स्वर्गसरी शे–फोक्सुन्डो
डोल्पाको उत्तारी भेगमा पर्ने यो ताल नेपालकै गहिरो ताल हो, यसको गहिराइ एक सय ४५ मिटर छ।
डोल्पाको शे–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण रमणीय गन्तव्य बनेको छ। शे–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार, जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा जस्तै भन्छन् यहाँ आउने पर्यटकहरू।
डोल्पाकै सामाजिक अभियन्ता रामचन्द्र न्यौपानेले भने, पदयात्रामा रमाउने र यसको मजा लिनेहरूको लागि शे–फोक्सुन्डो तालको पदयात्रा महत्वपूर्ण छ। यो तालमा पुग्नको लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ। डोल्पाको प्रमुख आकर्षणको रूपमा रहेको यो तालमा जानको लागि चैत, वैशाख र जेठ महिना तथा भदौ, असोज र कात्तिक अति उत्तम महिना हो। कर्णाली आएपछि शे–फोक्सुन्डो ताल र उपल्लो डोल्पा नजानु भनेको फुर्सदमा पछुताउनु जस्तै हो।
डोल्पाको उत्तरी भेगमापर्ने शे—फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराई एक सय ४५ मिटर रहको छ। लम्बाइ ४ दशमलव ८ किमि चौडाइ १ दशमलव ६ किमि रहेको छ। सदरमुकाम दुनैदेखि झन्डै तिन दिनको पैदलयात्रा पछि शे—फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटकहरू तालको मनमोहक दृश्यबाट मोहित भएर ताललाई कसैले भू—स्वर्ग भनेर पुकार्दछन् भने कसैले नीलो हिराको रूपमा समेत चर्चा गर्दछन्। अर्को रिग्मो तालको नामले पनि चिनिने उक्त ताललाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा समेत समावेश गरिएको छ। निकुञ्जलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत प्रस्ताव गरिएको थियो।
ताल अवलोकनका लागि बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन्। यहाँको प्राकृतिक सौन्दर्यताको हिसाबमा कमै पर्यटकहरू आउने गरेको त्रिपुराकोटका स्थानिय रमानन्द उपाध्यायले बताए। उपल्लो डोल्पाको प्रकृति, संस्कृति र चालचलन, संस्कारलाई समेटेर निर्माण गरिएको एरिक भेलीे निर्देशित बहुचर्चित चलचित्र क्याराभान सुटिङ भएकाले पनि यस तालको महत्वलाई झनै बढाएको छ। ओस्कारमा पुग्न सफल उक्त चलचित्रमा तालको दृश्यहरू छायाङ्कन गरिएकाले याक खसालिएको स्थान हेर्नकै लागि समेत हजारौं पर्यटक पुग्ने गरेको स्थानिय तेन्जिन लामाले बताए।
उक्त ताल फोक्सो आकारकै भएकाले यसैका आधारमा यस तालको नाम शे—फोक्सुडो रहेको लामाको भनाइ छ। ताल वरिपरि एक फन्को घुम्नलाई झन्डै तिन दिन लाग्ने स्थानीयहरू बताउँछन्। क्षेत्रफलका हिसावमा नेपालकै ठूलो शे—फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने उक्त तालसम्म पुग्न ३१ किमि दुरी रहेको छ। तालसम्म पुग्न घुमाउरो घोरेटो बाटो हँुदै सुलिगाडको तिरैतिर जानुपर्छ। तालसम्म पुग्नका लागि सुलिगाड, काग्नी, साङ्टा, छेप्का, र्याची, बोर्डिङ पलमलगायतका बस्ती हुँदै जानुपर्छ।
