मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बेंसीसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
निश्चित सूचकहरू पूरा गरेको आधारमा मंगलबार एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेका हुन्।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि चैत मसान्तभित्र जन्मिएदेखि १५ महिना र १६ देखि २३ महिनाको पाइरहेका, पाइसकेका र छुटेका बालबालिकाहरूको खोपको घरभेट सर्वेक्षण गरिएको थियो। सो अवसरमा वडा नम्बर ९ मा छुटेका दुई बालबालिकालाई खोप दिइएको थियो।
गाउँपालिकामा जन्मेदेखि १५ महिनाका २ सय ४२ र १६ देखि ४९ महिनाका ५ सय ५२ जना बालबालिकाले सबै प्रकारका खोप लगाएको तथ्यांक रहेको पब्लिक हेल्थ नर्स मोनिका तामाङले जानकारी दिइन्।
गाउँपालिकामा १३ वटा स्वास्थ्य संस्थाले २७ वटा खोप केन्द्रबाट हरेक महिना तोकिएको मितिमा नियमित रूपमा खोप सेवा प्रदान गर्दै आएको छ। पालिकालाई २०७४ चैत ३० गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सबै स्वास्थ्य संस्थामा संघीय संरचना अनुरूपको निर्देशिका अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समिति र वडा खोप समन्वय समितिको गठन भई आआफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरिरहेको बताए।