पानी नपरेपछि सिद्धबाबालाई जलधारा
गोरखा : लामो समयदेखि खडेरी परेर खेतीबाली सुक्न थालेपछि यहाँका किसानहरूले पानी माग्दै सिद्धबाबा र जालपादेवीलाई जलधारा चढाएका छन्।
पालुङ्टार नगरपालिका-९ सिस्नेरी, फेदी, सेरा, भुसालगाउँ, डुम्रिगैरा, बोहोरीभञ्ज्याङ, मिरकोट, लगायतका टोलका किसानले सिद्धबाबालाई र रिपथोक, छापथोक, बोहोरिभञ्ज्याङ, हड्खलडाँडा, अम्बोटे टोलका किसानले जालपादेवीलाई जलधारा चढाएका हुन्।
मंगलबारको साइत पारेर दुवै मन्दिरमा होम, रुद्री गरी जलधारा गरिएको स्थानीय डम्बरबहादुर राना मगरले जानकारी दिए।
‘पुरेत लगाएर रुद्री, होम, पूजापाठ गरिन्छ। अनि बाजा गाजासहित जलधारा चढाइन्छ’, उनले भने, ‘देवतालाई जलधारा चढाएपछि गाउँलेहरू धुमधामले नाचगान र पानी छ्यापाछ्याप गरी रमाइलो गरिन्छ।’
स्वर्गका इन्द्रसँग पानी माग्ने संस्कृति सो गाउँको पुरानै रहेको अर्का स्थानीय होमराज सेढाईँले जानकारी दिए। ‘पानी परेको वर्ष गरिँदैन। पानी नपरेर लामो खडेरी परेको वर्ष जलधारा गर्ने चलन छ’, उनी भन्छन्, ‘जलधारा गरेपछि पानी पर्छ भन्ने परापूर्वकालदेखिको चलन हो। हेरौँ, यस वर्ष अब के हुन्छ।’
लामो खडेरीका कारण बारीमा रोपिएको मकै नउम्रिएको किसानहरूको गुनासो छ। कतै उम्रिएको मकै पनि खडेरीले सुकेको छ। खडेरीका कारण खोला सुकेपछि फाँटमा रोपिएको जुडीधानमा पनि सुख्खा लागेको किसानहरूको गुनासो छ।