मुलुकको आर्थिक अवस्था छिट्टै राम्रो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
दोलखा : प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'ले मुलुकमा रेमिट्यान्स र बैंकको तरलता सहज भएको बताएका छन्।
बैंकको तरलता सहज भएकाले केही दिनभित्रै ब्याजदर घट्ने र मुलुकको आर्थिक अवस्था राम्रो हुने उनको दाबी थियो। उनले आगामी बजेटमा कृषि र उत्पादन क्षेत्रलाई जोड दिने र दोलखाको जिरी-माली-श्यामा सडक कालोपत्रे गरेर पर्यटकीय विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री प्रचण्डले दोलखाको जिरी नगरपालिका वडा नम्बर २ मालिमा पुनःनिर्माण गरिएको ङ्याग्युर येश्ये ख्युङ्जोङलिङ गुम्बा उद्घाटन गरेका थिए। भारतका लामा गुरु स्यारपुर धम्च्यो ग्याच्छो रिन्पुछेकोेसाढे ३ करोड सहयोगमार्फत् निर्माण भएको गुम्बा आज उद्घाटन भएको हो।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले गुम्बामा पूर्णरूपमा क्षति पुर्याएको थियो। भूकम्पले गुम्बामा क्षति पुर्याएको केही महिनापछि निर्माण कार्य सुरु गरिएको भए पनि आठ वर्षपछि आज उद्घाटन गरिएको हो।