महान् मिथिला

महान् मिथिला
फाइल तस्बिर।
सुन्नुहोस्

नेपालमा क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जानकी मन्दिरले मैथिली सभ्यता र संस्कृतिलाई विश्वमै चिनाउने काम गरेको छ।

‘जहाँ–जहाँ पैर परल रघुबरके, ओ अई पावन धाम मिथिलाके’ यसको नेपाली अर्थ हो, ‘जहाँ–जहाँ भगवान् श्रीरामको खुट्टा पर्‍यो, त्यो सबै मिथिलाको पावन धाम बन्यो।’ बृहत्तर मिथिलाको अवधारणा रामायणसँग जोडिएको छ। 

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम 

आफ्ना भाइहरूसँगै जनकपुर आइपुग्दा उनले जुन–जुन स्थान भएर यहाँ प्रवेश गरे ती सबै मिथिलाको धामहरू हुन् भन्ने जनविश्वास छ। यसै आस्था र विश्वासले गर्दा मिथिलामा १५ दिवसीय बृहत् मिथिला मध्यमा परिक्रमासमेत हुन्छ। नेपालमात्र नभई भारतको बिहार राज्यसँग जोडिएका थुप्रै क्षेत्रहरू पनि बृहत् मिथिलाअन्तर्गत नै पर्छन्। नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो यस परिक्रमाको पैदल यात्रामा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्छन्। पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःख कष्टको निवारण भई पाप नस्ट हुने जनविश्वास रहेको छ।  

बृहत्तर मिथिलालाई विस्तार गर्न सकियो भने यसले धार्मिक पर्यटनको सुनौलो बाटो खोल्न सक्ने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह बताउँछन्। ‘मिथिलामा पर्यटनको पर्याप्त सम्भावना छ। राम र सीताको विवाहसँग जोडिएका धार्मिक स्थलहरूलाई यदि एकै ठाउँमा जोडेर बृहत् पर्यटन क्षेत्रका रूपमा विकास गरियो भने यसले एकातर्फ देश विदेशका पर्यटकलाई आकर्षित गर्छ भने अर्कोतर्फ राष्ट्रिय समृद्धि र विकासमा पनि टेवा पुर्‍याउँछ। यसका लागि ठोस गुरुयोजनाको आवश्यकता रहेको छ।’

बृहत्तर मिथिलाको सबैभन्दा महत्वपूर्ण थलो हो जनकपुरको जानकी मन्दिर। जनकपुरको जानकी मन्दिर वर्तमान समयमा विश्व प्रख्यात छ। आदर्श जोडी राम र सीताको वैवाहिक थलो जनकपुरसँग जोडिएको आस्था र विश्वासकै कारण यस मन्दिरको प्रसिद्धि पनि निकै बढी छ। 

पछिल्लो समय नेपाल आउने पर्यटकहरूका लागि जनकपुर र जानकी मन्दिर घुम्नै पर्ने महत्वपूर्ण गणतव्य स्थल बन्दै गएको छ। जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलका रूपमा चिनिन्छ। मुगल शैलीमा बनाइएको ख्याति प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर यो मन्दिर निर्माण गराएकी थिइन्। त्यसैले यो मन्दिरलाई नौला पनि भनिन्छ। सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिरको निर्माण पूरा भएको थियो। यो मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर रहेको छ। जनकपुरधामको मध्यभागमा रहेको यो मन्दिर मानव वास्तुकलाको उत्कृष्ट नमुना हो। ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको मन्दिर परिसरमा ६० वटा कोठा छन्। प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो। यसबारे रामायण, वेद, पुराणलगायतका उपनिषद्हरूमा उल्लेख गरिएको छ। 

नेपालमा क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो मन्दिर रहेको जानकी मन्दिरले मैथिली सभ्यता र संस्कृतिलाई विश्वमै चिनाउने काम गरेको छ। यस मन्दिरभित्र स्थापित रामजानकीको प्रतिमा झन्डै सात सय वर्ष पुरानो भएको संस्कृतिविद्हरूको भनाइ छ। वि.सं. १४१७ मा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका महन्थ सुरकिशोरदास वैष्णवले यो रामजानकीको प्रतिमा फेला पारेको बताइन्छ। ‘सुरकिशोर दासजी घुम्दा–घुम्दै यस पावन भूमिमा आइपुगे। पहिला त यो सबै क्षेत्र जंगलहरू थियो। सन्त सुरकिशोरले सपनामा माता सीतालाई हेर्थे र उनले स्वप्नकै आधारमा एउटा सानो झोपडी बनाएर त्यहाँ सीतारामको प्रतिमा स्थापना गरि पूजापाठ गर्न थाले,’ जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव भन्छन्, ‘सो बेला सानो झुपडीनै माता सीताको मन्दिर थियो। 

