एक जनाले मजदुरीको भरमा परिवार पाल्नुपर्ने मजदुरहरूको वाध्यता हो। दल तथा नेताहरूले चुनावको बेला मजदुर अधिकार र ज्यालाको ठुला ठुला भाषण छाट्ने गर्छन्।
चुनाव सकिएपछि उनीहरूको दैनिकी फेरिन्छ तर तिनै मजदुरहरूको दैनिकी कहिल्यै फेरिदैन। नेचासल्यान गाउँपालिका-१ लेब्लुका दावा शेर्पा भन्छन्, ‘खै मजदुरी गर्ने हाम्रो दैनिकी त कहिले फेरिने हो थाहा छैन। यस्तै होला अब। बिहान उज्यालो भएदेखि बेलुका रात नपरेसम्म काम गर्नैपर्छ।’
जनताको ढाड सेकिने गरी भइरहेको मूल्य वृद्धि र काला बजारीको सामना पनि ती मजदुरले नै गर्नुपर्छ।
त्यति मात्रै होइन काम गरेको ज्याला लिन समेत संघर्ष गर्नुपर्ने तितो यर्थाथ मजदुरसँग छ। महँगी बढिरहेकै छ। 'हाम्रो ज्याला कहिल्यै बढेको अनुभूति भएको छैन। यहाँ हेर्नुस् न हामी यस्तो ठाउँमा रातदिन नभनी ढुंगा मुढाको काम गर्नुपर्छ। तर थोरै भए पनि ज्याला पाए त हुन्थ्यो नि त्यो पाउन पनि कत्ति गाह्रो छ। पैसा नै दिँदैनन् ठेकेदारहरूले। यही काम गरेर छाक टार्नुपर्ने वाध्यता छ तर २ वर्षमा पनि ज्याला पाइँदैन के गर्नु र खै’, थुलुङ दुधकोशी गाउँपालिका- ७ देउसाका राज कुमार तामाङले भने।
'आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन' भन्ने श्रम ऐनमा उल्लेख छ। तर यसको कार्यान्वयन हुन सकेको छैन।
ठेकेदार कम्पनीहरूले आफूसँग रकम नै नभई उधारोमा काम गर्दाको परिणाम श्रमिकले बेहोर्नु परेको निर्माण व्यवसायी संघ सोलुखुम्बुका सदस्य राज कुमार खत्री बताउँछन्। उनले भने, ‘घाटी हेरी हाड निल्नुको सट्टा विना तयारी काम सुरु गर्ने अनि रकम ढिला निकासा हुँदा मजदुरहरू समस्यामा पर्ने गरेको कुरा सत्य हो। यसमा निर्माण व्यवसायी साथीहरू पनि गम्भीर हुनैपर्छ।’