बाटोबाटोमा स्थानियहरूले पर्यटकहरूलाई खान बस्नका लागि सुविधा युक्त होटलहरूको व्यवस्था छ। तालको छेवैमा खालि जमिन भएकाले पर्यटकहरूलाई क्याम्पिङका लागि सजिलो भएको पर्यटन व्यवसायीहरू बताउँछन्। उक्त ताल पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइमा धेरै परेपनि बाह्य पर्यटक भने कमै आउछन्। तालको सुन्दरताले एक दिनको योजना बनाएर पुगेका जो कोही तीन चार दिनसम्म बस्ने गरेका छन्। बाटोमा बिभिन्न जातका फूल तथा नावर घोरलका बथानहरूसमेत देख्न पाइन्छ। ताल घुम्ने क्रममा सांस्कृतिक धरोहर चिस्तुम गुम्बाको समेत अवलोकन गर्न सकिन्छ। बाटोबाटोका ढुङ्गाहरूमा तिब्बती भाषामा विभिन्न धार्मिक कथनहरू कुँदिएका शिलालेखहरूसमेत देख्न पाइन्छ भने नजिकै बस्ती भएको संकेत गर्नका लागि काठका बेरिएका थान्काहरू समेत देख्न पाइन्छ। यस्ता ध्वजा पतकाहरूले ताल आसपासको वाताबरण झनै मनमोहक बनाइदिएको छ।
डोल्पाको ९ सय वर्ष पुरानो रिङ्मो गाउँमा ३० देखि ४० हजार वर्ष अगाडि पहिरोबाट रोक्ने बाँध बाँध्दा रिङ्मो ताल बनेको भन्ने जनश्रुति र विश्वास कायम छ। बाँध बाँधेसरी तालको पानी बगेर चट्टानबाट झर्दा १ सय ६७ मिटर अग्लो सुलिगाड झरनाको रूपमा मनोरम दृश्य देख्न पाइन्छ। शे–फोक्सुन्डो तालसम्म पुग्नको लागि निकुञ्ज क्षेत्रमा पदयात्रा गर्नुपर्ने हुँदा यहाँ पाइने विभिन्न प्रजातिका पुतलीहरू र २ सयभन्दा बढी प्रजातिका चराचुरूङ्गीहरू हेर्ने दुर्लभ अवसर पनि मिल्छ। हिँड्दा नाउरको बथान सँगको जम्काभेट र हिँडेको दृश्यले झनै मन लोभ्याउँछ। रिङ्मो गाउँमा ६० भन्दा बढी घरहरूका साथै सुविधायुक्त होटल र होमस्टे छन्। होमस्टेमा अर्गानिक खानाको स्वाद लिँदै सुन्दर प्रकृतिसँग रमाउँदै हिमाली हावाको स्पर्श लिन पाइन्छ। अनि निर्दोष डोल्पो जनजातिहरूको सत्कार र आतिथ्यले सबैलाई लोभ्याइरहेको पनि हुन्छ।
तालको पूर्व र दक्षिणतिर रहेको कोणधारी जंगलले ताललाई अझै मनमोहक बनाएको छ। गाउँ नजिकको क्याम्प साइटमा वल्र्डलिंकको फ्री वाईफाई प्रयोग गर्न पाइन्छ। जसले विश्वको कुनामा तालबाट कुरा गर्न र तालको दृश्य सेयर गर्न सकिन्छ। तालको दक्षिण पश्चिम किनाराबाट चट्टान काटेर हिँड्ने बाटो छ। यही भिरबाट क्याराभान फिल्ममा चौंरी खसेको दृश्य खिचिएको रहेछ। तल्लो डोल्पादेखि उपल्लो डोल्पासम्मको संस्कृति, वेशभूषा र रहनसहनको अनुभव लिन पाइन्छ। अनि यहीबाट शे–गुम्बा हुँदै उपल्लो डोल्पा र मदुवा, टेम्चे, बागलफेदी भएर धो–तरापसम्मको पदयात्रामा जान सकिन्छ। निलो फोक्सुन्डो ताल, ९०० वर्ष पुरानो रिङ्मो गाउँ, परम्परागत घरहरू, फोक्सुन्डो ताल वरपरका २० वटा गुम्बाहरू, थासुङ छोलिङ गुम्बा र सुलिगाड झरना लगायतका आकर्षणहरूले गर्दा यहाँ आउन सबैलाई मोहित गरेको हुन्छ।
