तराई हराभरा बनाउने सुनकोसी–मरिण डाइभर्सन
१३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्ग गत असोज २८ गतेबाट अटोमेटिक टनेल बोरिङ मेसिनद्वारा खन्न थालिएको हो।
हिमाल–पहाड र तराईलाई समृद्धिसँग जोड्ने सेतुका रुपमा हेरिएको ‘सुनकोसी–मरिन डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजना’ को प्रगति बढ्दै गएको छ। सुरुङ खन्न थालिएको सात महिनामा लक्ष्यभन्दा प्रगति धेरै भएको हो।
आयोजनाले चालू आर्थिक वर्ष २०७९/८० को भौतिक प्रगति ८० प्रतिशत हुने लक्ष्य राखेकोमा बढेर १२० प्रतिशत पुगेको आयोजनाका प्रमुख मित्र बरालले बताए। ‘सुरुङ निर्माणमा मात्र अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकामा यो १० महिनाको अवधिमा ४ दशमलव ५ प्रतिशत बढेर १३ दशमलव ८३ प्रतिशत पुगेको छ’, उनले भने।
लामो समयदेखि चर्चामा रहेको यस आयोजनाको गत असोज २८ गतेबाट अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा सुरुङमार्ग खन्ने कार्य थालिएको थियो। १३ दशमलव ३ किलोमिटर लामो सुरुङ मार्ग अन्तर्गत हाल ४ हजार ६६९ मिटर सुरुङ खनिएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित आयोजना स्थलमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गत असोज २८ गते टिवीएम मेसिनको स्वीच अन गरेपछि औपचारिक रूपमा सुरुङ मार्ग खन्न थालिएको थियो। यस राष्ट्रिय गौरवको आयोजनाको शिलान्यास २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। आयोजनाको सुरुङ मार्गमा हाल दुई पटक भौगर्विक समस्या आए पनि त्यसलाई समाधान गर्दै अघि बढाइएको बरालको भनाइ छ।
हाल सुनकोसी–मरिण डाइभर्सनको ४ हजार ६६९ मिटर सुरुङ खनिएपछि टनेलको दायाँबायाँ र माथिबाट पाउडर जस्तो ‘फिलाइट’ माटो दुई सय घनामिटरबढी झरेर टिविएम मेसिन थिचेपछि सुरुङ खन्ने कार्य रोकिएको छ। यसलाई हटाउन बाइपास निर्माण थालिएको छ।
अन्य समस्या नआए टनेल निर्माण कार्य आगामी १५ महिनाभित्र सकिने छ। सुनकोसी गाउँपालिका ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुरुङ मार्फत सुनकोसी नदीको पानी मरिणखोलामा खसालिनेछ। यो योजनाबाट ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादनसँगै तराईका जिल्लाहरू बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने सरकारी लक्ष्य छ।
सुरुङ मार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको थियो। ठेकेदार कम्पनीले झन्डै सुरुङ खन्ने मेसिन (टीबीएम) राख्न जनशक्तिमार्फत प्लेटफर्म निर्माण गरेको थियो। सुरुङको प्रवेशद्धारमा प्वाल पारेर दुई सय मिटर लामो प्लेटफर्म जनशक्तिमार्फत निर्माण भएपछि टीबीएम मेसिनबाट सुरुङ खन्न थालेको हो।
सुनकोसी–मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणकार्य राष्ट्रको समृद्धि र जनताको सम्पन्नताको दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ। यस आयोजना निर्धारित समयमा नै सम्पन्न हुँदा उर्जा उत्पादन, रोजगारको अवसर सिर्जना, खाद्यान्नमा आत्मनिर्भर बन्नुका साथै राष्ट्रिय असन्तुलित ब्यापारघाटा कम गर्न समेत सहयोग पुग्ने आयोजना प्रमुख बरालको भनाइ छ।
टनेल निर्माणपछि १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङ मार्फत मरिण नदिमा खसालिने छ। उक्त आयोजनामा ६४ मिटरको हेड हुने छ। सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित ६६ मिटर तल मरिण खोलामा खसालिने छ। मरिणमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ।
आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड ३९ लाख रहेको छ। हाल सुरुङ मार्ग सँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीले पाएको छ। पवर हाउस निर्माणका लागि १२ अर्बमा ठेक्का सम्झौता सकिएको छ। पवरहाउसको निर्माण कार्य २०८४ असार २५ गते भित्र सक्ने लक्ष्य छ।
आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडबक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन्। सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रूपमा लिएको छ। यो आयोजनाको चर्चा २०६६ सालदेखिनै हुँदै आएको थियो। यस आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक रूपमा उर्जाबाट २ दशमलव ७ र सिंचाईबाट ७ दशमलव ३ अर्ब गरी कुल दश अर्व आम्दानी गर्न सकिनेछ। आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
आयोजनाको प्रतिवेदनमा बीपी राजमार्ग ४२५ मिटर, खुर्कोट मन्थली सडकको एक किलोमिटर डुवानमा पर्ने उल्लेख छ। डुवानमा पर्ने राजमार्गको ९ सय मिटर सडक स्थान्तरणको कार्य छिट्टै थालिने छ।
आयोजनाबाट सिन्धुली र रामेछापका ५३२ घरधुरीका ४२३४ व्यक्तिहरू प्रभावित हुने छन्। उनीहरूलाई मुआब्जा दिएर अनेत्र सारिएको छ आयोजनाले हालसम्म ४२ हेक्टर जग्गा अधिग्रहण गरेको छ। उता आयोजनाले सुनकोसी–२ जलविद्युत् आयोजनाअन्तर्गत १ सय ४४ मेगावाट विद्युत् उत्पादन गर्नेसमेत लक्ष्य लिएको छ। सुनकोसी २ योजना सन् १९८५ मै जापानीज विज्ञहरूले अध्ययन गरेका थिए। सुनकोसी २ आयोजना सुनकोसी–मरिन डाइभर्सन बाँधभन्दा केही तलको दूरीमा निर्माण गरिने छ। यसका लागि पनि मन्त्रालयले विस्तृत अध्ययन गरिरहेको छ।
सुनकोसी–मरिन डाइभर्सन जलस्रोत तथा सिँचाइ विभागले ल्याएको अन्तर जलाधार स्थानान्तरण आयोजना माध्यको दोस्रो आयोजना हो। यसअघि अन्तर जलाधार स्थानान्तरण आयोजना अन्तरगत भेरीको पानी १२ किमि लामो सुरुङमार्फत बबई नदीमा खसालेर बिजुली निकाल्ने र सिँचाइ सुविधा पुर्याउने गरी भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण गरिएको थियो।