कर्णालीलाई प्रकाश, लुम्बिनीलाई पानी
चुरे क्षेत्रको पहाडमुनि सुरुङ खनेर भेरीको पानी बबई नदीमा खसाल्ने योजनालाई सुरुमा धेरैले पत्याएनन्। कतिपयले त यो योजना सम्भव नै नभएको जिकिर पनि गरे। तर सरकारले भेरीको पानी बबईमा खसालेर सिँचाइ र विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अगाडि बढायो।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढेको यो आयोजनाको हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। यो आयोजनाका मुख्य दुई वटा उद्देश्य छन्। पहिलो आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन हुनेछ।
दोस्रो उद्देश्यअन्तर्गत लुम्बिनी प्रदेशका बाँके र बर्दियामा रहेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। २०७१ सालबाट सुरु भएको यो आयोजनाअन्तर्गतको पहिलो चरणको काम तोकिएको अवधिभन्दा एक वर्षअगाडि नै सम्पन्न भइसकेको छ।
अर्थात् जटिल मानिएको १२ किलोमिटर सुरुङ खन्ने काम सफल भएको छ। सुरुङ निर्माण सम्पन्न भएसँगै हाल भेरी नदीमा बाँध निर्माण गर्ने र विद्युत्गृह निर्माणको काम जारी छ।
भौतिक विकासमा पछाडि परेको कर्णालीका लागि यो आयोजनाको काम अगाडि बढेपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ। भेरी–बबई डाइभर्सन आयोजना कर्णालीमा हाल निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो।
यसकारण पनि कर्णालीवासीले यो आयोजनालाई आफ्नो समृद्धि र विकासको मेरुदण्डका रूपमा लिएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने योजना छ। यसकै लागि हाल बाँकी रहेका कामहरू भइरहेका छन्।
यो आयोजना सम्पन्न भएमा मुख्यगरी कर्णाली र लुम्बिनी प्रदेशले लाभ लिनेछन्। आयोजनाबाट उत्पादन हुने विद्युत्का कारण कर्णालीमा विद्युतीकरण तीव्र हुनेछ। यसबाट हाल अन्धकारमा रहेका बस्तीहरूमा उज्यालो छाउने अपेक्षा गरिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५ का रमेश पौडेल भन्छन्, ‘विद्युत् अभावकै कारण कर्णालीमा ठूला उद्योगहरू सञ्चालन हुन सकेका छैनन्, यो आयोजना बनेपछि कर्णालीले विद्युत् पाउनेछ। बस्तीको अन्धकार हटेर उद्योग चलेपछि हामीले गाउँमै रोजगारी पाउने छौं, यसले कर्णालीको आर्थिक विकासमा पनि टेवा पुग्नेछ।’
यस्तै लुम्बिनीका बाँके र बर्दियामा पर्याप्त खेतीयोग्य जमिन छ। तर भरपर्दो सिँचाइको सुविधा नहुँदा किसानले आकाशेपानीको भरमा खेती गर्दै आएका छन्। तर यो आयोजना निर्माण सम्पन्न भएको खण्डमा त्यहाँका ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।
यसबाट लुम्बिनीमा रहेको खेतीयोग्य जमिन हराभरा हुने आयोजनाको दाबी छ। सिँचाइ सुविधा उपलब्ध भएमा लुम्बिनीका किसानले सिँचाइको अभावमा हाल भोग्दै आएको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ।
आयोजनामा स्वदेशी लगानी
यो आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो। आयोजनाको सबै खर्च नेपाल सरकारले नै बेहोर्ने छ। २०७१ साल चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो आयोजनाको शिलान्यास गरेका थिए।
त्यसपछि आयोजनाको काम अगाडि बढेको हो। पहिलो चरणमा सुरुङ निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने योजना छ। यस्तै तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए।
सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ। आयोजनाका सूचना अधिकारीसमेत रहेका सुवेदी भन्छन्, ‘आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत भएको छ, हाल बाँध र विद्युत्गृह निर्माणको काम ४२ प्रतिशत सम्पन्न भइसक्यो। आर्थिक वर्ष २०८२–२०८३ मा आयोजनाको सबै काम सक्नेगरी हामी लागिरहेका छौं।’ उनका अनुसार यो आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड अनुमान गरिएको छ। सोही बजेटमा काम सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए।
सुरुङ निर्माणपछि बढ्यो उत्साह
यो आयोजनामा निकै कठिन र चुनौतीपूर्ण मानिएको थियो सुरुङ खन्ने काम। तर उक्त काम तोकिएको मितिभन्दा एक वर्षअगाडि नै सम्पन्न भयो। नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम)मार्फत यो आयोजनाको सुरुङ निर्माण गरिएको छ। यही काम सफल भएपछि आयोजनाको बाँकी काम निर्माणमा थप उत्साह थपिएको आयोजनाले जनाएको हो।
चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सिँचाइ विभागसँग गरेको सम्झौता अवधिभन्दा एक वर्षअगाडि नै सुरुङ निर्माण गरेको हो। सम्झौताअनुसार २०७६ चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो।
तर निर्माण कम्पनीले तोकिएको मितिभन्दा एक वर्षअगाडि नै २०७५ मै सुरुङ तयार गरेर आयोजनालाई हस्तान्तरण गरिसकेको छ। जसको २०७६ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँध निर्माणस्थल चिप्लेमै पुगेर सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका थिए।
डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
अबको डेढ वर्षभित्र आयोजनाले निर्माणका सबै काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्नेगरी काम भइरहेको जनाएको छ। ‘दुई वर्ष त कोरोनाले आयोजनाको ठूला कामहरू प्रभावित भए’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सुवेदी भन्छन्, ‘गत वर्षको बाढीले पनि नदीमा बाँध निर्माणमा समस्या भयो, तर अब कुनै अवरोध नआएमा अबको डेढ वर्षभित्र सबै काम सक्ने तयारीमा छौं।’ तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको उनले बताए। आयोजनामा हाल विद्युत्गृह र नदीमा बाँध निर्माणको काम जारी छ।
भेरीको पानी बबई नदीमा खसाल्नका लागि सुर्खेतको चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माणको काम भइरहेको छ। जहाँ एक सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ। यस्तै तेस्रो चरणअन्तर्गतका हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कामहरू पनि जारी रहेको आयोजनाले जनाएको छ।
आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्छ। त्यसकारण पनि आयोजनाले प्रभावित स्थानीयलाई मुआब्जा वितरण गरिसकेको छ। यद्यपि ऐलानी जग्गा भएकाको मुआब्जा दिनका लागि प्रक्रिया चलिरहेको आयोजनाले जानकारी दिएको छ।