मोटरसाइकल ‘ट्रेक’को ‘हव’ बन्दै
डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ। शे–फोक्सुन्डो ताल हेर्न देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरिभराउ भएसँगै बिस्तारै डोल्पा पनि मोटरसाइकल ‘ट्रेक’ को ‘हब’ बन्न थालेको हो।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा संकलित तथ्यांक अनुसार वार्षिक रुपमा झन्डै ५ हजार पर्यटकले फोक्सुन्डो ताल मोटरसाइकलबाटै आएर अवलोकन गर्ने गरेका छन्। शे–फोक्सुन्डो घुम्ने आउनेमा प्रायः आन्तरिक पर्यटक रहेका छन्। यसवर्ष हवाई जहाज र गाडीबाट भन्दा पनि मोटरसाइकल ‘ट्रेक’ गरेर धेरै पर्यटकहरू घुम्न आएको निकुञ्जले जनाएको छ। सडक सञ्जाल जोडिएसँगै देशका जुनसुकै जिल्लाबाट पनि सिधै सदरमुकाम दुनैसम्म सरर... मोटरसाइकलमा पुग्न सकिन्छ। दुनैबाट सुलिगाड हुँदै दुई दिनको पैदल यात्रा गरेर पर्यटकीय नगरी फोक्सुन्डो ताल पुग्न सकिन्छ।
मोटरसाइकल पार्किङ गर्ने ठाउँ नभएर बाटोमै मोटरसाइकल छोडेर भए पनि दुई दिनको पैदल यात्रा गरेर पर्यटकहरू फोक्सुन्डो हेर्न पुग्ने गरेका छन्। यसवर्ष पर्यटकलाई महँगो मोटरसाइकल भन्दा पनि फोक्सुन्डो तालको मनमोहक सौन्दर्यताको रसपान गर्ने हुटहुटीले बाटोमै मोटरसाइकल राखेर फोक्सुन्डो जाने गरेका छन्। सडक मार्गपछि हवाई माध्यामबाट पनि डोल्पा पुग्न सकिन्छ। नेपालगञ्ज विमानस्थलबाट जहाजमा सजिलै ३५ मिनेटको यात्रा गरेर जुफाल विमानस्थल पुग्न सकिन्छ। नेपालगञ्ज एयरपोर्टमा पहुँच नभएका आन्तरिक पर्यटकले टिकट पाउने अवस्था एकदमै कम छ। पैसा खर्च भएर पनि जहाज चढ्न पाइदैन्। त्यसैले पनि मोटरसाइकलको यात्रा सहज हुन्छ। सडकमार्गबाट ठाउँ–ठाउँको भूगोल, रहनसहन, बसुस्थिति र जीवनशैली नियाल्दै फोक्सुन्डो पुगिन्छ।
शे–फोक्सुन्डो गाँउपालिका अध्यक्ष धावासुन्डुक गुरुङले शे–फोक्सुन्डो तालको प्रचारका साथै डोल्पाको समग्र पर्यटनसँग जोडिएको शे मेलाको तयारी थालिएको बताए। उनले भने, सबै नेपाली र नेपाल बाहिरका पर्यटकहरूलाई डोल्पामा हामी स्वागत गर्छौँ। हरेक १२ वर्षमा एकपटक लाग्ने डोल्पाको शे मेला आगामी २०८१ सालको भदौ पूर्णिमाको दिन लाग्दैछ।
आगामी आर्थिक वर्षको बजेटमा पनि त्यो मेलालाई मुख्य प्राथमिकता दिने योजना छ। हामीले व्यवस्थित पर्यटन पदमार्गका साथै अन्य सेवा सुविधाका लागि बजेट आवश्यक छ। डोल्पाको लोक संस्कृति, भेषभूषा र यहाँको ऐतिहासिक धार्मिक संस्कृतिको प्रचार कमै भएको छ। त्यो सबै थाहा पाउने हो भने डोल्पा पर्यटकको ओइरो लाग्छ। हामी क्रमशः ठोष कार्यक्रम बनाएर कार्यन्वयन गर्दैछौं।