त्रियुगा नगरपालिकामा एकैदिन तीन योजना शिलान्यास
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा एकै दिन तीन योजना शिलान्यास भएको छ।
आर्थिक वर्ष सकिनै लाग्दा नगरपालिकाले विकास निर्माणका कामलाई गति दिने क्रममा नयाँ योजनाको पनि शिलान्यास गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृतको विवादले झण्डै दुई महिनादेखि प्रभावित बनेका विकास निर्माण र प्रशासनिक कामकाजलाई नगरपालिकाले समयसीमा भित्रै सम्पन्न गर्ने योजना बनाएर कामलाई गति दिएको मेयर वसन्तकुमार बस्नेतले बताए।
मेयर बस्नेत र उपमेयर महेश्वरी राईले एकैदिन तीन वटा योजनाको शिलान्यास गरेका छन्। नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नम्बर ७ स्थित माध्यमिक विद्यालय कालिखोलाको शैक्षिक गुणस्तर सुधार गर्न चार कोठे सुविधा सम्पन्न भवन उपलब्ध गराएको हो। उक्त भवनमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरिने बताइएको छ।
३९ लाख ५० हजार ७७६ रुपैयाँको लागतमा सुरु गरिएको भवनको पूर्वप्रदेश मन्त्री तथा सांसद हिमाल कार्की, मेयर बस्नेत र उपमेयर राईले संयुक्त रूपमा शिलान्यास गरे।
उक्त भवन असार १५ गतेभित्र सम्पन्न गर्ने गरी आरविएल निर्माण सेवा चुहाडेले जिम्मा लिएको वडाध्यक्ष अम्बरबहादुर दनुवारले बताए।
वडा नम्बर ७ स्थित ककनी खोला वर्खामा वारपार गर्दै आएका स्थानीयलाई लक्षित गरी १४ लाख ८९ हजार ५९० रुपैयाँको लागतमा पुल निर्माणको तयारी गरिएको वडाध्यक्ष उनले बताए।
शहरे–ककनी हुँदै उदयपुरगढी गाउँपालिका-७ स्थित हाडेवास–तित्रिबोटसम्म पुग्नेगरी निर्माण गर्न लागिएको ९ मिटर लामो पुलको चौधरी कन्ट्रक्सनले जिम्मा लिएको छ।
त्यस्तै वडा नम्बर ७ स्थित होक्से खोला वारपार गर्न २० लाख ८२ हजार ४२८ रुपैयाँको लागतमा १५ मिटर लामो पुल निर्माण सुरु गरिएको छ।
सडक सञ्जाल जोडिएर पनि वर्षाको समयमा पुलको अभावमा कष्टकर जीवन बिताइरहेका स्थानीयको सहजताका लागि पुल निर्माण गर्न लागिएको दनुवारले बताए।
उनका अनुसार पुल निर्माणको जिम्मा आरविएल निर्माण सेवाले लिएको छ। उपमेयर महेश्वरी राईले तोकिएको समय भित्र सबै विकास निर्माणका काम सम्पन्न हुने बताइन्।