मेलम्ची खस्यो राजधानीमा

मेलम्ची खस्यो राजधानीमा

सिन्धुपाल्चोक : मेलम्चीको पानी पिउने राजधानीवासीको सपना पुरानै हो। २०४८ सालको निर्वाचन प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभामा ‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्ने’ भाषण गरे। त्यसपछि  मेलम्चीको चर्चा चुलियो। 

तर, भट्टराई मेलम्चीका परिकल्पनाकार भने थिएनन्। भट्टराईले भाषण गर्नुअगाडि नै यो आयोजनाको प्रारम्भिक अध्ययन भइसकेको र निर्माणको योजना तय भइसकेको थियो। 

जे होस् मेलम्ची खानेपानीको सार्वजनिक चर्चा सुरु भएको २९ वर्षपछि राजधानीवासीले मेलम्चीको पानी उपभोग गर्न त पाए, तर छोटो अवधि मात्रै। पूर्ण रूपमा पानी उपभोग गर्न नपाउँदै २०७८ सालको वर्षाले यो आयोजना क्षतविक्षत बनाइदियो। त्योसँगै मेलम्चीको पानी पिउने राजधानीवासीको सपनामा तुषारापात भयो। 

२०२० सालमा खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन समिति बनाइयो। योसँगै २०४१ सालमा मेलम्चीसहित २२ विकल्प पहिचान गरी २०४९ मा याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउने योजनाअन्तर्गत मेलम्ची उत्तम विकल्पमा परेको थियो।

२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएपछि औपचारिक तवरमै राष्ट्रिय गौरवका आयोजनाको रूपमा यो अघि बढेको थियो। एसियाली विकास बैंकले लगानी गर्ने निश्चित भएपछि २०५७ सालमा आयोजना निर्माणको टुंगो लागेको थियो। 

२०५५ सालमा आयोजना सुरु गरिँदा २०६४ सालमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। विभिन्न अवरोधले समय सीमाभित्र आयोजना सम्पन्न नहुँदा पटकपटक समय थप गर्नु परेको मेलम्ची खानेपानी आयोजनाका पूर्वप्रमुख घनश्याम भट्टराई सुनाउँछन्। चिनियाँ र इटालियन निर्माण कम्पनी सुरुङको काम बीचमै छोडेर भागेका कारण पनि समय थप गर्नु परेको उनको भनाइ छ।

२०७७ साल चैत २० गते मेलम्ची खानेपानी आयोजनाको औपचारिक रूपमा उद्घाटन भएको थियो। तर २०७८ साल जेठ अन्तिम साता आएको बाढीले मेलम्चीको मुख्य गेटसहित अधिकांश भौतिक संरचनामा क्षति पु¥यायो। पछिल्लो पटक गत मंसिर २३ गतेदेखि राजधानीमा मेलम्चीको पानी वितरण सुरु गरियो। १७ करोड लिटर पानी पूर्ण रूपमा वितरण गर्न खानेपानी पाइपलाइनको अन्तिम परीक्षणसमेत गरिसकिएको छ।

‘आयोजनाले बिछ्याएको पाइपको परीक्षण भइसकेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ भन्छन्, ‘परीक्षणबाट कुन कुन ठाउँमा पाइप लिकेज भएको छ, पत्ता लागेको छ। त्यसको मर्मत र सुधार गर्ने काम भइरहेको छ।’ 

वैशाखसम्ममा कलंकी, महाराजगन्ज, बालुवाटार, धुम्बाराहीलगायतका क्षेत्रमा पाइपलाइन बिछ्याइसक्ने र साउनसम्ममा पुरानो पाइपलाई हटाएर नयाँ पाइप जडान गरिने उनले बताए।

मेलम्ची खानेपानी आयोजनाले उपत्यकाभित्र ९० हजार घरमा ९० हजार धारा जडानको लक्ष्य लिएको थियो। त्यसमध्ये अधिकांश ठाउँमा पाइपलाइन बिछ्याउने काम सम्पन्न भए पनि २० हजार धारामात्रै जडान भएको छ। बाँकी ७० हजार धारा जडानको सुरुवात गरिएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ। 

