बाघ पर्यटन

बाघ पर्यटन

बर्दियाको आकर्षण हो, पाटेबाघ। बाघ बढेसँगै यहाँको पर्यटन व्यवसाय पनि फस्टाउँदै गएको छ। पर्यटकीय चहलचहल बढेपछि होटल क्षेत्रमा अर्बौं लगानी गरिएको छ। 

निकुञ्जका मध्यवर्ती क्षेत्रहरूमा साना–ठूला होटलहरू खुल्न थालेका छन्। स्थानीय क्षेत्रमा सामुदायिक तथा व्यक्तिगत होमस्टेहरू खोलिँदा बढ्दो पर्यापर्यटनले आर्थिक उपार्जनमा समेत वृद्धि गरेको छ।

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नकै लागि पर्यटकहरू आउँछन्। यहाँ आउने पर्यटकले कम्तीमा २ देखि ४ दिन बिताउने गरेका छन्। बर्दिया निकुञ्ज आसपासमा मात्रै साना ठूला गरी ३२ वटा होटल सञ्चालनमा छन्। 

यी होटलमा करिब चार अर्ब लगानी भएको होटल संघ नेपाल बर्दिया च्याप्टरका अध्यक्ष एवं थारू होम रिसोर्ट ठाकुरद्वाराका सञ्चालक मोहन चौधरीले बताए। बाघ बढाउने अभियानमा बर्दियाले क्रमभंग गरेको छ। बाघ हेर्नकै लागि जानुपर्ने विश्वको दसौं गन्तव्यमा बर्दिया परेको चौधरी बताउँछन्। 

कोरोनाकालमा भने पर्यटनमा केही कमी महसुस गरेका छन्। बर्दियाको पर्यटन विकासका लागि सरकारी स्तरबाट चासो लिइनुपर्ने उनको भनाइ छ।

नेपालमा एक दशकमा लोपोन्मुख पाटेबाघको संख्या बेजोडले वृद्धि भएको छ। दशकअघिको तथ्यांकमा देखिएका १ सय ९८ वटा पाटेबाघहरू बढेर ३ सय ५५ वटा पुगेको छ। सन् २०१३ मा नेपालमा सार्वजनिक गरिएको पाटेबाघको संख्या २०२३ सम्म आइपुग्दा १ सय ५७ वटा वृद्धि भएको छ। 

रुसको सेन्टपिटर्सवर्गमा बाघ पाइने देशहरूले गरेको बाघ दोब्बर बनाउने प्रतिबद्धतालाई नेपाललाई सफल बनाउन यो संख्या कामयाव बन्यो। ७० को दशकान्तमा देशैभर लोपोन्मुख पाटेबाघ वृद्धिको उत्साह छाइरह्यो। जुन अवधिमा नेपालमा सबैभन्दा बढी बर्दियामा ७५ वटा बाघ बढे। 

त्यसैगरी क्रमशः पर्सामा ३८, बाँके २१, शुक्ला १९ र सबैभन्दा कम चितवन राष्ट्रिय निकुञ्जमा ८ वटा मात्र पाटेबाघ बढेको तथ्यांकमा देखिन्छ। सन् २०१३–२२ को तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२०–१२८, बर्दियामा ५०–१२५, पर्सा ७–४१, शुक्ला १७–३६ र बाँके राष्ट्रिय निकुञ्जमा ४–२५ वटा बाघ पुगेका छन्। नेपालमा बाघको संख्या बढेपछि मानव–बाघबीच द्वन्द पनि बढेको छ। 

‘बाघ र मानव एकसाथ रहन सक्छन्, यो हामीमा निर्भर हुन सक्छ भन्ने मूल मन्त्रसहित बर्दियामा गरिएको राष्ट्रिय बाघ कार्यशालाले मानव-बाघबीचको द्वन्द्व प्रमुख समस्याको रूपमा विकराल बन्दै गइरहेको निचोड निकालेको छ। 

बाघ विज्ञ, वैज्ञानिक, विभागीय टिम, संरक्षण क्षेत्रमा कार्यरत संरक्षणकर्मीलगायत जैविक विविधताका प्रोफेसरहरूको मन्थनले बाघ संरक्षण चुनौती उन्मुख बनेको ठहर गरेको छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले भने। 
मानव–बाघ द्वन्द्व न्यूनीकरण, बढेका तथा क्याप्चर गरेका बाघ व्यवस्थापन, बाघ संरक्षणका चुनौती, बासस्थान, आहारा प्रजाति, चोरी सिकारलगायतका विषयमा थप अध्ययन आवश्यक छ। 

