विश्वविख्यात नेपाली चिया
१६० वर्षअघि इलाममा रोपिएको चियाले अहिलेको चर्चा कमाउला भनेर सायद रोप्नेले पनि कहिलै सोचेनन् होला। २०२० सालमा पहिलो पटक सरकारका तर्फबाट चिया रोपेको इलाममा २०३३ सालदेखि किसानको बारीमा समेत चियालाई पुर्याउन थालियो।
यसका सूत्रधार थिए, इलामको सूर्योदय नगरपालिका ११ का तारानाथ शर्मा (अधिकारी)। शर्माले बेलायती नागरिक रोबर्ट विलियमको सल्लाहमा इलामका किसानको बारीमा समेत चिया प्रवर्द्धन सुरु गर्ने कामको अगुवाइ गरे।
उनले चियाको ‘स्वाद’लाई बुझेका थिए। तर, कृषकलाई बुझाउन सकस थियो। अभियान सफल भयो। चिया क्षेत्रका अवैतानिक डाक्टर जस्तै लाग्ने शर्मा भन्छन्, ‘अहिले नेपालको अर्थतन्त्रको एउटा हिस्सा नै चिया बनेको देख्न पाउदा हर्ष लाग्छ।’
शर्मा भन्छन्, ‘नेपाल चिया विकास निगमका तत्कालीन सल्लाहकार बेलायती नागरिक रोबर्ट विलियम वेलले ‘आउट ग्रोअर्स टी स्किम प्रणाली’अन्तर्गत चियालाई किसानसम्म पुर्याउने विधि सिकाउनु भएको थियो।’
पछिल्लो पटक नेपाली अर्थोडक्स चिया चीनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भएपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा अर्को उचाइ पाएको छ।
चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेपछि नेपाली चिया उद्यमीहरूमा थप आशा पलाएको इलामको सूर्योदय नगरपालिकाको गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईंले बताउँछन्।
चापागाईंले भने ‘अब हाम्रो चियाले छलाङ नै मार्छ तर सरकारले व्यापार सहजीकरणमा साथ दिनुपर्छ।’ चापागाईं हाम्रो (नेपालको) चिया राम्रो रहेछ भन्ने प्रमाणित भइसकेको बताउँछन्। उनले अन्तर्राष्ट्रिय बजारमा चिया कारोबारका लागि बैंकिङ कारोबार र व्यापारमा सहजीकरण गर्नुपर्ने बताए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंकाजस्ता देशहरूसँग कडा प्रतिस्पर्धा गर्दै नेपालले सफलता हासिल गरेको हो। बोर्डले भनेको छ, ‘यो प्रकारको अवार्ड प्राप्त गर्नु भनेको विश्व बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको प्रमाणित हुनु हो।’
प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ। नेपालले अन्तर्राष्ट्रिय टेस्टरबाट सबै खाले परीक्षणहरू पार गरेर नेपाली चियाले अवार्ड पाएको हो।
तीनजुरेको चिया विश्व मञ्चमा उत्कृष्ट भएपछि सहकारीले उत्पादन गर्दै आएको चियाको माग तेस्रो मुलुकमा बढेको सहकारीको व्यवस्थापक पदम तामाङले बताए। उनले सुनाए, ‘पछिल्लो पटक फ्रान्सबाट २१ सय किलो चियाको माग आएको छ।’ सहकारीले अमेरिका तीन हजार किलो पठाइसकेको छ।
पहिले पनि निदरल्यान्ड र अमेरिका चिया जाने गरेको उनले सुनाए। वार्षिक ११ हजार किलो चिया उत्पादन गर्ने सहकारीले पाँच हजार किलो तेस्रो मुलुक र बाँकी स्वदेशी बजार र भारतमा बिक्री गर्ने गरेको छ। स्थानीय बजारमा गुणस्तर अनुसार १६ सयसम्ममा बिक्री गर्ने सहकारीले तेस्रो मुलुकमा प्रतिकिलो दुई हजारभन्दा माथि चिया बिक्री गर्ने गरेको व्यवस्थापक तामाङले बताए।