सो मन्दिरमा गरेका भाकलहरू पूरा हुँदै गएपछि जनविश्वास बढ्न थाल्यो र मन्दिरको प्रचार–प्रसार पनि बढ्यो। पछि टिकमढकी महारानी वृषभानु कुँवरले पनि यस मन्दिरको महत्वबारे थाहा पाइन्। उनी निःसन्तान थिइन्। उनले भाकल गरिन् यदि मैले सन्तान पाए भने म यस स्थानमा भव्य मन्दिर निर्माण गराउने छु। साँचो मनले गरेको महारानीको भाकल पूरा भयो र उनी पुत्रवती भइन्। छोरा पाएको खुसीमा उनले ९ लाख खर्चेर जानकीजीको मन्दिर निर्माण गरिन्।’

१७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा जग्गा दान दिएको लिखत प्रमाण आजसम्म पनि सुरक्षित छ।

जनकपुरको आस्था, सान र वैभवका रूपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सकियो भने यसले नेपालकै समृद्धि र विकासमा ठूलो योगदान पुर्‍याउन सक्ने अभियानीहरू बताउँछन्। यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि हस्ताक्षर संकलन अभियानसहित विभिन्न दबावमूलक कार्यक्रमहरूसमेत सञ्चालन गरेको भोर नामक संस्थाका प्रमुख राजकुमार महतो मन्दिरलाई चौतर्फी आक्रमण र प्रभावहरूबाट बचाएर सरकारको तर्फबाट संरक्षण गर्नु अत्यन्त आवश्यक रहेको बताउँछ्न। 

‘जानकी मन्दिर एउटा जीउँदो सभ्यता हो। रामायणकालको संस्कृति, संस्कार र विरासतलाई जनकपुरवासीले यहीँ मन्दिरको माध्यमबाट जोगाएर राखेका छन्। रामनवमी, जानकी नवमी, विवाहपञ्चमी महोत्सवलगायत विभिन्न मेला र पर्वहरूमा लाखौंको संख्यामा श्रद्धालुहरू यस मन्दिरमा दर्शन गर्न आउँछन्। यस क्षेत्रको व्यापार, व्यवसाय सबै यसै मन्दिरको कारणले चलायमान छ। एक हिसाबले भन्ने हो भने जनकपुरको लाइफ लाइननै जानकी मन्दिर हो। 

तर, यति धेरै महत्व बोकेको यो मन्दिर भए पनि यसको संरक्षण र सम्बद्र्धनमा खासै ध्यान दिइएको छैन,’ युवा अभियानी सरोजकुमार मिश्र भन्छन्, ‘यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि जस्तो खालको पहल स्थानीय नगरपालिका र प्रदेश सरकारले गर्नु पथ्र्यो त्यस्तो केही हुन सकेको छैन। यसको सम्बद्र्धनका लागि बृहत् योजना र बलियो इक्छाशक्तिको आवश्यकता छ।’ 

जनकपुरमा जानकी मन्दिर मात्र नभई प्योगोडा शैलीमा बनेको राम मन्दिर पनि कलात्मक र निकै सुन्दर छ। यस मन्दिरभित्र रहेको पंचायन मूर्ति, लक्ष्मीनारायण, विष्णु दशावतारको मूर्ति, सातवटा घोडायुक्त रथमा विराजमान सूर्य भगवान र अन्य देवी देवताका मूर्तिहरूको संरक्षण र सम्बद्र्धन उचित रूपमा हुनु आवश्यक छ। 

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जनकपुर र यससँगै जोडिएको बृहत्तर मिथिलालाई प्रचार–प्रसार तथा उचित रुपमा व्यवस्थापन गर्न सकियो भने यो नेपालका लागि मात्र नभई विश्वकै हिन्दूहरूका लागि घुम्नै पर्ने महत्वपूर्ण थलो बन्ने प्रचुर सम्भावनाले युक्त रहेको छ। यस क्षेत्रको विकासप्रति खासै ध्यान नदिइएकै कारण सम्भावना भएर पनि यो क्षेत्र ओझेलमा पर्दै गएको हो। पछिल्लो समय मधेस प्रदेश सरकारले जानकी मन्दिरको सम्बद्र्धनका लागि केही कदम चाले पनि ति पर्याप्त होइनन्। यसको विकास र समृद्धिले देशकै विकासमा टेवा पुग्ने निश्चित छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.