पानी वितरणका लागि उपत्यकामा १० वटा ७४ हजार घनमिटरका ट्यांकी निर्माण गरिएका छन्। सबै ट्यांकी परीक्षण भइसकेको जनाइएको छ। काठमाडौंको महाँकाल, बाँसबारी, पानीपोखरी, बालाजु, कीर्तिपुर, बानेश्वर, अनामनगर, ललितपुरको खुमलटार, भक्तपुरको कटुन्जेलगायत ठाउँमा करिब ८०–८० लाख लिटर पानी अट्ने नयाँ ट्यांकी निर्माण गरिएको छ। 

‘हाल पुराना ट्यांकी पनि पानी वितरणका लागि प्रयोग भइरहेका छन्’, श्रेष्ठले भने, ‘अहिले दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित वितरण ट्यांकीमा खस्छ।’ सो ट्यांकीबाट नयाँ तालिकासहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरण गर्दै आइरहेको छ।

कति भयो खर्च ?

मेलम्ची खानेपानी आयोजनामा चैत्र मसान्तसम्म ३० अर्ब ६५ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ। राष्ट्रिय गौरवका आयोजनाको रूपमा सुरु भएको मेलम्ची आयोजनाको लागत अनुमान ३५ अर्ब ५४ करोड छ। आयोजनाको भौतिक प्रगति ९९.४७ प्रतिशत रहेकोमा २०७८ असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीका कारण निर्माणाधीन हेडवक्र्समा क्षति भई आयोजना लम्बिन पुग्यो।

अघि बढ्दै याङ्ग्री र लार्के

राजधानीको खानेपानी समस्या हल गर्न मेलम्ची खानेपानी आयोजनाको उपआयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी लैजाने योजना अघि बढिसकेको छ। दैनिक ५१ करोड लिटर पानी लैजाने तयारीका साथ उपआयोजना सञ्चालन भइरहेको छ। यो उपआयोजना पूरा हुँदा याङ्ग्री र लार्के खोलाको १७÷१७ करोड लिटर पानी मेलम्चीसँगै काठमाडौं पुग्नेछ।

हालसम्म याङ्ग्री लार्केको पहुँचमार्ग निर्माण कार्य भइरहेको र स्थानीय अवरोधका कारण सुरुङलगायतका कार्य शुरु हुन सकेको छैन। यसले आयोजना सञ्चालनमा प्रभाव परेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। 

उपआयोजना सुरु भएदेखि हालसम्म ३३ अर्ब ४१ करोड ३६ लाख खर्च भइसकेको पन्तको भनाइ छ। आयोजना कार्यान्वयन निर्देशनालयमार्फत सञ्चालनमा रहेको उपआयोजनाको थोक वितरण प्रणालीतर्फ १ सय ३ किलोमिटर कार्य सम्पन्न गर्नु पर्नेमा ७७ किलोमिटर र वितरण सञ्जाल सुधारतर्फ १ हजार ७ सय ८३ किलोमिटर कार्य सम्पन्न गर्नुपर्नेमा १ हजार ३ सय २१ किलोमिटर सम्पन्न भएको उनले बताए।

त्यस्तै, ढल प्रशोधनतर्फ सल्लाधरी, कोड्कु र धोबीघाट ढल प्रशोधन निर्माण कार्यको २६.८१ प्रतिशत, धोबीघाट ढल प्रशोधन केन्द्र निर्माण कार्य ७१.५ प्रतिशत र गोकर्ण हनुमानघाट ढल सुधार आयोजना निर्माणको ०.५ प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३ सय ७६ कित्ता जग्गाको मुआब्जा वितरण भइसकेको छ।