बाबरियाबाट हुने बाघको चोरी सिकार र बाघले समुदायमा धनजनको क्षति पुर्‍याएपछि बाघ माथि हुने प्रतिआक्रमण पछिल्लो समय चुनौतीको रूपमा देखिन्छ।
विश्वव्यापी बाघ संरक्षणको अभ्यासलाई पनि अनुशरण गर्नुपर्छ। पाँच प्रतिशत बाघमात्र आक्रमणकारी हुने भएकाले सबै बाघलाई एउटै नजरले हेर्नु हुँदैन। 

बाघ समाते पनि व्यवस्थापन गर्न कठिन रहेको एनटीएनसीका संरक्षण अधिकृत डाक्टर कडरियाले बताउँछन्। आक्रामक बाघ समातेपछि राख्ने ठाउँ प्रभावकारी छैनन्। त्यसैले सबै बाघ समाउनुभन्दा वास्तविक आक्रामक बाघ पहिचान गरी व्यवस्थापन गर्नुपर्छ। 
बर्दियालगायत देशैभर उद्धार गरिएका बाघ व्यवस्थापन प्रमुख चुनौतीका रूपमा खड्किएको छ। कडरियाले थपे कस्ता बाघ समाउने भन्ने पहिचान र समातिएको बाघ कहाँ राख्ने भन्ने धेरै समस्या छ। पर्खाल लगाएर मानव–बाघ द्वन्द्व घट्दैन। मानव व्यवहार परिवर्तन गर्नुपर्ने आवश्यकता छ। जंगल माथिको परनिर्भरता कम गर्नुपर्छ। 

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सिनियर संरक्षण अधिकृत डा.बाबुराम लामिछानेले नदी तटीय क्षेत्रमा बाघको घनत्व बढी रहेको बताए। बाघको संख्या अझै बढ्दो क्रममा छ। भालेभन्दा पोथी बाघको संख्या बढी छ। 

बर्दियामा प्रतिस्क्वायर किलोमिटर ७ वटा बाघ छन्। बाघको घनत्व बढेकाले एउटै क्यामरा ट्रापमा बर्दियामा ६ वटा बाघ परेको छ। चितवन, शुक्ला र बाँके निकुञ्जमा बर्दियाको तुलनामा कम छ। 

बाघ व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उनले प्रष्ट्याए। आक्रामक बाघ व्यवस्थापनका क्रममा सुरुमा कस्तो बाघ द्वन्द्वमा छ त्यो पत्ता लगाउनुपर्ने अनुभव उनले सुनाए। घाँस, दाउरा लिन जंगल जाने र झुकेर घाँस, दाउरा, निउरोको साग संकलन गर्न जंगलभित्र जानेलाई बाघले आक्रमण गरेको उनले बताए। 

एक महिनाअघि बर्दियाको मधुवन नगरपालिका-५ स्थित चिरौटे सामुदायिक वनमा दाउरा खोज्न पुगेका स्थानीय ५५ वर्षीया महिला समुन्द्री बुढाक्षेत्री र ५० वर्षीया धनसरी गुरुङ पाटेबाघको आक्रमणमा परी ज्यान गुमाए। 

दिउँसोको समयमा जंगल पुगेका उनीहरू घर नफर्किएपछि खोजी गर्ने क्रममा दुवै महिलाको शव फेला पर्‍यो।

भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा अवस्थित खाता सामुदायिक वन क्षेत्रमा पछिल्लो समय घटना हुने क्रम बढेको छ। 

पटकपटक बाघले आक्रमण गर्दै आएको खाता जैविकमार्ग क्षेत्रमा हालसम्म बाघको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए। चालू वर्षमा चार जनाले ज्यान गुमाइसकेका छन्। जैविक मार्ग क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व घटाउन सरकारले बनको अपनत्व लिनुपर्छ। सो क्षेत्रमा बेलाबेलामा घाइते बाघ आउने गर्छ।

बाघको संख्या बर्दियामा १ सय २५ वटा छन्। समुदाय मिलेर बन जोगायौं। वन्यजन्तु बढे। बाघ बढेपछि समुदायलाई चिन्ता बढेको उनले सुनाए। अब जनताको सुरक्षा गर्न राज्य चनाखो हुनुपर्छ अन्यथा जटिल परिस्थिति निम्तिन सक्छ। वनमा आश्रित परिवारलाई सरकारले वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्छ। त्यसको अर्थ बाघ भने घटाउनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.