जसले जोड्यो मध्यपहाड

जसले जोड्यो मध्यपहाड

बागलुङ : बागलुङ निसीखोला गाउँपालिका-१ का वडाध्यक्ष चन्द्रसिंह राम्जाली मगर २०४८ सालमा एसएलसी दिन तीन दिन पैदल हिँडेर जिल्ला सदरमुकाम बागलुङ बजार पुगेका थिए। दुर्गम निसी–भलकोटका बासिन्दाहरू प्रशासनिकदेखि अन्य थुप्रै कामका लागि दुई/तीन दिनको पैदलयात्रा गरेर सदरमुकाम बागलुङबजार आउनुपर्ने बाध्यता थियो।

राष्ट्रिय गौरवको सडक आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग बनेपछि भने पश्चिम बागलुङका निसी–भलकोट क्षेत्र सुगम बन्दै गएका छन्। यो सडक स्थानीयलाई वरदान सावित भएको छ। निसीखोला गाउँपालिकाको मुख्य सडकखण्ड रहेको मध्यपहाडी लोकमार्गले निसी–भलकोट जिल्ला सदरमुकाम र पूर्वीरुकुमसँग सीधा सडक सञ्जालमा जोडिएपछि दुर्गमको परिचय नै बदलिएको हो।

वडाध्यक्ष मगरले लोकमार्गको कालोपत्रे सडकका कारण निसीका जनतालाई जिल्ला, प्रदेश र संघीय राजधानीसँग जोड्ने माध्यम बनेको बताए। 

उनले पहिलेपहिले प्रशासनिक, मालपोत र शिक्षाको लागि पुस्तकहरू खरिदको लागि हिँडेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहे पनि अहिले लोकमार्गको लागि सहज भएको बताए। ‘पहिले तीन दिन पैदल यात्रा गरेर प्रशासनिक कामको लागि बागलुङ बजार जाने गरेका थियौं,’ वडाध्यक्ष मगरले भने, ‘अहिले जिल्ला समन्वय समितिको कामको लागि बागलुङ बजारमा जाँदा यातायातबाट दिउँसो २ बजेसम्म पुग्न सकिन्छ।’ 

वडाध्यक्ष मगरले लोकमार्गको बागलुङ बजार–घोडाबाँधे सडकखण्ड कालोपत्रे भएमा बिहान खाना खानको लागि बजार पुग्न सकिने बताए। ‘जिल्ला सदरमुकाम नजिकै लोकमार्गको काम अझै भएको छैन,’ वडाध्यक्ष मगरले भने, ‘उक्त खण्ड कालोपत्रे भएमा बिहान खाना खान बजार पुगिने र काम सकेर बेलुका घर फर्किन सकिन्छ।’

बागलुङको पश्चिम भेगको लागि अहिले प्रशासनिक (नागरिकता, पासपोर्ट) र मालपोतको लागि ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारबाटै सेवा प्रवाह हुँदै आएको छ। बैंक, नागरिकता र मालपोतको कामको लागि निसीबाट पैदल एक दिनमा पुगिने बुर्तिबाङ अहिले लोकमार्गको कारण यातायातमा १५ मिनेटमा पुग्न सकिने वडाध्यक्ष मगरले बताए। 

सडक सञ्जालकै कारण पछिल्लो समय निसीमा बजारीकरणसमेत विस्तार हुँदै गएको छ। लोकमार्गको कारण सेवासुविधा विस्तारले निसी सुगम गाउँको रूपमा परिचित हुँदै गएको छ। सडक बनेपछि निसीमा सञ्चार सेवा पनि विस्तार भएको छ। लोकमार्गले गाउँलाई सुगम बनाउँदा बजारीकरण बढ्दै गएको वडाध्यक्ष मगरको भनाइ छ। ‘लोकमार्गको छेउमा बजारहरू बनेका छन्,’ मगरले भने, ‘पहिले पाखो रहेका स्थानमा अहिले बजार विस्तार भएपछि खाद्यान्न, लत्ताकपडाहरू खरिदको लागि बुर्तिबाङ  र बागलुङबजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ।’

लोकमार्ग आसपास क्षेत्रको जग्गाको मूल्यसमेत बढ्दै गएको निसीखोला-१ का स्थानीय इन्द्रबहादुर मल्लले बताए। उनले सडक सञ्जाल विस्तार हुनुअघि सित्तैमा गरी खाना पाइने जग्गाको भाउ अहिले अकासिएको बताए। 

मध्यपहाडी लोकमार्गले आसपासको समथर खेतबारीमा पक्कीघर बन्न थालेका छन्। लोकमार्गले बागलुङका दस स्थानीय तहमध्ये बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई जोडेको छ। 

लोकमार्ग जिल्ला सदरमुकामदेखि निसीको पातिहाल्ने (रुकुमको सिमाना)सम्म जोडिएको छ। बुर्तिवाङ बजारलाई नेपाल सरकारले मध्यपहाडी लोकमार्ग पर्ने दस वटा नमुना सहरको रूपमा विकास गर्न थालेको छ। नमुना सहरको रूपमा बुर्तिबाङ बजारमा ढल, सडक, बसपार्कहरूको काम भइरहेको छ।

जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन्। लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ। ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन्।

बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भीमगिठे, हाँडीखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देवीस्थान, ढुँवाखोर, झिवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ। मध्यपहाडी लोकमार्ग बागलुङको जिरो किलोमिटर उपल्लाचौरमा बस्ती विस्तार भएको छ।

पहुँच मार्गलाई ध्यानमा राखेर जिल्ला सदरमुकामदेखि निसीपाती हाल्नेसम्म युवाहरूले लोकमार्ग आसपासमा नयाँनयाँ रेस्टुराँ, होटल, माछा तथा बंगेर फर्म, गाईभैंसी फर्म सञ्चालन गरेका छन्। काठेखोला गाउँपालिका-५ बिहुँको घोडाबाँधे र रिजाल चोकको क्षेत्र होटल व्यवसायीले भरिएको वडाध्यक्ष ज्ञामनाथ कँडेलले बताए। 

उनले लोकमार्गको कारण पश्चिमबाट बागलुङ आउन र जान सजिलो हुँदा बिहु क्षेत्रमा खाजा र खानाको लागि यातायातको विश्रामस्थल बनेको बताए। ‘यातायातको विश्रामस्थल बनेपछि बिहुँमा उत्पादन हुने तरकारीलगायतका खाद्यान्नहरू स्थानीयले स्थानीयस्तरमै बिक्री गर्दै आएका छन्,’ वडाध्यक्ष कँडेलले भने, ‘काठेखोला-५ र गलकोट नगरपालिका-१ को सिमानामा होटल, रेस्टुराहरू बढिरहेका छन्।’

लोकमार्ग विस्तार भएपछि जनतालाई सरकारी सेवा सुविधाको उपयोग, दैनिक उपयोग्य वस्तुको खरिद बिक्री र गाउँको उत्पादनलाई बजारीकरणमा सजिलो भएको बडिगाड गाउँपालिका ३ का पूर्ववडाध्यक्ष खड्कबहादुर पुनले बताए।

पूर्वको फिदिमदेखि पश्चिमको बैतडी जिल्लालाई जोड्ने लोकमार्गको सबैभन्दा धेरै खण्ड (दूरी) बागलुङमा पर्छ। २४ वडा जिल्ला र २ सय २५ वटा बस्तीलाई जोड्ने लोकमार्गको १ हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी १ सय ३४ किलोमिटर खण्ड बागलुङमा पर्छ। 

ट्र्याक खोलिएको २४ वर्ष पूरा भइसक्दा लोकमार्गको १ सय २० किलोमिटर कालोपत्रे भएको छ भने १३ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन। लोकमार्गको बागलुङ बजारको उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी–एससीएफ–ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए। 

बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको छ। तल्लो खण्डमा खहरेसम्म ६ किलोमिटर र उपल्लो खण्डमा इनारपानीसम्म ६ किलोमिटर सडक कालोपत्र भइसकेको छ। 

तर पनि खहरेदेखि अछेते हुँदै इनारपानीसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेकोले यात्रुलाई यात्रा गर्न घण्टौं लाग्ने गरेको छ। कालोपत्रे गर्न बाँकी रहेको सडकको दुरावस्था उस्तै छ। फेरि २०८० को असार मसान्तसम्मको म्याद थपिएको छ।

लोकमार्गको बागलुङ घोडाबाँधे सडक खण्ड समयमै सम्पन्न नहुँदा यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन्। ठेकेदारको लापरबाहीले गर्दा लोकमार्गको बागलुङ–बिहुँ खण्डमा हिउँदमा धुलो र बर्खामा हिलाम्य हुने गरेको काठेखोला-५ का वडाध्यक्ष कँडेलले बताए। उनले पटकपटक लोकमार्गको शाखा कार्यालयमा सम्पर्क गर्दा पनि समयमै कालोपत्रे नहुँदा यात्रु र स्थानीय मारमा परेको बताए। 

‘जिल्ला प्रशासन कार्यालय र मध्यपहाडी लोकमार्गको शाखा कार्यालयमा सम्पर्क गर्दा पनि ठेकेदारले काम गर्छु भनेर काम गरेको छैन,’ वडाध्यक्ष कँडेलले भने, ‘समयमै बाँकी खण्ड कालोपत्रे भएमा सहज हुने थियो।’ ६ किलोमिटर कालोपत्रे भएको बिहुँ खण्डमा कालोपत्रे उप्किएको वडाध्यक्ष कँडेलको भनाइ छ।

निसीखोला १ का वडाध्यक्ष मगरले बागलुङ–बिहुँ खण्डमा कालोपत्रे भएमा निसीखोलाबाट बिहान खान खानको लागि बागलुङ बजार पुग्न सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.