डीपीआरअनुसार पाँच वर्षमा सकिनुपर्ने उपआयोजना कहिले सम्पन्न हुन्छ यकिनसाथ भन्न नसकिने सूचना अधिकारी पन्त बताउँछन्। ‘हामीले अब याङ्ग्री र लार्के एउटै फेजमा सक्ने लक्ष्य राखेका छौं। सुरुमा लार्के नदीबाट एउटा हेडवक्र्स र दुई किलोमिटर जति टनेल बनाएर लार्के नदीको पानी 
याङ्ग्रीमा खसाइनेछ। त्यसपछि तलपट्टि याङ्ग्रीमा हेडवक्र्स र नौ किलोमिटर लामो टनेल बन्नेछ,’ पन्तले भने, ‘त्यो टनेलबाट याङ्ग्री र लार्केको पानी मेलम्ची नदीमा खस्छ। हामीले निर्माण गर्नुपर्ने मुख्य गरी नौ र दुई किलोमिटरको टनेल हो। यो पनि मेलम्ची नदीको पानी डाइभर्सन गर्न बनाइएको टनेलको सिकाइबाट बनाउने योजना छ।’

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ आयोजनाको दीर्घकालीन उपाय खोज्नुपर्ने बताउँछन्। ‘दीर्घकालीन उपाय भनेको दुई वर्षअघिको जत्रै बाढी, पहिरो आए पनि संरचनामा कुनै पनि क्षति नपुग्ने गरी बनाउने योजना हो। यसका लागि अहिलेको हेडवक्र्सभन्दा करिब ५/६ सय मिटर माथि सर्कथली भन्ने ठाउँ पहिचान भइसकेको छ’, उनी भन्छन्, ‘यसका लागि अहिले भएको सुरुङलाई ४ सय मिटर जति लम्ब्याउनुपर्ने र इन्टेकलाई करिब ६ सय मिटर माथि सार्नुपर्ने हुन्छ।’

अहिलेको अवस्थामा मेलम्ची खानेपानी आयोजनाले स्थानीयको सडक निर्माण, भवन निर्माण, सामाजिक उत्थानजस्ता कार्यक्रममा अल्झिरहनु परेको बताउँदै श्रेष्ठले भने, ‘सडकसँग सम्बन्धित काम सडक विभाग, खानेपानीको सवालमा खानेपानी विभाग, भवनको सन्दर्भमा भवन निर्माण विभागलगायत निकायले वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिदिने हो भने हाम्रो कामको रफ्तार बढ्नेछ। सानातिना काममा अल्झिन थाल्यौं भने हामी अड्किन्छौं।’

मेलम्चीलाई बाह्रैमहिना सञ्चालन गर्ने विषयमा सबै सरोकारवालाहरू प्रतिबद्ध हुनुपर्ने श्रेष्ठको भनाइ छ। ‘देशको गौरवको आयोजना भएको हुँदा मुलुकलाई नै समृद्ध बनाउने योजना पूरा गर्न सबै जुट्नुपर्छ’, उनी भन्छन्, ‘वर्षा लाग्न दुई महिना मात्र समय बाँकी रहेको अवस्थामा समिति पुनर्स्थापना भएको छ। द्रुत गतिमा काम गरेर बर्खायाममा पनि मेलम्चीको पानीलाई वितरण गर्न सके ठूलो सफलता हासिल हुनेछ।’ छोटो समय भएकाले सम्पन्न गर्न ठूलै चुनौती भए पनि कार्यकारी निर्देशक श्रेष्ठले उपलब्ध समयलाई अधिकतम उपयोग गरी बर्खामा पनि मेलम्ची बन्द गर्नु नपर्ने गरी आपूmहरूले तयारी गरेको बताए।

राजधानीवासीलाई पानी दिएबापत २५ प्रतिशत रोयल्टी दिए आयोजनालाई पूर्ण रूपमा सहयोग गर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्। ‘यो आयोजना सुरु गर्दा जलवायु परिवर्तनको कुरा थिएन, तर अहिले जलवायु परिवर्तनले गर्दा विभिन्न विपद् मेलम्ची खानेपानीको मुहान क्षेत्र हेलम्बु गाउँपालिकाले बेहोर्नु परेको छ’, उनले भने, ‘त्यसबापत हेलम्बुको जनताले रोयल्टी पाउनुपर्छ।’ रोयल्टी दिने हो भने आयोजनालाई पूर्ण रूपमा हेलम्बुका नागरिकले सहयोग गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.