जहाँ ‘माक्पा’ परम्पराले हटाइरहेको छ छोरा र छोरीको भेदभाव

जहाँ ‘माक्पा’ परम्पराले हटाइरहेको छ छोरा र छोरीको भेदभाव
गोरखाको धार्चे गाउँपालिका–१ हुलचुकको घले गाउँ । यहाँ ‘माक्पा’ बस्ने परम्परा छ। शिव उप्रेती
सुन्नुहोस्

गोरखा : ‘छोरी त बिहे गरेर गइहाल्छिन्। आमा–बुबाको रेखदेख गर्ने त छोराले हो’ भन्ने सोच अझै पनि नेपाली समाजमा पाइन्छ। तर, गोरखाको उपल्लो भेगमा वर्षौंदेखि चलेको ‘माक्पा’ परम्पराले यो सोचको खण्डन गर्छ। यसले छोराछोरी समान हुन् भन्ने उदाहरण वर्षौंदेखि दिइरहेको छ। माक्पा परम्परामा बाँचुञ्जेल रेखदेख गर्ने अनि मृत्युपछि काजकिरिया र अर्गुङ पनि गर्छन् भनेर छोरीप्रति समभाव छ। यो परम्पराअनुसार छोरा नभएको घरमा छोरी नै ज्वाइँसँगै बस्छिन्। 

धार्चे गाउँपालिका–१ हुलचुकका ३९ वर्षका ङिटुप घले ससुराली घरमा ‘माक्पा’ बसेको १७ वर्ष भयो। ७५ वर्षकी सासू सुनेवती र ७७ वर्षका ससुरा कम्रक्षाको रेखदेख गर्न उनी ससुरालीमै ‘माक्पा’ बसेका हुन्। कान्छीछोरी चेमेरानीलाई माग्न आउँदा नै ङिटुप र कम्रक्ष दम्पतीबीच माक्पा बस्नुपर्ने विषयमा सहमति भएको थियो। सहमति बनेपछि मात्र उनीहरूको बिहे भएको हो।

सोही गाउँका धम्पाल गुरुङको घरमा दुईजना ज्वाइँहरू माक्पा बसेका छन्। जेठी छोरीज्वाइँ सामेसाली र दुङरक्षा माक्पा बसेका छन्। माहिली छोरीपट्टिका छोरीज्वाइँ सङ्मेन्दो र रख्खेको दम्पती पनि माक्पा बसेका छन्। माक्पा भनेको यहाँको स्थानीय भाषामा ‘घरज्वाइँ’ हो। 

छोरा छैनन् र छोरी मात्र भएको घरमा सासू, ससुरा र उनीहरूको घरसम्पत्ति, जायजेथाको स्याहार सम्भार गर्न माक्पा बस्ने चलन रहेको स्थानीय धम्पल गुरुङको भनाइ छ। ‘हाम्रो हुलचुकमा २५० जति घरधुरी छन्। यहाँ अन्दाजी १५ घरधुरीमा माक्पा छन्’, उनी भन्छन्, ‘कोही घरमा एउटा छोरी ज्वाइँ मात्र बसेका छन्। कोही घरमा दुइटै छोरीज्वाइँ माक्पा बसेका छन्।’ छोरा नभएको घरमा बुबा–आमाको स्याहार सम्भार, रेखदेख गर्न छोरीज्वाइँ बस्ने चलन व्यावहारिक रहेको उनको भनाइ छ।

माक्पा बसेबापत उनीहरूले सासू–ससुराको घर, जायजेथा, श्रीसम्पत्ति सबै बराबर पाउने प्रचलन रहेको यहाँका पूर्ववडाध्यक्ष दिलिप गुरुङ बताउँछन्। ‘हाम्रो गाउँमा माक्पा बस्ने पुरानै चलन हो’, उनी भन्छन्, ‘छोरा भएको घरमा त बा–आमाको स्याहारसुसार उसैले गर्छ। जुन घरमा छोरा छैनन् अथवा छोरी मात्रै छन् भने कुनचाहिँ छोरीज्वाइँ माक्पा बस्ने भनेर बुबाआमाले सल्लाह गर्छन्। प्रायजसो कान्छी छोरीज्वाइँ माक्पा बस्ने चलन छ। सरसल्लाह गरेर बराबर सम्पत्ति बाँडेर लिने गरी अरू छोरीज्वाइँ पनि बस्न सक्छन्।’ 