सहकारीले आफ्नो उत्पादनलाई अग्यानिक प्रमाणीकरण गरेको छ। रेन फरेस्ट प्रमाणीकरणसमेत गरेको सहकारीले यही साल फेयर ट्रेड प्रमाणीकरणको समेत प्रमाण पत्र पाउँदै छ। तामाङले भने, ‘चियामा मेहनत छ तर किसानलाई बचाउने पनि चिया
नै भएको छ।’
प्रतिस्पर्धामा चिया उत्पादक उद्योग, हिमालयन सांग्रिला चिया उत्पादक, गोरखा टी स्टेट प्रालि, सिद्धदेवी चिया स्टेट प्रालि, कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योगले गोल्ड मेडल प्राप्त गरे।
बोर्डले मुलुकका ४० वटा चियाका नमुना संकलन गरी स्वाद एव गुणस्तर परीक्षण गरेर १६ वटा नमुनालाई प्रतिस्पर्धाका लागि चीन पठाएको थियो। प्रतिस्पर्धामा अन्य पाँचवटा कम्पनीले गोल्ड मेडल र चारवटा कम्पनीले सिल्भर मेडल प्राप्त गरेको बोर्डले
जनाएको छ।
चापागाईंले चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा नेपाली चियाको निर्यात बताए। उनले नेपाली चिया उद्यमीलाई चिनियाँ चिया व्यापारीसँग जोड्न सरकारले सहयोग गर्नुपर्ने बताए।
बोर्डका अनुसार नेपालमा करिब १७ हजार हेक्टरमा चियाखेती हुन्छ। वार्षिक २३ हजार ७ सय ४५ मेट्रिकटन चिया उत्पादन हुन्छ। चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन्। ६० हजारभन्दा बढी श्रमिकले चियाको बोटदेखि बजार पुर्याउँदासम्म काम गरिरहेका छन्।
इलामको साखेजुमा रहेका हिमालय सांग्रिला टी प्रोड्युर्सस प्रालिका प्रोडक्सन म्यानेजर दिनेश रसाइलीले यो अवार्डले चीनमा नेपाली चियाका प्रयोगकर्ता बढ्ने बताए। सो कारखानाले यसअघि पनि वार्षिक तीन हजार किलो गोल्ड टी चीन पठाउने गरेको उनले बताए। उनले भने ‘यो नेपालको चियाका लागि उत्कृष्ट अवसर हो, यसलाई उपयोग गर्न सरकारको सकारात्मक सहयोग आवश्यक छ।’
इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० सालमा इलाममा चिया रोपण गरेपछि नेपालमा चियाखेती सुरुवात भएको अभिलेख पाइन्छ। तत्कालीन राजा वीरेन्द्रले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरूलाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यावसायिक चिया खेतीको प्रवर्द्धन भएको पाइन्छ।
तत्पश्चात् विभिन्न निजी, सहकारी एवं सरकारी संघसंस्थाहरूको समन्वयात्मक प्रयासमा नेपाली चिया क्षेत्रले एक प्रकारको सन्तोषजनक अवस्था प्राप्त भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार आव २०७७/०७८ सालमा नेपालमा १६.९१७ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २३ हजार ७ सय ४५ मे.टन चिया उत्पादन गरिएको छ। आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको बोर्डले जनाएको छ। सो वर्ष ११ हजार १ सय २० मेट चिया निर्यात भएको भन्सार विभागको
तथ्यांकले देखाएको छ।
विश्वमा चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा नेपाली चियाको निर्यात प्रवर्द्धन गर्न बोर्डले विभिन्न माध्यममार्फत कूटनीतिक प्रयास थालिरहेको र चियाको निर्यात सहजताका लागि नेपाल र चीनबीच विभिन्न स्तरमा हुन सक्ने विविध सम्झौतासम्बन्धी प्रोटोकल नै तयार गरी कार्य अगाडि बढेको बोर्डले जनाएको छ।