माक्पालाई लालपुर्जा बनाएरै घरजग्गाको स्वामित्व सुम्पिने चलन छ। ‘अलिअलि सम्पत्तिचाहिँ काजकिरिया गर्ने भाइखलकलाई पनि दिनुपर्छ। धेरैजसोचाहिँ माक्पाले नै पाउँछन्’, धार्चे गाउँपालिका–५ का वडाअध्यक्ष भीमप्रसाद गुरुङ भन्छन्, ‘चाडबाडका बेला देउदेउता बुझाउन, धामीझाँक्री(डाङ्ग्रे)लाई दिने खर्च र बूढाबूढीको सेखापछि काजकिरिया गर्न भाइ खलकलाई दिनका लागि केही प्रतिशत छुट्ट्याउनुपर्छ। बाँकी सबै माक्पाकै भागमा हुन्छ।’ किरिया र अर्गुङ छोरीज्वाइँले नै गरे भने यो खर्च पनि छुट्ट्याउनु नपर्ने उनले बताए।

उत्तरी गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका सबै वडा र गाउँटोलमा ‘माक्पा’ परम्परा विद्यमान छ। यहाँ घरज्वाइँ बस्नु व्यावहारिक परम्परा मानिन्छ। ‘छोरा नभएको घरमा बूढाबूढीको स्याहारसुसार गर्नै पर्‍यो, जायजेथाको रक्षा गर्नै पर्‍यो। त्यो कसले गर्ने ? छोरीज्वाइँले त हो नि’, धम्पल गुरुङ भन्छन्।

कतैकतै भने नयाँ पुस्ताले घरज्वाइँ बस्नुलाई लज्जाको विषयका रूपमा पनि लिने गर्छन्। ‘ससुराली घरमा बस्न लाज मानेर हाम्रोतिरचाहिँ नयाँ पुस्ता अलि मान्दैनन्’, धार्चे ४ लाप्राकका राज गुरुङ भन्छन्, ‘बूढा पुराना पुस्तामा चाहिँ माक्पा बस्छन्। नयाँ पुस्तामा चाहिँ ससुराली घरमा बस्नचाहिँ नजाने, तर आफ्नै घरमा बसेर सासू–ससुराको स्याहार सम्भार गर्नमात्र जाने गर्छन्। बूढाबूढीको सेखापछि उनीहरूको सम्पत्तिचाहिँ छोरीज्वाइँले नै लिने गर्छन्।’ 

नजिक भएकाले आफ्नै घरमा बसेर सासू–ससुरालाई स्यहार गर्ने, टाढा भएकाहरू माक्पा बस्न जाने गरेको उनको भनाइ छ।

कुन व्यवस्थाले माक्पा बस्ने भन्ने बारे विवाह गर्नुअघि नै पर्याप्त छलफल गर्ने चलन रहेको चुमनुब्री ३ का गणेश कार्कीको भनाइ छ। ‘विवाह गर्नुअघि नै धेरै छलफल गरेर सबै कुराको टुंगो लगाएर माक्पा बस्ने चलन छ’, उनी भन्छन्, ‘यो यस क्षेत्रको पुरानो चलन हो। त्यसैले कुनै पनि कुरामा किचलो हुँदैन।’ माक्पा परम्पराका कारण यस क्षेत्रमा छोरा र छोरीमा भेदभावको अनुभूति नहुने उनको भनाइ छ। उनी थप्छन्, ‘तल्लो भेगतिर बिहे गरेर पराइको घरमा जाने भनेर छोरीलाई हेर्ने दृष्टिकोण हुन्छ। तर, हाम्रो तिरचाहिँ आफूलाई बुढेसकालमा लालनपालन, काजकिरिया छोराले पनि गर्छन्, छोरीले पनि गर्छन् भनेर छोरा र छोरीप्रतिको हेराइ उस्तै हुन्छ, भेदभावपूर्ण व्यवहार हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.